भाेटले बढाएकाे विदेशीकाे भीडले देशैलाई ‘कुँडाकर्कट’ बनायाे भने नि ?
व्यंग्यनारान पाँडे
[ माैसमी हास्य-व्यंग्य ]
पाँडे आफू सुत्ने काेठामा कति दिनदेखि लथालिङ्ग किताबहरू मिलाउन लागेकाले, सँधै झैं, बार्दलीमा निस्केकाे थिएन । काेठामा पङ्खा चलिरहेकाे ध्वनिले बाहिरकाे सामान्य आवाज पनि धिमा सुनिन्थ्याे । तर, एकाएक बार्दलीमा कसैकाे धाेद्रे स्वर सुनियाे र बाहिर निस्केकाे त -अघि कतिखेर आएकाे हरिराम बरण्डाकाे रेलिङ समाएर बाटाेतिर कराउँदाे रहेछ । र, बाटाेमा चाहिँ एउटा लुखुरे-तिखुल्ले कुँडाकर्कटेकाे काराेबारी त्यसकाे झाेला-झ्याम्टा लटरम्म झुण्ड्याइएकाे साइकल थामेर उभिएकाे रहेछ । पाँडेले आठाेपाँजाे ‘देखिजानेकै’ मान्छे थियाे त्याे !…
हरिरामले पाँडे निस्केकाे देखेर पनि नदेखे जस्ताे गरेर अझ ठालू पल्टिँदै, स्वरकाे भाेल्यूम अझ बढाउँदै र त्याे लुखुरेतिर ओैला ठडाउँदै भन्याे -“आप चइँ किउँ थेत्तर हाेएका हाए हँ ? हाम एस हाेल एरिआका भूतपूर्बक हेट कम्रेटकाे नाइँ चिन्ता हाए अउर नाइँ टेर्ता हाय कि क्या हाय हओ कुँडाकर्कटे ? इस एरिआममे हाम आप जैसा चाइन्जाे झ्याक्नेका बाऊलाई कुँडाकर्कट बटुल्न नदिन भी सक्ता हुँ । आप काले ध्वाँसे बज्या चाइन्जाे हामसे मुखमुखै लाग्ता हाए ? हामकाे आपका टङ्डी भी नभाँच्न सक्ने आध्मी ठान्ता हाए कि क्या ठान्ता हाए हओ सुसे ? आँप चाइन्जाेकेरे ….”
यहाँनेर कुँडाकर्कटेले पाँडेलाई देखेछ र उहीँबाट भन्याे -“राम-राम सर ! देख्नु ताे सर, उ त्याे काे मालिक सर हुनुहुन्छन् कि के, तापाइँकाे घरमे ? म पच्चानेकाे छाइना । ताे भी ओ मान्छी मेराे इता राेकिलिओ ओर मेराे ठूलाे साेरसे बाेल्नु ठीक नहुन्छ भन्याे ओर बीस टाका ट्यास् म नदियाे ताे याे रास्तामे मेराे चल्नु नदिन्छुँ, मना कर्छु भनेकाे याे मान्छे तापाइँकाे भरन्डासे, देख्नु त । म इण्ड्या बिहाडके घरमे बस्छुँ ओर गडीप मान्छी छुँ ताे भी इता नापालकाे लाग्रिक पर्ची छ मेराे पासमा । म याे मान्छीकाे बीस टाका ट्यास केन दिन्छुँ ? मा-कस्सम, कब्बी नदिन्छुँ म। ओ मान्छीकाे सम्जाइलिनु सर !”
त्यसकाे कुरा सुनेपछि हरिराम अझ चर्काे स्वरले करायाे -“ए…आप अज्ज अँटेरी हाेता हाय ? आप अझ अँटेरी हाेएङ्गा त आप जैसा प्याङफाटेकाे हाम भी तह लाउन जान्ता हाए । आप जैसा पिलन्धरेकाे हाम एउडै हातसे पछार्न भी सकेका हाए, क्या ठान्ता हाय हामकाे । आप चाइन्जाे क्या खुत्याउता हाय ? हाम आपकाे ठेगान लाएरै छाेड्ता हाए आज् चाइने । हाम्रा इजाेत”…
पाँडेले उसलाई ओभरटेक गरेर हाँस्तै भन्याे-“ओउ बाजे ! छ्याः, के नचाहिँदाे हल्ला गरिराखेका तिमीले हँ मेराे घरमा आएर ? तिमीले हिन्दी बाेलेकाे सुन्दा झन्नै मेरै आँखा फुला परेकाे, झन्नै मेरा दाँत कुँडिएका यार । हिन्दी बाेल्न च्याम्पेन रछाै नि तिमी । छाेड याे गाेब्रे झगडा र…”
पाँडेले बाेल्दाबाेल्दै उसले पनि ओभरटेक गर्दै मुख कच्याककुचुक पारेर झपारेकाे लयमा भन्याे – “हन तपइँलाई मेरा छेउमा बर्ता जान्ने बाठाे हुन अप्ठ्याराे लाग्दैन हँ ? चूपअअअ लागेर बस न र मुद्दाे के र’छ, कसरी फास्ला गर्नुपर्दाे र’छ अनिबड के फैदा हुँदाे र’छ भन्ने रमित् हेरेर सिक न बरू । जान्ने मान्छे बाेलिराख्या ठाममा भलाे भ’र बस्न सिक न ।…लु भित्र काेठाँ जाऊ र बाइरै ननिक्स, मेराे कामलाई डिस्टप नगर । जाऊ न हउ जाऊ ! मैले जाऊ भनेसि गइहाल न, थबक्क गइहाल ।”
आफ्नाे घरमा आएर अर्काले राेब जमाएर बिनबिच्चकाे पाङदुरे हल्ला गर्दा अनि उल्टै झपार्दा कसलाई रीस उठतैन ? पाँडेले पनि पाँडे झ्वाक खप्न सकेन र केही नबाेली हरिरामकाे कठालाे च्याप्प समाएर लछार्दै आँगनमा झार्याे र गलहत्याउँदै सडकमा घँचेटेपछि भन्याे -” खुरुक्क गइहाल । हेप्नसक्नेलाई निचाेरेर खाने र जनवादी राजनीतिकाे बखान लाउने पहिलाकाे ठगी भूत खाेपडीबाट उत्रेकाे छैन कि क्या हाे ? र, अबदेखि मेराे घरमा नआउनु, मैले भन्दिया छु नि ।”
ऊ, कतै नहेरी, घाेसे मुन्टाे लाएर लुरुलुरु मेन राेडकाे कुइनेटाेमा छेलिउन्जेल हेरेपछि पाँडेले कुँडाकर्कटेतिर फर्किएर
के भन्न आँट्तैथ्याे, त्यसैले भन्याे- “मूरख मान्छीकाे सङमे ताे मेराे डर लाग्छ । त्याे स्यानाे मान्छी ठग्ने मान्छी हाे !”
