नकुल काजी
अहिले सिङ्गै देश भाेटेकाेशीर त्रिसुलीमा भएकाे जलप्रलयले बिदीर्ण र अभिभूत स्थितिमा भएकाले त्यसलाई राज्यले र देशका जिम्मेवार दलहरूल पहिलाे प्राथमिकता दिनु कर्त्तव्यकाे सन्दर्भमा अपरिहार्य हुन्छ । याे ‘मानवीय’ सम्वेदना र ‘राष्ट्रियता’-काे रटान मात्रमा सीमित रहने भावनात्मक विषय नरहेर भाैतिक विनाश-लीलाका प्रकरणरहरूले इतिहासकै लागि अपूर्व प्राकृतिक दुर्घटना सिद्ध गरेकाे दुर्भाग्यपूर्ण विषय हाे । यस्ताे अभिशप्त अवस्थामा सबै राजनीतिक पार्टी र नागरिक जीवनका सबै तप्का राष्ट्रियताका प्रति आत्मनिवेदित भावले सम्वेदनशील भई याे, देशकाे परम्परागत हैसियतकाे हकमा,असाध्यै अक्करिलाे याे घटनासँग जुद्नुपर्ने बेला हाे । त्यसैले खासगरी याे घटनालाई कुनै पनि किसिमकाे आग्रही चश्माबाट हेरिनु विल्कुल उचित हुँदैन मात्र हाेइन सर्वभावेन अनुचित हुने हुन्छ ।
गत भदाै १० गते भएकाे भाेटेकाेशी-त्रिसुलीकाे जलप्रलयले केवल त्यस भूखण्डलाई मात्र छत्तविछत्त पारेका छैन, त्यसबाट सिर्जित समस्याकाे काेणबाट हेर्दा, देशलाई उठ्न निकै गाह्रो पर्नेगरी पछारेर शक्त घाइते कनाएकाे छ । त्या प्रलयले त्यस भुभागलाशई निर्ममतापूर्वक काेतरेकाे घाउ वस्तुतः याे निर्बल देशकै छातीमा लागेकाे घाउ बनेकाे छ । यस्ताे अवस्थामा मुख्यतः सबै राजनीतिक दलहरूले आ-आफना दलका अभीप्सालाई चर्लक्कै त्याग्न पर्दथ्याे । र, स्वार्थबाट मुक्त भावले उद्धार-सहयाेगमा जुट्नु पर्दथ्याे । अथवा याे घातक घटनालाई राजनीतिक स्वार्थ साध्ने माैकाका रूपमा लिनु हसँदैनथ्या । तर, पुराना दलहरूमध्ये केहीले ‘साैताकाे रीसले पाेईकाे काख बिस्ट्याउने’ उखान चरितार्थ हुने हर्कत गरेर देखाए-देखाइरहेका छन् ! । र, माैजूदा राज्यका काम-कारवाहीमा बाधा-व्यवधानले घेर्दै लैजाने दुष्कर्म नारेर सम्बन्धित -असम्बन्धित अनेक काेणबाट असहयाेगका सिकन्जा प्रहार गरिरहेका छन् । यसकाे अग्रपंक्तिमा छ, जेन-जेड विद्राेहबाट अपदस्थ, नेकपा (एमाले) ! यसैकारण हुनसक्छ, हाल मैदानी नागरिक र सचेत वर्गका अग्रणी-अगुवाहरू समेत बहुप्रतिशत नेपाली वर्तमान सरकार र त्यसकाे संस्थापनका पक्षमा, ‘कानाे मामा’-कै रूपमा किन नहाेस्, थपिने क्रममा छन् । अन्यथा, पुराना दलहरूले नगरेका वा गर्न नसकेका अथवा गरिबिराएका शासकीय काम-कारवाहीका आलोचनाकाे वैशाखी टेकेर मात्र यहाँसम्म उभिएकाे देखिइरहेकाे थियाे वर्तमान सरकार ! यसकै भित्रभित्रका भ्वाँङहरू सार्वजनिक नभएका थिएनन् ।
अर्थात्, वर्तमान सत्तारुढ दलकाे संस्थापन र सरकारका क्रियाकलापका प्रति भूँइ-समाजका राजनीति-निरपेक्ष जनताका गुनासाहरू कम थिएनन् । वस्तुतः घटनापरक स्थितिहरूका कारण मात्र अथवा त्यस्ताे मनाेविज्ञानद्वारा जान-अन्जान निर्दिष्ट भइरहनु परेकाले मात्र जन-समाज पुनः विद्राेहमा उतारू हुन नसकिरहेका यथार्थ त छर्लङ्गै छँदैछ नै । पुराना दलहरूका जे-जे कमी-कमजाेरीलाई आलाेचनाकाे शीर्ष स्थानमा राख्ने काम जाे भइरहेकाे छ तिनैकाे पुनरावृत्ति सत्तारुढ संस्थापन र सरकारले गरिरहेकाे छ भन्ने त सर्वथा जगजाहेर नै छ ।
पुराना दलहरूले ‘लाेकतन्त्र’-काे आदर्श, सिद्धान्त र स्थापित मान्यतालाई नेताहरूले विलाेम दिशातिर माेड दिएर ‘नेतातन्त्र’ चलाए भन्ने भाष्यभन्दा भिन्न के चाहिँ नयाँपन छ माैजूदा ‘नयाँ सरकार’ भनेर नाकका पाेरा फुलाइरहेका शासकीय ब्यहाेरामा ? दलभित्र असन्ताेष मडारिएर चुल्लिइरहेकाे कुराे आम समाजमा चुहिरहेकाे छैन कि ? जनताका चूला-चाैकासम्म अप्ठ्यारो पसेर जन-भावनाका आक्राेश घाेल्लिरहेकाे छैन कि ? स्वयम् दल-प्राधिकरण अन्तर्गत संस्थापन र सरकारका गुट- गिराेह पन्पाइरहेकाे छैन कि ? सरकारका पटक-पटकका निर्णयहरूका विरुद्ध विभिन्न वर्गीय र पेशागत संघ-संस्थाहरूका सिकायतप्रदत्त आवाजहरू दैनन्दिन घन्किरहेका छैनन् कि ? याे ‘नयाँ’-का घाेषित ‘बाचा’ बमाेजिम कहाँ-कहाँ के-के पूरा भएका छन् त ? अनि ‘नयाँ’-काे अन्तर्य पुरानाहरू भन्दा फरक कस्ताे किसिमले मान्नुपर्ने छ त ? अल्लारे युवाहरूकाे हा-हा र हाे-हाेलाई कहिलेसम्म ‘नयाँ’ मानिदिनु पर्ने हाे त ?
