राजनीतिसम्पादकीय

राजनीतिले देशको समस्या पहिचान गरेन

सम्पादकीय

नेपालको राजनीति सही बाटोमा हिड्न नसक्दा देशको समस्या पहिचान नै हुन सकेको छैन । देशका विभिन्न समस्या मध्ये प्रमुख रूपमा अर्थतन्त्र छ । नेपाली अर्थतन्त्र संकटको डिलमा पुगिसकेको जानकारहरूले विभिन्न माध्यमबाट बताइरहेका छन् । सरकारको नेतृत्व गर्नेहरू सुनिरहेका छैनन् । नेपालको अर्थतन्त्रका लागि मेरूदण्ड मानिएको राजश्व संकलन खर्चको अनुपातमा तीन गुना कम संकलन भइरहेको छ । यस अवस्थाले पनि अर्थ व्यवस्था संकटको सामना गरिरहेको प्रष्ट हुन्छ ।

सरकार रोजगारी व्यवस्थाको धक्कु लगाइरहेको छ । सक्कली नक्कली पुगनपुग तीन करोडमध्ये घटीमा सत्तरी लाख उर्जाशील नेपाली विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् । त्यति मात्र होइन कुम्लोकुटुरो बोकेर विदेश पलायन हुनेहरुको लस्कर दिनप्रतिदिन तीव्र गतिमा बढ्दो छ । चुनावी नारा विदेशमा दास बन्न रोक्ने बेचेर सरकारको नेतृत्व हत्याएको दल स्वयम श्रम तालिम केन्द्र खोलेर स्वदेशी जनशक्ति विदेशिउन भन्नेमा जुटेको आभाष गराउँदै छ । यता कम हुँदै गएको नेपाली जनसंख्यालाई विदेशी जनशक्ति अतिक्रमणको प्रकोप बढेर भूगोल टुक्रने टुक्र्याउने खतराको घण्टी बज्न थालिसकेको छ ।

बढ्दो धार्मिक, सामाजिक र साँस्कृतिक प्रदुषणले यो राष्ट्रलाई अन्तराष्ट्रिय सीमारेखाभित्रको माटोमा मात्र सीमित तुल्याई कालान्तरमा नेपाली जातीय मौलिकता नै लोप गराउने षड्यन्त्रहरू सक्रिय बन्दै गएका छन् । पछिल्लो पटक सुनसरीबाट सुरू भएको धार्मिक द्वन्द्वले मधेश प्रदेशभर फैलाएको तरङ्गलाई निहाल्दा प्रष्ट चित्र भेट्न सकिन्छ ।

भ्रष्टाचारको नङ्ग्रामा देश जकडिसकेको विगतदेखिको तीतो अनुभव छ । पुराना राजनीतिक दलको विकल्पका रूपमा उदाएको र नागरिकले भरपुर विश्वास राखेको बैकल्पिक भनिएको दल पनि सत्ता भोगका लागि मन्त्री खाने खुवाउने खेलभन्दा माथि उठेको परिस्थितिले देखाउँदैन । भारेभुरे भ्रष्टाचार पक्रेर कारवाही गरेको प्रचार—प्रशारका छाँयामा ठूला भ्रष्टाचारीलाई छेलेर छाली—कुराउनीको भागबण्डामा राज्याधिकारमा पुगेकाहरू नै लाम लागिरहेको आभाष हुँदै छ ।

भाषण बासेका भरमा देशमा आमूल परिवर्तन सहित समृद्धि आउन सक्दैन भन्ने स्वयम भाषण बास्नेहरूलाई थाहा नभएको त होइन होला तर, सिंहदरवारको पातानुकूल कोठामा नरम गलैंचा टेकेर मुलायम कुर्सीमा बस्न पुगेकाहरूले हाँक्ने गरेका परिवर्तनका फेसबुके भाषणमा तिनले भोगिरहेका सुखकर मस्तीबाहेक महंगी, भ्रष्टाचार, अविकास र नैराश्यको प्रकोप भोगिरहेका हरदर जनताका निश्छल आधारभूत आवश्यकता सन्निहित हुन सकिरहेका छैनन् । कालो बजारी, मिलावटखोरी, सामाजिक अनुशासनहिनता, दण्डहिनता आदि जस्ता विधिको शासनको भावभूमिलाई नै विकराल रूपमा प्रस्तुत गर्ने जनघाती कृयाकलाप बढिरहेका छन् ।

हिजो पनि यस्तै, आज पनि उस्तै यही शैलीको शासकीय लापर्वाहीको थिचोमिचो निरन्तर राखिराख्ने हो भने विकल्पको भाषण खोक्नेको पनि विकल्प खोज्नु पर्ने समय आउन सक्छ । वर्तमान सरकार विगतका विकृतिको निरन्तरताका लागि होइन, विकृति नामेट पार्दै सधैंका लागि स्थिर र विकासको ज्वारभाटा सिर्जना गर्ने आधार हुनु पर्ने हो तर, सुशासन दिने भनिएको सरकार के कारणले कता अलमलियो ? प्रश्न पालेर जहाँ सर्वसाधारण नागरिकले आत्मघाती सहनशीलता कायम राख्ने गल्ती सच्याएर विधि र प्रकृया सहित नयाँ युगको आँधिवेरी सिर्जनाका लागि मौनता साचिरहेका छन् । हिजोका ढाँटछल प्रवृत्ति आज पनि निरन्तर राखेर सत्तामा भोग विलास पाल्ने दुस्साहस कुनै पनि राजनीतिक दलले नपाले हुन्छ ।

देश विगारेर जनताको भलाइ छैन भन्ने सत्य सवै नागरिकले बुझिसकेका छन् । त्यसैले नेपाली राजनीतिक दलहरू अब त सुध्रने बाटो रोज । देशका सवै समस्या मिलेर साझा रूपमा समाधान गरी संकट मुक्त देश बनाऔं । अर्थतन्त्र बिग्रेको छ । भौतिक पूर्वाधारका हजारौ आयोजना निर्माण रोकिएर अलपत्र छन् । समय अनुकुल सभ्यताले समृद्ध हुने अवसर पाइरहेको छैन । राजनीतिको आशय राज्य सञ्चालनको नीति हुनु पर्ने त्यस्तो अवस्था बनेकै छैन । खालि परिवर्तनका कुरा गरेर नागरिकमाथि शासन गर्ने लाज नीति जीवित रहँनु अबको आवश्यकता होइन । यसकारण पनि नेपालको राजनीतिले अबिलम्ब देशको समस्या पहिचान गरी समाधान खोज्नै पर्छ ।