लेखसमाचार

राजेश ढुंगानाको तेस्रो कृति “मुटु फलाम भएर” हेर्दा

द्रोण अधिकारी गुयेली

कवि, लेखक, विश्लेषक, सम्पादक÷प्रकाशक तथा पत्रकारको पहिचान बनाएका राजेश ढुंगाना सडक कविता क्रान्तिकाल वि सं २०३६ सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका स्रष्टा हुन् । यस अवधिमा नेपाली राजनीतिले उथलपुथलका दर्जन घटना पार गर्दा पनि ढुंगाना कविता लेखनको ५० वर्षे छेउछाउको यौवन आसपासमा पनि निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् । झापा भद्रपुर ८ निवासी कवि ढुंगाना काव्य जगतमा फुटकर कविता लेख्नकै लागि जन्मिएका व्यक्ति जस्तो आभाष उनका हरेक कृतिभित्रका कविताले दिने गरेका छन् । झापा भद्रपुरमा २०१९ मा जन्मिएका कवि ढुंगाना काव्य रचनामा कोमल हृदय भएका तर विकृति बिरूद्ध प्रहार गर्ने शसक्त सर्जक हुन् ।

स्वतन्त्रका लागि कठोर आवाज विद्रोह स्वरूप ओकल्ने कवि ढुंगानाको मन भने निरन्तर सिर्जनशील छ । वि सं २०८३ बैशाखमा तेस्रो कृतिका रूपमा प्रकाशित भएको मुटु फलाम भएर कविता संग्रह प्रगतिशील विचार सहित राष्ट्रवादी भावमा विद्रोह बोकेर आएको छ । यस संग्रहका कविताले कवि ढुंगानालार्ई समय अनुकुल आवाज ओकल्ने राष्ट्रवादी सर्जकका रूपमा उभ्याइ दिएको छ । उनका कविताले मानवताप्रति निस्वार्थ प्रेम, जीवन जगतमा मान्छेको भूमिका, स्वतन्त्र राष्ट्रको चाहना, सामाजिक विकृति विसंगतिप्रति प्रहार, आजको विश्व राजनीतिमाथि बढ्दो अविश्वास लगायर्त विद्रोहको ज्वाला दन्काउने प्रयास गरेको छ । मानव जीवनमा आशावादी जीवन दृष्टिलाई कलात्मक रूपमा वर्णन गर्न सफल कविका अधिकाम्स कविताले मान्छेकै बेलिबिस्तार गर्दै व्याप्त विकृतिमाथि चिरफारको प्रयास पनि गरेका छन् ।

ढ्ंगानाका कविताले वर्तमान समय अनुसारको आवाज र विश्व राजनीतिको विकृत पक्ष बीचको द्वन्द्व पनि प्रष्ट्याउने इच्छा राखेको पाइन्छ । उनका थोरै शब्दमा धेरै भन्न सक्ने आकारमा छोटा ४६ वटा कविताले मूल रूपमा मानवतालाई उभ्याएका भए पनि मान्छेसित जोडिएको राजनीति, प्रेम, शासन शैली, भूराजनीतिक अवस्था जस्ता पक्षलाई मूल भाव बनाएका छन् । उनका कविताहरू फुटकर टुक्राटाक्री जस्ता देखिए पनि भव प्रस्तुतिमा कुनै न कुनै रूपमा शक्तिशाली वितार नै उच्च स्तरको भावना बन्न सफल देखिन्छन् ।

मुटु फलाम भएर कविता संग्रहमा ४६ वटा कवितालाई ९३ पृष्ठमा बिटो कस्ने काम भएको छ । बसन्तराज अज्ञातले मानव मुटुमा तार जेलिएको आकर्षक आवरण प्रस्तुत गरेका छन् । यस पुस्तकमा शैलेन्द्र साकार, विधान आचार्य, श्यामलाल अधिकारी र डा स्मिता श्रेष्ठको कृति भित्रका कवितामा रहेका विषय वस्तु केन्द्रीत भूमिका तथा टिप्पणी रहेको छ । टिप्पणी कर्ताले कवि राजेशलाई बलियो कवित्व भएको सवल कवि, स्वतन्त्रताप्रेमी, प्रजातन्त्रप्रेमी, राजनीतिक चिन्तक, पत्रकार र सफल फुटकर कविका रूपमा परिचय गराउने प्रयास गरेका छन् । साना ठूला गरी ४६ वटा कविता रहेको यस कृतिले देशको राजनीति, अन्तराष्ट्रिय राजनीति विकृत र विसंगत बन्नुमा सत्ता र शक्तिको होडवाजी रहेको निचोड निकालेको छ । जहा संग्रहित हरेक कविताले एउटा नयाँ भावलाई उराल्ने प्रयास गर्दा मानवताको पनि खोजी गरिएको भेटिन्छ । अधिकार प्राप्तिको अडान, शाहदात हुनुको अर्थ, उज्वल भविष्यको खोजी, सात्विक प्रेमको अर्थ, पितृत्वको भाव, विश्वलाई गलाउने महामारीसितको संघर्ष, मानवता गुम्नुको आशय जस्ता भावलाई कवित्व प्रदान गरेका ढुंगानाले उत्कृष्ट कृति बन्ने कविता संग्रहित गरेका छन् ।

