राजेश ढुंगानाको कृति ‘मुटु फलाम भएर’ को चर्चा
भद्रपुर । भद्रपुर १० स्थित लेखनाथ पुस्तकालयमा सर्वकालिक कवि राजेश ढुंगानाको तेस्रो गद्य कविता–कृति ‘मुटु फलाम भएर’ को चन्द्रगढीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
आख्यानकार राजेन्द्र संग्रौलाको प्रमुख आतिथ्य र पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्वमा साहित्यकार होम सुवेदीले कवि परिचयसँगै स्वागत गरेको सो कार्यक्रममा समीक्षक तारा ‘विविध’ले कृतिको केस्रा–केस्रा समीक्षा अभिभाषण गरेका थिए ।
प्रखर कवि एवम् गजलकार केशव आचार्यले कृतिकारको कवित्वको चर्चा सहित शुभकामना मन्तव्य दिएको र स्वयम् कवि राजेश ढुंगानाले आफ्नो सिर्जनाका बारेमा टिप्पणी गरेको परिचर्चा कार्यक्रममा सो कृतिभित्रका विभिन्न कविताहरू उपस्थित कवि, कवयित्री, लेखक, विद्वानहरूले वाचन गरेर माहोललाई साहित्यमय बनाएका थिए ।
सो अवसरमा कृतिकारकी जीवनसंगिनी मीना ढुंगानाले कवि व्यक्तित्वसितको आफ्नो जीवनयात्राको शुरुवात बारे संक्षिप्त चर्चा गर्दै राजेश ढुंगानाको शब्दमा तयार गरिएको एउटा श्रुतिमधुर रेकर्डेड गीत बजाएर हलभर उपस्थित आगन्तुकलाई सुनाएकी थिइन् ।
