अपराधसमाचारस्थानीय

झापा प्रहरीकै लापरवाहीले फरार भए ओली

झापा । प्रहरीले सही नियतले काम गरेन भने जतिनै दवाव तथा नैतिक प्रश्न सिर्जना भए पनि निरीह परिस्थिति उत्पन्न हुन्छ भन्ने प्रमाण झापामा पछिल्लो समय नितेश ओली प्रकरणले देखाइदिएको छ ।

साइबर अपराधसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको आरोपितलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन पत्रकार महासंघ झापाले जाहेरी दिए पनि झापा प्रहरीले आरोपि जोगाउँदै भाग्ने मौका दिएर आलटाल गरिदिएपछि सामाजिक सञ्जाल दुरूपयोग गरेर महासंघका पदाधिकारी तथा विभिन्न पत्रकारमाथि मानहानी गर्दै धम्क्याउने क्रम निरन्तर बढाइरहँदा महासंघ निरीह बन्ने अवस्था आएको हो ।

 

यस्तै झापाका १० वटा विभिन्न क्रियाशील पत्रकार संघ संगठनहरूले समेत आपराधिक कर्ममा लागेको नितेश भनिने नवराज ओलीलाई तत्काल पक्राउ गर्न माग गरेको भए पनि ओलीलाई झापा प्रहरीले पक्राउ नगर्दा विभिन्न लान्छना लगाएर पत्रकार धम्क्याउन सामाजिक सञ्जाल दुरूपयोग बढाइ रहेको अवस्था छ । गएको बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अभियुक्तलाई तत्काल पक्राउ गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका भए पनि प्रहरी कानमा तेल हालेर बसिरहेको छ ।

हल्दिबारी गाउँपालिका–१ निवासी नितेश भनिने नवराज ओलीविरुद्ध जिल्ला अदालत झापाबाट गत असार १५ गते नै पक्राउ पुर्जी जारी भइसकेको छ । तर, हालसम्म उनी पक्राउ परेका छैनन् । प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको भन्दै थप बोल्न चाहेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले भने, ’अनुसन्धानमै भएको कारणले यो हामीले बोल्न मिल्दैन ।’

यसअघि गत साउन १८ गते नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले पनि विज्ञप्ति जारी गर्दै नितेशलाई पक्राउ गर्न माग गरेको थियो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’महासंघ अभियुक्तलाई बिना कुनै बहाना तत्काल पक्राउ गर्न, निजको सामाजिक सञ्जालमार्फत भइरहेका अवाञ्छित गतिविधि रोक्न तथा दण्डहीनताको अन्त्य गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’

अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अभियुक्त खुलेआम हिँडिरहेको र उल्टै सामाजिक सञ्जालमार्फत पत्रकारहरूको चरित्रहत्या गरिरहेको महासंघ झापा शाखाको दाबी छ । ’असार १५ गते जाहेरी दिएर पक्राउ पुर्जी जारी भएको अदालतबाट, त्यस पछाडि मान्छे फरार छ, अझै पक्राउ परेका छैनन्,’ महासंघ झापाका अध्यक्ष एकराज गिरीले भने, ’अहिले फेसबुकमा चरित्र हत्या गरिराखेको छ ।’

‘नितेश ओली नितेश’नामक फेसबुक एकाउन्टबाट पत्रकार महासंघ झापाका पदाधिकारीहरू लक्षित पोस्टहरू भइरहेका छन् । जसमा ’अध्यक्ष एकराज गिरीले मिटरब्याजमा पैसा असुलेको’ र ’उपाध्यक्ष सुब्रत न्यौपाने शिक्षा बहुउद्देश्यीय सहकारी सञ्चालक रहेको’ जस्ता आरोपहरू लगाइएको छ । अध्यक्ष गिरीले यस्ता पोस्टले चरित्रहत्या गरिरहेको गुनासो गर्दै भने, ’कहिले चेकको फोटो हाल्छ, कहिले के भन्छ, कहिले व्यापारीसँग जोडिएको भन्दिन्छ । मेरो अलि धेरै लेख्या छ, उपाध्यक्षज्यूको, अरू साथी क्रियाशील पत्रकार साथीहरूको पनि लेखेका छन् ।’

