नेपालमा हरेक वर्ष २० हजार व्यक्तिलाई सर्पको डसाई
भद्रपुर । नेपालमा वार्षिक २० हजार व्यक्तिलाई सर्पले डस्ने गरेको छ भने एक हजार व्यक्ति समयमै उपचार गर्न नपुगेकै कारण ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ ।
फेयरमेड फाउण्डेशन नेपाल र सहारा नेपालको साझोदारीमा सञ्चालित संकल्प परियोजना अन्तरगत झापाको विर्तामोडमा सर्पदंशको बिषयमा छलफल तथा अभिमूखिकरण कार्यक्रममा सार्वजनिक गरिएको विवरणले सो तथ्य देखाएको हो ।
नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा पत्रकारहरुसँग सर्पंदंंश तथा उपेक्षित उष्ण प्रदेशीय रोगका बिषयमा अभिमूखिकरण गर्ने क्रममा सहजकर्ता कैलाश खाकी श्रेष्ठले दिएको जानकारी अनुसार नेपालमा ८९ प्रकारका सर्पहरू पाइने भए पनि १७ प्रकारका सर्पचाहिँ विषालु रहेको जानकारी दिए । उनका अनुसार सरकारी संयन्त्रले सर्पदंश उपचारमा उच्च प्राथमिकता नदिएकै कारण उपचारकेन्द्र अभावमा सर्पले डसेका कतिपय विरामीको ज्यान जाने अवस्था रहीरहेको छ ।

विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार सन् २०३० सम्ममा सपंदंशाका कारण हुने मृत्यु र अपाङ्गतालाई ५० प्रतिशतले कम गराउने उदेश्यले संकल्प परियोजनाले कार्य गरिरहेको बताइएको छ । कार्यक्रममा सर्पदंशापछि गर्ने कारण र गर्न नहुने कुराहरु, सर्पदंशाका लक्षण तथा चिन्हहरु, बच्ने उपायहरुका बिषयमा श्रेष्ठ र उपेक्षित उष्ण प्रदेशीय रोगका बिषयमा विज्ञ रूशा उपाध्ययले सहजीकरण गरेकी थिइन् ।
सहजकर्ता उपाध्यायका अनुसार नेपालमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, टेनियासिस र सिस्टोसोमिया, लुतो जस्ता उपेक्षित उष्ण प्रदेशीय रोगलाई सन् २०३० सम्ममा शुन्यमा लाने लक्ष्यले परियोजनाले काम गर्दै आएको छ ।
सहारा नेपालका कोषाध्यक्ष श्याम प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थयो भने कार्यक्रमको औतिथ्यमाथि प्रकाश परियोजनाका फोकल पर्सन पवनकुमार राईले पारेको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक प्रशन्न कार्कीले गरेका थिए ।
