यस्तै झ्याउ कुरा सुदासुन्दै पाँडे जिउँदै बूढाे हुने भाे अरे !
[ माैसमी हास्य-व्यंग्य ]
व्यंग्यनारान पाँडे
” मलाई त पारि बेहारकाे गलगले बजार, पिढ्भ्लु बजार, अदिकारी बजारतिर धाउँदै मगज-सजगकाे ब्रेन-स्रेन टाेट्टलै डेमेज भइसकाे हओ पाँडेजी ! नून परेकाे आलु कुइए जैसै जम्मा-टाेट्टलै कुइयाे क्यार हओ पढ्के गिदी पनि !”- भन्दै र हाँस्तै बार्दलीमा उक्लियाे गाैंथलीकाे बाऊ । र, अलि पर रहेकाे काठकाे कुर्सी भूइँ थर्काएर गटटटट तान्याे अनि पाँडेकाे नजिकै बस्तै मुखबाट लामाे सास उँभाे तानेर नाक बजाउँदै फ्याँक्याे ।
पाँडेले पनि इत्रेकाे भावमा भन्याे -“किन चाहिएकाे छ र तिमेरलाई बुद्धि र गिदी जस्ता हाबीजाबी ? तिमेरू त सप्तरीकाे गजेन्द्रनारान अस्पताल जस्तै ल्याङफ्याङ अथवा भद्रपुरमा इण्डियनले बनाइदिएकाे शीत भण्डार जस्तै खण्डहर भइसकेका न छाै ! तिमेर जस्ता मान्छेकाे स्वरूपका जन्तुहरूकाे शरीरलाई गिदी किन चाहिन्छ र ? जिब्राे र भुँडी ठिकठाक भए पुगिहाल्दाे हाे नि, हाेइन र ? कि कसाे ?”
ऊ एकछिन् अल्मलिए जस्ताे र भयाे आफ्नै कुरा अघि सार्दै भन्याे -“हाेइन, म त सिरेेसली खालकाे कुराे पाे भन्दैथें, तपइँ त कैलु बेहारीकाे लुकुवा दारू रेसुरेनकाे छाप्राेमा बस्ता जैसाे ठट्टा पाे …! ….खएर छाेडम् याे टपिक ।….म के भन्दैथें भने – म अस्ति कैले तपइँकाँ आइरथें र पत्रकार गर्ने पेसाेमा लाग्ने इस्टम्याट सुना’काे थें भन्ने नै बिस्रेछु र साेद्न लाग्दैथें, तपइँले सेटाएरिङ मारिहाल्याै ! ताे सेटाएरिङकाे माने र मिनिङ पनि जेसुकै भओस्-भओस् ! तेल्लाई मैले क्यारलेसै गरिन आजकाे एस भेटाघाटाकाे समया र ट्यामभरिलाई । र, मैले माेस्ट इन्पाेरट्यानमा पर्ने गुज्जे कुराे के भन्न आँट्तैथें भन्लाऊ भने -मलाई पत्रकार गर्ने बिज्नेस त झ्याउ लागाे, बुद्नु भाे त ? अैले पत्रकार गर्ने बिज्नेस गर्न सिन्निकेट नबनाई नहुने अबस्ता र’छ । अनित्याँड, आफूले बनाकाे सिन्निकेटमा आफ्ना भाट ककल्लाई बनाउने र ककल्लाई भारदार-नेगियारे ताेक्ने भन्ने सब्जेटमा मिटिन गर्दा बित्थामा झन्नै तीन सहे रुप्पे मात्तैमा चुना लागाे । काेइ पनि काेइभन्दा जुन्यार हुँ भन्दैइन् यार ! सप्पै सिन्यारै सिन्यार हुँ भन्दै मैमाथि जाइलाग्न पाे खाेजे यार ! झन्नै कुटाइ-धुलाइ खाइएन, तेस्सिमाटाेक्ने !….र, अनिखेर, मेराे पालाे मेराे पत्रकार गर्ने पलान-इस्टम्याट क्याङसिल गर्ने डिस्सेसन पाे गरें , लु जा त !”
पाँडेले, उसले शुरुमा नाम लिएका इण्ड्यान बिहारी-बंगाली बजारहरू धाउने व्यस्तताले उसकाे गिदीकाे बुद्धि कुहियाे भनेकाे प्रसंगतिर कुराे माेडेर साेध्याे -“अनि छिमेकका बिहारी-बंगाली बजारहरू गलगलिया, पीडब्लु र अधिकारी धाउनाले दिमाग सडिसक्याे चाहिँ के भनेकाे नि ? त्याे चाहिँ पहिला प्रस्ट भन न अनि थप कुरा गर्नु ।”
ऊ एकछिन् अकमक्क भयाे र ख्वाक्क खाेकेपछि भन्याे -“आआआ के ढाँट्नु तपइँलाई ! अनि मलाई पनि तेता धाउँदा-धाउँदा डग्सकाे दुर्भ्यासन्नीलाई लाग्ने बिस्रिने र झ्वाँकिने राेग सङकर्मन भा’छैन त अनि ? बास्, याे टपिक पनि एतिमै डरप गराैं । अन्नेथा एस छेत्रकाे एरिआमा रएकाे मेराे हाई पाेरफाएलकाे पेस्टिच ख्वात्तै फिनिस्टिन पनि सक्छ ।”….
