समाचार

अध्यक्ष गिरीको प्रष्टीकरण

भद्रपुर । केही हप्तायता सामाजिक सञ्जाल मार्फत नितेश ओली भनिने नवराज ओलीले निरन्तर आरोपहरू लगाउँदै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको मानमर्दन गर्न थालेपछि सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका आरोपहरू निराधार, भ्रामक र चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित भएको अध्यक्ष गिरीले प्रष्टीकरण दिएका छन् ।

अध्यक्ष गिरीले सार्वजनिक वक्तव्य जारी गर्दै आफूलाई जोडेर प्रचार गरिएका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नितेश ओली नामका व्यक्तिलाई आफूले आजसम्म प्रत्यक्ष नदेखेको र कुनै व्यक्तिगत चिनजानसमेत नभएको स्पष्ट पारेका हुन् ।
गिरीले नेपाल पत्रकार महासंघ झापा शाखाले नितेश ओलीविरुद्ध संस्थागत रूपमा दिएको जाहेरीका विषयमा महासंघ र अन्य संस्थाले आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै त्यसलाई आफूविरुद्ध व्यक्तिगत रूपमा प्रयोग गरी चरित्र हत्या गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा चर्चामा आएको ४१ लाख रुपैयाँको चेक चार वर्षअघि जग्गासम्बन्धी एक परियोजनाका लागि काटिएको बताउँदै सो कारोबार सरकारी निकायमै तमसुकसहित प्रमाणित भएको तर आर्थिक मन्दीका कारण परियोजना अघि बढ्न नसकेपछि चेक र तमसुक दुवै पक्ष तथा साक्षीहरूको उपस्थितिमा च्यातिएको उनको स्पष्टीकरण छ ।

सुरेन्द्रकुमार उप्रेतीसँग सम्बन्धित विवाद इलाका प्रहरी कार्यालय र झापा जिल्ला अदालतबाट तीन वर्षअघि नै टुंगिएको विषय भएको उल्लेख गर्दै त्यसलाई पुनः उठाएर आफूविरुद्ध प्रतिशोधपूर्ण अभियान चलाइएको गिरीले बताए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको हुनाले गलत प्रचार गरेर चरित्रहत्तामा लागेकाहरूलाई आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।
गिरीले आफूले कसैको रकम नतिरेको वा आर्थिक हिनामिना गरेको प्रमाण भए सार्वजनिक गर्न आग्रह गर्दै यदि आफूबाट कुनै गैरकानुनी काम भएको पुष्टि भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको प्रष्टीकरण छ ।

निरन्तर सामाजिक सञ्जालबाट आरोप लगाउने ओली भने झापा जिल्ला अदालतबाट साइबर अपराधमा पक्राउ पुर्जी जारी भएका आरोपि हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले गत असार १५ गते झापा हल्दिबारीका ओली विरुद्ध झापा प्रहरी प्रमुख बसुन्धरा खड्काकै सल्लाहमा जाहेरी दर्ता गरेको थियो । तर प्रहरीले आरोपि ओलीलाई पक्राउ नगर्दा विभिन्न व्यक्तिको सामाजिक सञ्जालमा चरित्र हत्या गरिरहेका छन् ।