भद्रपुरमा एसईई उत्कृष्ट विद्यार्थी सम्मानमा विभेद भएको भन्दै उठाइयो प्रश्न, “उपलब्धिका आधारमा सम्मान हुनुपर्ने एक अभिभावकको धारणा”
एमरेल्ड एकेडेमीबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका परीक्षार्थी भद्रपुरका आदित्य खरेलले परीक्षाफलमा ४.० जिपिए हासिल गरी भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याए पनि नगरपालिकाको उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा उनलाई समावेश नगरिएको भन्दै उनका अभिभावक चैतन्य खरेलले असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राख्दै उनले एसईई एउटै राष्ट्रिय परीक्षा भएकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आफ्नो मेहनत र क्षमताका आधारमा सम्मान र प्रोत्साहन पाउनुपर्ने धारणा राखेका छन्। उनले भनेका छन्, “पालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र पुरस्कार दिने नीति बनाएको भए त्यो स्थानीय तहको कार्यक्रम, बजेट तथा कार्यविधिमा आधारित हुन सक्छ। तर सम्मान र हौसला केवल आर्थिक पुरस्कारसँग मात्र जोडिएको विषय होइन,समान उपलब्धि हासिल गरेका विद्यार्थीलाई समान रूपमा सम्झनु र प्रोत्साहित गर्नु पनि महत्वपूर्ण हुन्छ।”
उनले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पनि सोही पालिकाका स्थानीय नागरिक तथा करदाता परिवारका सदस्य भएको उल्लेख गर्दै उनीहरूको शैक्षिक उपलब्धिलाई पूर्ण रूपमा बेवास्ता गर्नु उचित नहुने बताएका छन् । खरेलले आफ्नो छोराले नगरको साक्षरता दिवससम्बन्धी कार्यक्रम हेरेपछि यस विषयमा जिज्ञासा राखेको र आफू अनुत्तरित भएको प्रसंगसमेत उल्लेख गरेका छन्। उनका अनुसार छोराले यसअघि नगरस्तरीय कक्षा ८ को परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेका थिए ।
हिजो झापा शिक्षा विकास तथा समन्वय इकाईबाट एमरेल्ड एकेडेमीलाई सम्मान गरेको र केही समयअघि भद्रपुर शिक्षा शाखाले सामुदायिक विद्यालयतर्फका उत्कृष्ट विद्यार्थीहरूलाई ल्यापटप प्रदान गरेको थियो । उनले फेसबुकमा लामो स्टाटस राख्दै उनले सामुदायिक विद्यालयको शैक्षिक सुधार र प्रोत्साहन आवश्यक रहेको स्वीकार गर्दै त्यसका लागि संस्थागत विद्यालयका विद्यार्थीलाई पूर्ण रूपमा बाहिर राख्नुको सट्टा छुट्टै प्रोत्साहनको व्यवस्था गर्न सकिने बुँदागत सुझाव समेत दिएका छन् ।
