काँग्रेस झापाको वडा र पालिका अधिवेशन सम्पन्न
भद्रपुर । नेपाली कांग्रेसको १५ औं अधिवेशनले झापाका सवै वडा तथा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । १५ वटा पालिका रहेको झापामा अधिकाम्स पालिकाको नेतृत्व निर्वाचनबाट छनौट भएको थियो भने सवै पालिकाका वडामा निर्विरोध नेतृत्व छनौट भएका थिए ।
१५औं महाधिवेशन अन्तरगत असोज ८ गते विभिन्न गाउँ तथा नगरमा नेतृत्व चयन सम्पन्न भएका छन् । कतिपय पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन भयो भने कतिपयमा मतदान गरी नेतृत्व चयन भएका छन् ।
यसै सन्दर्भमा भद्रपुर नगर समितिको सभापतिमा बन्धु कार्की विजयी भएका छन् । कार्कीले आफ्ना प्रतिष्पर्धी मदन बस्नेतलाई पराजित गर्दै सभापति पदमा जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार जम्मा २३२ मत खसेकोमा कार्कीले १२१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी बस्नेतले १०७ मत ल्याएका थिए । त्यस्तै, नगर सचिव पदमा राजु गिरी विजयी भएका छन् । सचिव पदमा विजयी गिरीले ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी टेकबहादुर पाण्डेले १०७ मत पाए ।
यता बिर्तामोडको नगर सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन् । प्रतिष्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतको अन्तरले पराजित गरी उनी नगर सभापति बनेका हुन् । संग्रौलाले १८४ मत ल्याउँदा कन्दङवाले १५५ मत पाए ।
नगर सभापतिसहित एउटा पदबाहेक कुलप्रसादको सिंगो प्यानलले नै जित हासिल गरेको छ । महिला उपसभापतिमा सितादेवी चुडाल (१८५), खुल्ला उपसभापतिमा रमेश चौधरी (२२२), र सचिवमा आशिष वन (२१५) मतसहित निर्वाचित भए ।
सहसचिवमा भने दुवैजना उम्मेदवारको बराबरी मत आएको छ । प्रेमप्रसाद घिमिरे र राजेशबहादुर धिमाल (राजीव)ले १६१–१६१ मत ल्याएका हुन् ।
बिर्तामोड नगर अधिवेशनमा बिर्तामोड ६ का वडाध्यक्ष कन्दङवा र बिर्तामोड ४ का निवर्तमान वडाध्यक्ष संग्रौलाले सभापतिमा प्रतिष्पर्धा गरेका हुन् ।
यसैगरी, नेपाली कांग्रेसको कनकाई नगर सभापतिमा दुर्गाप्रसाद प्रसाई निर्वाचित भएका छन् । निर्वाचनमा १२६ मत ल्याई प्रसाई निर्वाचित हुँदा अर्का प्रत्यासी सन्तोषकुमार रायमाझीले १०१ मत ल्याए ।
उपसभापतिमा केशवप्रसाद शर्मा (११६), महिला उपसभापतिमा रेनुका उप्रेती (१२३), सचिवमा दिपक खतिवडा (१२०) र सहसचिवमा भुवन खतिवडा (१२५) मतसहित निर्वाचित भएका छन् ।
यस्तै, झापा गाउँपालिकाको सभापतिमा पुनः सागीरथप्रसाद गणेश निर्वाचित भएका छन्। सभापतिमा गणेश दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
बिहीबार सम्पन्न निर्वाचनमा गणेशले १३१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी सखिचन्द्र ठाकुरले ५० मत प्राप्त गरे। निर्वाचनमा जम्मा १८२ मत खसेकोमा १ मत बदर भएको जनाइएको छ ।
यसैगरी उपसभापतिमा तेजप्रसाद श्रेष्ठ र मनिका खातुन, सचिवमा प्रज्वल रोशन शिवाकोटी तथा सहसचिवमा राजकुमार कोच चयन भएका छन् ।
सदस्यतर्फ महिला कोटाबाट सीतादेवी खड्का, कमला कार्की र लिलाकुमारी काहार चयन भएका छन्। खुला सदस्यतर्फ कल्ठु गणेश, यासिन आलम, कृष्णप्रसाद राजवंशी, चन्द्रदेव यादव, जीतबहादुर खड्का र ज्ञानेन्द्रप्रसाद पाठक चयन भएका छन् ।
त्यसैगरी ३५ वर्षमुनिको युवा कोटाबाट अनवर आलम र दलित कोटाबाट सरिता कामी सदस्यमा चयन भएका छन् ।
यस्तै, कचनकवलको गाउँ सभापतिमा तुलाराम अधिकारी दोहोरिएका छन् । गाउँ अधिवेशनले उनलाई दोस्रो कार्यकालका लागि गाउँ सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी १४ औ महाधिवेशनमा पनि सर्वसम्मत सभापति चयन भएका थिए ।