पाँडेले अघिदेखि पेटैमा थामिराखेकाे हाँसाेकाे सुनामी ह्वात्तै छाेड्याे अनि टाेलभरि नै सुनिने बाैलाहा हाँसाे हाँसेर धित मरेपछि भन्याे- “लु भैगाे । अनि, सेण्डिकेट नबनाई पत्रकारिता व्यवसाय चलाउन सकिँदैन भन्ने के आधारमा साेचेका नि तिम्ले हँ ? त्याे चाहिँ कैरन लाऊ न त ।”
उसले तुरुन्तै भन्याे -“अैले पत्रकार गर्नेहरूमद्दे पत्रकारी जानेका, सिदान्त पढेका, समाज सुदारकाे भाओना राख्नेहरू कतिपए मात्तै छन् । धेरैपए केइ नजान्ने पत्रकारी गर्नेमा रिकुटे हुन चाँनेकाे बगाल-बगालै छ, खपिसक्नै छैन । ती पत्रकारी जान्नेहर्लाई सिन्निकेटमा राख्न उति मिल्दैन पनि, आफैमाथि खन्नेलान् भन्ने खतडा कल्ले माेल्छ ? पर्थम त ती कलमकाे हलाे जाेत्ने कामबड फिरी नै हुँदैनन् । फेरि मैले थापित गर्न खाेजेकाे पत्रकारी गर्ने ट्याउटिस बेल्गै थ्याे क्या । र, च्या-नस्ता खिलाउने गरी बाेलाएँ नि मिटिन त । तर, ओफ !… लु नकुरा गरम् !…. मलाई चाइयाथ्याे – बिचउल्या गर्न सिपाला उरन्ठ्याैला अल्लारेहेरू, सेठ-साउहेरूका दलान र सर्खारी मान्छेका क्वाट्टरका बीचमा ओरदाेर गर्दा नथाक्ने गुँइँठेहेरू, कालाधन्धे-ब्लेक्याहेरूका खाेयाबिर्के माओलमा कुमजाेडा यार-दाेसहेरू, भस्टचारी गर्ने र कमिसिन डकार्ने फाे’रीहेरूका वरिपरि गुहे झिँगा झैं भन्किन अप्ठ्याराे नमान्ने लम्फे-ताेरीलाउरे इत्तेदि रङ-रङका गाढे-च्यानेहेरू । मेराे मिटिनमा तेस्तै तेस्ता पगितै आए नि आउन त ।…. अब बेहार-बङगालतिराड डग्स र ताे ‘बाउन सुग्गर’ एता भित्र्याउने बिलेक्या समाल्ने डिपाटमा सप्पैकाे इन्टेस बाझेर स्यानाे गल्बदी भएन ओहाे ! साँच्चाे र सत्ते कुराे के भनिकिन भनाैला भने – डग्स र ‘बाउन् सुग्गर’-का कार्बारीकाे डिपाट मैले नपाउने भएसि र मैले साे-उक्त सिन्निकेटकाे हेटसर हुन नपाउने कुराेमै मैले मिटिनमा आमर्त्रन गरेका सप्पै ल्याङठा एकजइन् भ-र कचेडा गरेसि म हारें ! तिनलाई युज गरेर ठूलाे भाग आफूले गमर्काउन नपाउने बुझेसि मैले ताे पत्रकार गर्ने बिज्नेस नगर्ने निर्लय गरेकाे हुँ ! फेरि याे कुराे के भनेकाे भनेर भनाैला भने -एसबेला गाँजा-उँजा, भाङ-उङ, चरेस-उरेस, हिराेनी-सिराेनी, बाउन सुग्गर-उगर इत्तेदि ओसार-पसारमा नै दइनिककाे डेल्ली कमाईकाे हन्डेड-फायब्टीदेखुन् हन्डेड सिक्टी परसेन फैदा छ । मैले भने जैसाे सिन्निकेट बनाउन सक्या थें र पत्रकार गर्ने कार्बार परारम्भ गरेकाे थें भने म तपइँकामा धाएर आइरने स्टाण्डरमै हुन्थें हाेला त कमिसिनका काँचा रुप्पेले ? एसबेला म कुन नेताकाँ टिक्डाे र गुल्याे च्या कि आँपकाे सर्बत खाँदै हुन्थें कि चन्द्रडीकाे आएरपाेट हुटेलमा हुस्की-बेयारकाे चुस्की लाउँदे कुख्राका साँप्रा चिथाेर्दै-दार्दै हुन्थें हुँला ।”….
यति बखानेपछि उसले भित्ताकाे घडीतिर आँखा लायाे र जिब्राे काड्दै भन्याे-“ओहाे, कुरैकुरामा साढे नउ बजेर झन्नै आदा घन्टै पाे गइसकेछ ! लु मलाई ए’ठाम इन्भाएटकाे निम्ताे थ्याे, देरी भइग’छ नि ! लु म अब चाेइटिएँ हए तपइँबड ।”…..
गाैथलीकाे बाऊ हतार-हतार गइरहेतिर हेर्दै अनि पाँडेले आफैलाई भन्याे -“लु यस्तै रमितामा हेर्दाहेर्दै जिउँदै बूढाे हुने भइस् पाँडे ! जिउँदै बूढाे हुने भइस् !!”…..