नेपालमा भ्रष्ट चंखे, चतुरे, तिघ्रे र पाखुरेहरूकै मात्र स्वरूप फेरेर सत्तालाई मस्ती केन्द्र बनाइरहेको वर्तमानमा त्यस खराव प्रवृत्ति रोक्न कविले विद्रोहको भाव ओकलिरहेको देखिन्छ । मान्छे हुन केही गर्नु पर्छ भन्ने भावना विचारका रूपमा कवितामा आएका छन् । विकृतिबाट उम्रिएको राजनीतिले देश र जनतालाई सुख, शान्ति र समृद्धिको फल दिन सक्दैन । राजनीतिलाई नागरिकले बेइमानी, ठगी, लुट–झुट र अनैतिकता स्वाभाविक हुने खेलका रूपमा लगिनु नहुने तर्क कविताका भावमा भेट्न पाइन्छ । देशको हित विपरितका गतिविधिमाथि कवितामा व्यङ्ग्यको वाण बजारिएको छ । वि सं २०८० सालपछाडि रचना भएका अधिकाम्स कविताहरूले देश, समाज र मानवताको अस्तित्वबोध मूल भावना बनाउने प्रयास गरेका सिर्जना नै यो संग्रह बन्न सफल छन् । कविता संग्रहले सरल शब्दभित्र भावअनुकुल प्रभावकारी बिम्व र उत्कृष्ट काव्य शैली प्रयोग गरेको सिर्जना मात्र समेटेको पाइन्छ । मान्छे उन्मुक्त स्वतन्त्रता प्रेमी भएको ठान्ने कवि ढुंगानाले मान्छे भित्र लुकेका अहम र विकृति बिरूद्ध भने खरो प्रहार समेत गरेका छन् ।

‘मुटु फलाम भएर’ कवितासंग्रह शीर्षक अनुसार कलात्मक आवरणले सजिएको छ । आवरणको पृष्ठभूमिमा देखिने चित्रले नेपालको मान्छेको मुटुको स्वरूपलाई फलामे तारसित एकाकार गरेर देखाएको छ । संग्रहभित्रका हरेक कविताहरू विम्व र कलाले भरिएका कलात्मक छन् । गहन भावसित गाँसिएर उत्कृष्ट अभिव्यक्तिका रूपमा आएका छन् । कविता पढ्दा पाठकले आनन्दानुभूति गर्ने अवसर पाउने छन् । ढुंगानाका कविताले मन र मस्तिष्कलाई सोचनीय बनाउने छन् । हाम्रो संकुचित समाजमा कतिपय शब्दहरू निर्लज्ज देखिन सक्छन् । त्यो मानव समाजको यथार्थ ऐना हो तर पनि पचाउन सहज छैन । कवि राजेश ढुंगानाका कविताहरूले देश दुनिया छोडेर मानवताबाट टाढा भागेका छैनन् । वर्तमान नेपाली राजनीति तथा समाजको अवस्थाभित्र गाडिएका कतिपय विकृति प्रति व्यंग्य र विद्रोहका स्वरहरू उराल्ने प्रयास गरिएको छ । पहिलो तथा दोस्रो कृतिभन्दा कवि ढुंगाना तेस्रो कृतिमा आइपुग्दा बलवान शब्दानुरागी एवम् नवीन चिन्तक भएको विद्रोही स्रष्टाका रूपमा देखिएका छन् ।

यस कृतिका कविताहरूमा स्वाभिमान र स्वतन्त्रताको वकालतलाई बलियो बनाउने प्रयास गरिएको छ । नेपालको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक जस्ता पक्षलाई विकृत बनाउने पक्षप्रति प्रतिवादको आक्रोस पोखिएको यस कविता संग्रहले नयाँ युग जन्मिने विश्वास समेत राखेको अनुभूति हुन्छ । विद्रोह अधिकार प्राप्तिका लागि अडिग रहेको भन्दै कवि आक्रोस पोख्दै भन्छन्—

१. हो, विद्रोह
एकपटक सुरू भएपछि
प्राप्ति नहुञ्जेल
कहिकतै रोकिन्न । (विद्रोह)

२. अब जन्मने सपुत
मुटुमै देशको भूगोल बोकेर
जन्मनु पर्छ । (जिउँदो शहीद)

माथि उल्लेखित दुई वटा कविताका सारले नै भन्छ कवि राजेश ढुंगाना देश र जनताको भलाइका लागि विद्रोह बोल्ने राष्ट्रवादी कवि हुन् । जसले विचारलाई हतियार बनाए सधैंका लागि विद्रोहमार्फत अधिकार स्थापित गर्ने हिम्मत कसेका छन् । चेतन र अवचेन मनभित्र देशको माटो बचाउन राष्ट्रवादी भावना भएको विद्रोह सफल बन्न सक्छन् भन्ने तथ्य राजेश ढुंगानाले फुटकर कविता मार्फत नै प्रष्ट पारेका छन् । नेपाली फुटकर कविता काव्य जगतमा मुटु फलाम भएर कविता संग्रह कृतिले एउटा बलियो इटा लिएर आएको छ । जसले नेपाली काव्य जगतको घर निर्माणमा अब्बल शक्ति समेत प्रदान गरेको प्रष्ट हुन्छ । छोटा तथा मझौला कविताभित्र लुकेका वृहद काव्य सामथ्र्य राजेश ढुंगानाका कविता कृतिका मुख्य विशेषता हुन् ।