शिक्षासमाचारस्थानीय

भद्रपुर नगरपालिकाको पाँचवर्षीय शिक्षा योजना सार्बजनिक , गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

भद्रपुर । भद्रपुर नगरपालिकाले नगरको समग्र शैक्षिक विकासलाई योजनाबद्ध, गुणस्तरीय, समावेशी तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित पाँचवर्षीय आवधिक नगर शिक्षा योजना तयार गरी पारित गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ देखि २०८६/०८७ सम्म कार्यान्वयन हुने उक्त योजना तयार गरिएको हो ।

नगरपालिकाको शैक्षिक अवस्थाको विश्लेषण, उपलब्ध स्रोतसाधन, विद्यमान समस्या, चुनौती तथा सम्भावनाको अध्ययन र सरोकारवालासँगको छलफलका आधारमा योजना तयार गरिएको हो। योजनाले आगामी पाँच वर्षका लागि नगरको शिक्षा क्षेत्रको लक्ष्य, उद्देश्य, रणनीति, कार्यक्रम तथा अपेक्षित उपलब्धि निर्धारण गरेको छ। शिक्षा क्षेत्रको सुधारलाई दीर्घकालीन सोच र योजनाबद्ध कार्यान्वयनसँग जोड्दै नगरको समग्र विकासमा शिक्षाको भूमिकालाई महत्त्व दिएको छ।

योजनामा प्रारम्भिक बालविकास तथा शिक्षा, आधारभूत र माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, अनौपचारिक तथा जीवनपर्यन्त सिकाइ र संस्थागत विद्यालयको शैक्षिक विकासलाई प्राथमिकतामा राखिएको छ। त्यसैगरी समावेशी शिक्षा, विद्यालय सुरक्षा, भौतिक पूर्वाधार विकास तथा सूचना र सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई समेत योजनामा समेटिएको छ।

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकको पेसागत क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार, लैङ्गिक समानता, बालमैत्री शैक्षिक वातावरण र शैक्षिक सेवामा समान पहुँच सुनिश्चित गर्ने विषयलाई महत्त्वपूर्ण रूपमा अघि सारिएको छ। सबै बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु तथा शिक्षण–सिकाइ प्रक्रियालाई समयानुकूल र प्रभावकारी बनाउनु योजनाका प्रमुख प्राथमिकतामध्ये रहेका छन्।

शिक्षा क्षेत्रमा उपलब्ध सीमित स्रोतसाधनको प्रभावकारी परिचालन, आवश्यक बजेटको प्रक्षेपण, प्राथमिकताका आधारमा लगानी, वित्तीय अनुशासन, पारदर्शिता तथा नतिजामा आधारित स्रोत व्यवस्थापनलाई पनि योजनाले जोड दिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, नगरपालिकाको आन्तरिक स्रोत र अन्य साझेदारीबाट उपलब्ध स्रोतलाई शैक्षिक विकासमा उपयोग गर्ने लक्ष्य राखिएको छ।

योजनाको सफल कार्यान्वयनका लागि नियमित अनुगमन, मूल्याङ्कन तथा उपलब्धिको समीक्षा आवश्यक हुने विषयसमेत समेटिएको छ। विद्यालय, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, समुदाय तथा विकास साझेदारबीचको सहकार्यले शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पाँचवर्षीय आवधिक नगर शिक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट भद्रपुरको शिक्षा क्षेत्रलाई थप गुणस्तरीय, समतामूलक, समावेशी, प्रविधिमैत्री तथा परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। योजनाले नगरको शैक्षिक विकासका लागि प्राथमिकता निर्धारण गर्नुका साथै उपलब्ध स्रोतसाधनलाई व्यवस्थित रूपमा परिचालन गर्दै निर्धारित लक्ष्य हासिल गर्ने आधार तयार गरेको छ।

यस योजनाको उपलब्धि प्रभावकारी कार्यान्वयन, सरोकारवालाको सक्रिय सहभागिता, पर्याप्त स्रोत व्यवस्थापन तथा नियमित अनुगमनमा निर्भर रहनेछ। नगरपालिकाको शिक्षा क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउने यस पहलले आगामी पाँच वर्षमा शैक्षिक सुधारका कार्यक्रमलाई व्यवस्थित दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।