यता, आरोप खेपिरहेका नितेश भनिने नवराज ओलीले भने ती फेसबुक पोस्टहरू आफूले नै गरेको स्विकारे । पत्रकार महासंघ झापाले आफूविरुद्ध प्रतिशोध साधेपछि यस्तो कदम चाल्न बाध्य भएको उनको जिकिर छ । ’साइबर मुद्दा लाग्नुभन्दा अगाडि त मैले कसैविरुद्ध केही लेखेको छैन । मविरुद्ध लगाउने केही मुद्दा नभएपछि यिनीहरूले मविरुद्ध साइबर मुद्दा लगाएका हुन्,’ नितेशले भने, ’मैले फेसबुकमा लेख्न थालेको हप्ता १० दिन भयो ।’

यो विवादको सुरुआत करिब दुई महिनाअघि भएको नवराजको भनाइ छ । ’यो घटना अहिलेको होइन, करिब २ महिना अघिको हो । मविरुद्ध उनीहरूले पत्रकारिताको नाममा असुली गरेको भन्दै उजुरी दिएका थिए,’ उनले भने, ’जुन मैले गरेको थिइनँ । मविरुद्ध केही प्रमाण नभेटिएपछि उनीहरूले साइबर मुद्दा लगाएका हुन् ।’

महासंघले गत जेठ १८ गते ‘पत्रकारिताको नाममा उद्योगी तथा व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण’भएको भन्दै विज्ञप्ति निकालेको थियो । जसमा नितेशले आफू विभिन्न मिडियामा कार्यरत रहेको झुठो विवरण पेस गर्दै ठोस खबर डटकम, पूर्वीगर्जन मिडिया प्रा.लि. लगायत आधा दर्जन बढी सञ्चार संस्थाको नाममा रकम मागेको आरोप लगाइएको थियो ।

महासंघमा मिडिया सञ्चालकहरूबाटै उजुरी आएपछि संस्थागत रूपमा कानुनी प्रक्रिया अघि बढाइएको अध्यक्ष गिरीले प्रस्ट्याए । ’झापाका विभिन्न ११ वटा मिडियाको नाम बेचेर उसले विभिन्न उद्योगी व्यवसायीहरूसँग पैसा मागेको, धम्क्याएको, पैसा उठाएको भनेर मिडियाकै साथीहरूले महासंघमा उजुरी दिएका थिए,’ गिरीले  भने, ’हामीले सल्लाह ग¥यौँ, केन्द्र र प्रदेशमा पनि हाम्रो संगठनलाई भन्यौँ । उहाँहरूबाट ’संस्थागत जानुस्’ भन्नुभयो र झापा महासंघले सर्वसम्मत निर्णय गरेर जाहेरी दर्ता गरियो । अब मुद्दा महासंघको संस्थागत हो ।’

मुद्दा महासंघको संस्थागत भए पनि झापा प्रहरीको नेतृत्व ओलीलाई वर्तमान सरकारको बलियो समर्थक ठानेर पक्राउ गर्न पछि हटेको अवस्थाले दर्शाउछ । आरोपी ओली कहिले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसित, कहिले गृहमन्त्रीसित त कहिले प्रधानमन्त्रीको कार्यालयमा बसेका फोटा राखेर सामाजिक सञ्जाल रङ्ग्याउने गर्छन् । उनले झापा प्रहरी प्रमुखसित नियमित सम्पर्क गरिरहेको समेत बताउने गरेको उनका निकटवर्तीहरूको भनाइ छ । आरोपित ओलीसितको संवाद सम्बन्धी विषयलाई झापा प्रहरी प्रमुख वशुन्धरा खड्काले घुमाउरो पारामा स्वीकार गरेकी छिन् । यी सवै घटनाक्रमबाट प्रहरीकै संरक्षणमा आरोपि ओली भागिरहेको प्रमाणित हुन्छ ।
कान्तिपुर अनलाइनबाट