गाउँ समितिको उपसभापतिमा विष्णु घिमिरे, सचिव गेलाल मियाँ र सहसचिवमा सूर्यप्रसाद राजवंशी चयन भए ।
नेपाली कांग्रेस मेचीनगरको सभापतिमा योगेन थापा मगर निर्वाचित भएका छन् । १५ औ महाधिवेशनअन्तर्गत बुधबार भएको नगर अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा उनी ३७८ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि मेचीनगर कांग्रेसको उपसभापति थिए । उनका प्रतिष्पर्धी भक्तबहादुर तामाङले १६४ मत ल्याएका छन् ।
निर्वाचनको मत परिणाम अनुसार उपसभापतिमा कञ्चन बराल २७३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी मुकेश लिम्बूले २६५ मत ल्याए । नगर नेतृत्वका लागि ५७३ जनाले मतदान गरेका थिए ।
यसैगरी, बाह्रदशी गाउँ समितिको सभापतिमा इन्द्र बस्नेत दोहोरिएका छन् । गाउँ अधिवेशनको अघिल्लो दिन नै उनलाई दोस्रो कार्यकालका लागि गाउँ सभापति बनाउने सर्वसम्मत निर्णय भएको हो । बाह्रदशी गाउँ सभापतिका लागि ६ जना आकांक्षी थिए । तर, बस्नेतलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रोजिएका हो ।
गाउँ कार्यसमितिको उपसभापतिमा पञ्चानन राजवंशी र चम्पादेवी तिवारी चयन भएका छन्। सचिवमा लक्ष्मीप्रसाद उप्रेती तथा सहसचिवमा नारायण गोस्वामी निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा रजत मन राजवंशी, हर्क कार्की, रञ्जना बास्कोटा , धर्मराज थापा, पिङ्की साह, सदिक्षा खड्का, तीर्थ काफ्ले, लीलाप्रसाद चापागाईं र साबित्रा विक निर्वाचित भएका छन् ।
यसैगरी, बुद्धशान्ति गाउँसमितिको सभापतिमा मदनकुमार प्रसाई निर्वाचित भएका छन् । उनले ८८ मत ल्याउँदै सभापतिमा बाजी मारेका हुन् । उनका प्रतिष्पर्धीहरु कृष्ण खतिवडाले ६३ र मोहन मावोले २५ मत ल्याए ।
त्यस्तै उपसभापतिमा डम्बर लावतीलाई हराउँदै मदन मगर निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत शिवसताक्षी नगर अधिवेशनबाट अशोक बस्नेत पुनः सभापतिमा निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा बस्नेतले २५५ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि नगर सभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।
उनका प्रतिद्वन्द्वी विनोद खरेलले १४३ मत प्राप्त गरे। नगर सभापति पदका लागि भएको निर्वाचनमा कुल ४१० मतदाता संख्या रहेकोमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ। खसेको मतमध्ये बस्नेतले खरेललाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित नगर सभापति बस्नेतले पार्टीलाई थप एकताबद्ध बनाउँदै संगठन सुदृढीकरणमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बस्नेतले पार्टीका अग्रज तथा विभिन्न समयमा पार्टी निर्माण र संगठन विस्तारमा योगदान पु¥याएका व्यक्तिहरूबाट आशीर्वाद र मार्गदर्शन लिँदै नयाँ पुस्तालाई समेत पार्टी निर्माणमा सक्रिय बनाउने बताएका छन् ।
युवाहरूलाई राजनीतिक गतिविधिमा जोड्दै उनीहरूलाई आवश्यक राजनीतिक दिशा र जिम्मेवारी प्रदान गरेर पार्टी संगठनलाई थप गतिशील बनाउने उनको भनाइ छ ।
यसैगरी, नगर अधिवेशनबाट महिला उपसभापतिमा कुमारी योङ्गहाङ, उपसभापतिमा सूर्यप्रकाश योङ्या, सहसचिवमा सुकदेव राजवंशी निर्वाचित भएका छन् ।
सचिव पदमा सचिवमा नवीन तिम्सिना यस अघि नै सर्वसम्मत चयन भएका थिए । त्यस्तै खुला सदस्यमा बद्रीप्रसाद अधिकारी र खुला महिला सदस्यमा सुजता दाहाल विजयी भएका छन् ।
