कस्तो बन्यो गगन टिम ?
केशव सावद
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतसहित सभापतिमा निर्वाचित भएका छन् । सभापति पदको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए ।
सभापतिमा तीनजनाको उम्मेदवारी परेपनि अन्तिम समयमा थापाको आग्रहमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका थिए । १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो । थापाले खड्गीलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर, उनले लोकतान्त्रिक प्रक्रियाबाट आफूलाई अलग राखेनन् ।
थापाको विजयसँगै कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको बहसले नयाँ दिशा लिएको टिप्पणी हुन थालेको छ। नेतृत्वमा नयाँ अनुहार आएका छन्, पदाधिकारीमा समावेशी प्रतिनिधित्व विस्तार भएको छ र केन्द्रीय कार्यसमितिको आकार पनि बढाइएको छ ।
तर, नयाँ अनुहारको प्रवेशले मात्रै पार्टीको कार्यशैली बदलिन्छ भन्ने छैन । नेतृत्वले आन्तरिक शक्ति सन्तुलन मिलाउँदै सङ्गठनलाई प्रभावकारी बनाउने, नीतिगत स्पष्टता कायम गर्ने र जनताको विश्वास फर्काउने काम गर्नुपर्ने विश्लेषकहरू बताउँछन् ।
१५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित हुँदा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध चयन भएका छन्। पार्टीभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहसका बीच दुवै नेता शीर्ष पदमा पुग्नुलाई उनीहरूबीचको राजनीतिक सहकार्यको निरन्तरताका रूपमा हेरिएको छ ।
वरिष्ठ उपसभापति शर्मासँगै पुष्पा भुसाल उपसभापति (महिला)मा निर्विरोध चयन भएकी छन्। खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य उपसभापतिमा निर्वाचित भएका छन् । भण्डारीले ३ हजार ७३५ र आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन् ।
समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् । उनले १ हजार ७४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे ।
नयाँ नेतृत्वको संरचनामा अनुभव र नयाँ पुस्ताका नेताहरूलाई समेट्ने प्रयास देखिन्छ । तर, उनीहरूबीचको सहकार्य प्रभावकारी पार्टी सञ्चालनमा देखिन्छ कि पदाधिकारीको सूचीमा मात्र सीमित हुन्छ, त्यसले नेतृत्वको कार्यक्षमता निर्धारण गर्नेछ ।
कांग्रेसको सङ्गठन सञ्चालन, नीति कार्यान्वयन र नेतृत्वबीच समन्वयमा महामन्त्रीको भूमिका महत्त्वपूर्ण हुन्छ । सभापति थापाले प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौलालाई महामन्त्रीका रूपमा पाएका छन् ।
खुलातर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३१० मत प्राप्त गर्दै महामन्त्रीमा विजय हासिल गरेका छन् । महिलातर्फ डा. डिला सङ्ग्रौला पन्त ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन्। उनले निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डीना)लाई २५४ मतले पराजित गरिन् । उपाध्यायले २ हजार ८६४ मत प्राप्त गरेकी छन् ।
सङ्ग्रौला विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् भने नेतृ उपाध्याय १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । उनी २ असोजमा पूर्वसभापति शेरबहादुर देउवा समूह परित्याग गरेर मूलधारमा फर्किएकी थिइन् ।
योसँगै सङ्ग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला महामन्त्री बनेकी छन्। यसलाई पार्टीको नेतृत्व संरचनामा महिलाको प्रतिनिधित्वका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।
महामन्त्रीहरूका लागि अब चुनौती सभापतिसँग समन्वय गरेर पार्टीका निर्णय कार्यान्वयन गर्नु र सङ्गठनलाई सक्रिय बनाउनु हुनेछ । नयाँ नेतृत्वको प्रभावकारिता उनीहरूले सम्हाल्ने जिम्मेवारी र देखाउने कार्यसम्पादनबाट मापन हुनेछ ।
कांग्रेसमा सहमहामन्त्रीका विभिन्न पदमार्फत समुदाय र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ। पार्टी संरचनामा समावेशी सहभागिता सुनिश्चित गर्न र सम्बन्धित समुदायका मुद्दालाई सङ्गठन तथा नीतिमा समेट्न सहमहामन्त्रीको भूमिका महत्त्वपूर्ण मानिन्छ ।
१५औँ महाधिवेशनबाट खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । खतिवडाले २ हजार ९१० र शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरेका छन् ।
पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनले ३ हजार ९०६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाए ।
महिलातर्फ प्रतिमा गौतम ५ हजार ११६ मतसहित निर्वाचित भएकी छन्। आदिवासी जनजातितर्फ बहादुरसिंह लामा ३ हजार २४५ मतसहित विजयी भएका छन् ।
यस्तै दलिततर्फ प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । मुस्लिमतर्फ ३ हजार ३४७ मत प्राप्त गरेर डा. मोहम्मद फिरदोस आलम निर्वाचित भएका छन् ।
कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिको आकार १६४ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। प्रतिनिधित्व विस्तार गर्ने उद्देश्यले गरिएको यो परिवर्तनले पार्टीभित्र नयाँ बहस पनि जन्माएको छ।
१४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकार बढाउँदा प्रश्न गर्ने थापा स्वयंले आफ्नो नेतृत्वमा अझ जम्बो समिति बनाएको भन्दै आलोचना पनि भइरहेको छ ।
महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको आधारमा केन्द्रीय कार्यसमिति ठूलो बनाइएको तर्क गरिए पनि यति ठूलो संरचना आवश्यक थियो कि थिएन भन्ने प्रश्न पनि उठेको छ।
प्रतिनिधि बढेका आधारमै केन्द्रीय कार्यसमितिको आकार ठूलो बनाइएको विषयलाई लिएर महाधिवेशनस्थलमा प्रतिनिधिहरू पक्ष–विपक्षमा तर्क गरिरहेको सुनिन्थ्यो।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई सक्रिय राख्नु, निर्णय प्रक्रियालाई चुस्त बनाउनु र जिम्मेवारीको स्पष्ट बाँडफाँट गर्नु नयाँ नेतृत्वका लागि चुनौती हुनेछ। ठूलो संरचनाले पार्टीभित्र धेरैलाई समेट्न सक्छ, तर त्यसले निर्णय प्रक्रियालाई ढिलो बनाउने जोखिम पनि रहन्छ ।