नेपालकाे संसदीय इतिहासमै प्रथमपटक देशका कार्यकारी प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित हुन निर्देश गर्नु परेकाे दुर्नाम यही सरकारले कमाएकाे छ । ‘सरकार’ र ‘दल’-काे आपसी तालमेल मिलेकाे नदेखिने गरेका अनेक घटना राजनीतिक विश्लेषकहरूले छत्ताछुल्ल पारिराखेका छन् । विश्वविद्यालयहरू र अन्य निकायका नेगियारे नियुक्तिमा नाता-कृपा चलेका विषय उसरी नै सिक्सिकाे लाग्नेगरी चर्चामा व्यापक निफन्निइरहेकाे अवस्था छ ! त्यसाे भए यथार्थमा याे ‘नयाँ’ भनिइरहेकाे सरकारकाे केलाई चाहिँ ‘नयाँ’ मानिदिनु पर्ने हाे त ?
ठीक हाे, वर्तमान सरकारलाई जलप्रलयकाे प्रकाेपबाट ध्वस्त भाेटेकाेशी-त्रिसुली भूखण्ड निर्बाध सम्हाल्न दिनुपर्छ । त्यस काममा बाधा-व्यवधान लादेर राजनीतिकाे राेटी सेक्नु अपराध हाे मात्र हाेइन, अझ याे दारुण समयमा त्यसाे गर्नाले ‘राजनीति’-कै विश्वमान्य सैद्धान्तिक आदर्शकाे समेत तेजाेबध हुन्छ । अहिलेकाे स्थितिकाे धरातलबाट, विगतमा पटक-पटक सत्ताकाे शक्ति डकारेका, कुनै एक दलका अहंकारी र आरिसे मुखिया र उनका भाट-भारदारहरूकाे शर्मनाक प्रस्तुतिकाे चेवा गर्दा उनीहरू आफै उनीहरूकै निम्ति भाेलि जनमतले आत्मघाती सिद्ध गर्ने स्थिति तयार गरिरहेका देखिन्छन् ! तर, हाल-साविकका उनीहरूकाे यस किसिमका देब्राे-टेढा चलखेल-गतिबिधिकाे आलोचना र टिकाटिप्पणीलाई प्रकारान्तरमा उनीहरूकै ‘सुधारकाे लागि सुझाव’ मानिलिशएमा उनीहरूकै हितका निम्ति सकारात्मक परिणाम पनि काेरल्न सक्छ । जम्मैमा, ‘पुराना’ शब्दमा सम्पृक्त सबै पुराना दाेषी छैनन्, तीमध्येका एक-दुई महाभारतकालीन दुर्वासा वा शिशुपाल चारित्रिक छुच्चाे, छल्याहा, दुर्खुखाकाे कारण अरूले पनि खिन्न हुन परिरहेकाे हाे । विगत ३६ वर्षलाई ‘एउटा आलु भरिएकाे बाेरा’ ठानेर चिन्तन गर्ने हाे भने त्यसभित्रकाे एउटा आलु हालकाे सन्दर्भमा कुहुँदै गएकाे अवस्था छ र उसकै कारण अरू पनि अवमूल्यनमा पर्नु परिरहे जस्ताे मात्र हाे । पुराना केही ज्यँका त्यू स्वस्थ र सुकिला पनि छन् । लाेकले याे कुराे पनि बुझेकाे छ । संक्रामक घाउरे व्यक्ति निकटकाे ‘साथी’ भए पनि दुरी त कायम गर्नै पर्छ नि ! याे बुद्धि अरूमा आउँछ-आउदैन ? हेरन बाँकी छ !
त्यसैले बस्, आजलाई ुु यति नै ! शेष फेरि –