कांग्रेस महाधिवेशनको इतिहास हेर्दा
ऐतिहासिक दस्तावेज केलाउँदा
नेपाली कांग्रेसको इतिहासमा अहिलेसम्म १४ वटा नियमित र दुईवटा विशेष महाधिवेशन सम्पन्न भएका छन् । यी महाधिवेशनले पार्टीको नेतृत्वमा विभिन्न चरणमा टङ्कप्रसाद आचार्यदेखि बीपी कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मका नेताहरूलाई पुर्याएका छन् ।
पहिलो महाधिवेशन : २००३ माघ १२-१३
भारतको कलकत्तास्थित भवानीपुरमा नेपाल राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशन भएको थियो। महाधिवेशनबाट जेलमा रहेका टङ्कप्रसाद आचार्य सभापति तथा विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापति चयन भएका थिए ।
दोस्रो महाधिवेशन : २००४ माघ २०-२२
भारतको बनारसमा सम्पन्न दोस्रो महाधिवेशनबाट बीपी कोइराला सभापति निर्वाचित भए। उनी हिरासतमा रहेकाले रिहाइ नभएसम्म डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।
तेस्रो महाधिवेशन : २००५ फागुन १८
भारतको बिहारस्थित दरभङ्गामा भएको तेस्रो महाधिवेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने। त्यसबेला पनि बीपी कोइराला हिरासतमा थिए ।
चौथो महाधिवेशन : २००६ चैत
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भएपछि नेपाली कांग्रेसको औपचारिक संरचना बनेको थियो। कलकत्ताको टाइगर हलमा सम्पन्न चौथो महाधिवेशनबाट मातृकाप्रसाद कोइराला सभापति चयन भए ।
पाँचौँ महाधिवेशन : २००९ जेठ १०–१३
जनकपुरमा सम्पन्न पाँचौँ महाधिवेशनबाट बीपी कोइराला पुनः सभापति चयन भए। त्यसपछि पार्टीभित्रको आन्तरिक विवाद र सरकार सञ्चालनसम्बन्धी मतभेदले कांग्रेसमा विभाजनको अवस्था सिर्जना भयो ।
छैटौँ महाधिवेशन : २०१२ माघ
वीरगन्जमा सम्पन्न छैटौँ महाधिवेशनबाट सुवर्णशमशेर राणा पार्टी सभापति निर्वाचित भए ।
पहिलो विशेष महाधिवेशन : २०१४
विराटनगरमा भएको कांग्रेसको पहिलो विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापति चयन गर्यो ।
सातौँ महाधिवेशन : २०१६ वैशाख २५-३१
काठमाडौंमा सम्पन्न सातौँ महाधिवेशनबाट बीपी कोइराला पुनः सभापति बने। पञ्चायती व्यवस्थामा दलमाथि प्रतिबन्ध लागेपछि लामो समयसम्म कांग्रेसको नियमित महाधिवेशन हुन सकेन ।
आठौँ महाधिवेशन : २०४४ माघ ३
झापाको कलवलगुडीमा सम्पन्न आठौँ महाधिवेशनबाट कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापति निर्वाचित भए ।
नवौँ महाधिवेशन : २०५३ वैशाख २६-२८
काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए। उनले चिरञ्जीवी वाग्लेलाई पराजित गरेका थिए ।
१०औँ महाधिवेशन : २०५७ माघ ९
पोखरामा सम्पन्न १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए। सभापतिका प्रतिस्पर्धी शेरबहादुर देउवा पराजित भएका थिए ।
११औँ महाधिवेशन : २०६२ भदौ १४-१७
ललितपुरमा सम्पन्न ११औँ महाधिवेशन कांग्रेस विभाजित अवस्थामै भएको थियो। गिरिजाप्रसाद कोइराला सभापति निर्वाचित भए। देउवा भने त्यसबेला अलग पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को नेतृत्वमा रहेकाले मूल कांग्रेसको महाधिवेशनमा सहभागी थिएनन् ।
१२औँ महाधिवेशन : २०६७ असोज १-५
कांग्रेस एकीकरणपछि काठमाडौंको भृकुटीमण्डपमा १२औँ महाधिवेशन सम्पन्न भयो। सभापतिका लागि भएको प्रतिस्पर्धामा शेरबहादुर देउवालाई पराजित गर्दै सुशील कोइराला सभापति निर्वाचित भए ।
१३औँ महाधिवेशन : २०७२ फागुन २०-२३
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भए। उनले रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।
१४औँ महाधिवेशन : २०७८ मंसिर २४-२७
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न १४औँ महाधिवेशनमा देउवा पुनः सभापति निर्वाचित भए। उनले शेखर कोइरालालाई पराजित गरेका थिए ।
दोस्रो विशेष महाधिवेशन : २०८२ पुस
२०८२ पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आए। त्यसपछि कांग्रेसको आधिकारिकता, नेतृत्व र १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर पार्टीभित्र दुई धार देखिएका छन्। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको छ ।
अब कांग्रेसको अगाडिको बाटो
यसपटक कांग्रेसको १५औँ महाधिवेशन केवल नयाँ नेतृत्व चयनको नियमित प्रक्रिया मात्र रहेन; पार्टीको वैधानिकता, नेतृत्व हस्तान्तरण र संगठनात्मक संरचनालाई लिएर बनेको विवाद पनि यसको प्रमुख पृष्ठभूमि बनेको छ ।
एकातिर गगन थापा नेतृत्वको कांग्रेसले असोज १८ देखि २२ गतेसम्म महाधिवेशन गर्दैछ भने अर्कोतिर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यसरी एउटै पार्टीको नाम र इतिहास बोकेर दुई अलग महाधिवेशन प्रक्रियाहरू अघि बढ्नु कांग्रेसको आठ दशक लामो इतिहासमा अर्को असाधारण अध्याय बनेको छ ।
देउवाका लागि भने यो अवस्था विशेष अर्थ राख्ने देखिन्छ २०५९ सालमा पार्टी विभाजनपछि २०६२ को ११औँ महाधिवेशनमा बाहिरिएका उनी करिब दुई दशकपछि फेरि कांग्रेसको महाधिवेशन प्रक्रियाबाट बाहिर छन् ।