”त्यसकाे ‘बा’, माने बाऊ कि हजुरबाउ हाे कि मितबाऊ, काे हाे, प्रधानमन्त्री भएका बेला त्याे मान्छे याे एरियामा सरकारी पार्टीको ठूलाे मान्छे हूँ भन्थ्याे र सर्वसाधारणलाई यसरी नै ठगेर-लुटेर झन बरबादै थियाे ।” भन्न आँटेकाे थियाे पाँडेले, तर भनेन । बरू भन्याे -“जा अब, आफ्नाे काम गर ।
तर, त्यसले छिनभर अल्मलिए जस्ताे गरेपछि भन्याे-“सर नरिस्याउनु हुनुहुन्छ ताे म एगाे बात कहनुसक्छुँ सर ?” पाँडेले हलुकै भन्याे -“के भन्न आँटिस् फेरि ? ल भन ।”
त्यसले भन्न थाल्याे -“कुडा के छ कि सर, म आप्पै हेरेछुँ कि अब इता भदडपुर, चन्द्रुगुढी, ग्रामुनी, बिर्तामाठहेरू जम्मामे हाम्नेरूकाे ओता इण्डेकाे मान्छी इताकाे पुरानु पाहाड्या मान्छीसे जादा भइसकाे ! हाम्नेरूकाे अप्नाे देशसे इता जाएर एकेक काम पक्रेर त्याे काम से पाइसा कमानु ओर ओता सपारके घर-पेल्वारकाे आच्चा परवेरिस चलानु साेंचेर इता बसेकाे हाम्नेरूकाे जातकाे मुखिआ मान्छीहेरू भी ओइ कहन्छ । इता अगि मेराे ट्यास मागेकाे मान्छी जैसाे घट्या मान्छी धेरी, सर जैसाे अस्ली कम छ । अब म के कहन्छु कि, इता भी अब् दुस्रा बरसतक् हाम्नेरूकाे ओतादिखि आ’काे ननापाली मान्छीकाे पूडापूडी मेजर्टी भइजान्छ हाेला । तब् ताे इता नापालकाे प्ररी ओर भन्सारहेरू समुच्चा ओपिससे हाक्किम-करमचारीकाे गेटाैट करेर भगान्छ ओअर् ओता गल्गल्ल्या-ठाकुरगन्झ, खाेर्बाडी ओअर पीढब्लुकाे पुलिसहडु, हाकिम-करमचारीहडु इता जाएर काम कर्छ हाेला । हाम्नेरूकाे इतै बसिबस्नु भाकाे मुखिआ-मास्टर-पाेरपेसाेरहडु भी तेइ भन्नुहुन्छन् । तिति भायाे ताे हाम्नेरू नापाली लाग्रिक पर्चीबाला ओताकाे मान्छी सब खुस भैजाउन्छुँ ओस्ताे कुडासे मेराे दिलमे एब्दम ठीक लाग्दैछ, सर ।”
‘सीमापारि इण्डियन गाउँतिरका घर-परिवारकाे व्यवहार चलाउन बाध्य याे मान्छे ! दैनिक यति टाढा धाई-धाई टुटेफुटेका र फाेहाेरमा फ्याँकेका थाेत्रामाेत्रा कुँडाकर्कट बटुलेर बेचिखाने नाथेले पनि याे देशका प्रति यस्ताे डेउढे साेच बनाउन सिकिसकेकाे छ ? याे देशकाे स्वाभिमानलाई यसरी पाे काेत्र्याउँदैछन् यिनीहरू ?’….पाँडेकाे झर्राे नेपाली मनमा एकाएक यस्ता कुरा बेस्सरी आए र लामाे सुस्केरा तानेर त्यसकाे खलपत्रे अनुहारतिर हेर्दै भन्याे-“जा-जा ऐले । मेराे थुप्रै काम छ ।”
अनि कुँडाकर्कटे लाेते-लाेते भएर पल्लाे-पल्लाे घरिर जाँदै उसका सँधैकाे भाकामा कराउन थाल्याे -“टिना-फालाम! पुर्ना कागाेज ! काेपी-किताप ! पुर्ना बइटरी ! धार्राके पुर्ना टुट्टी !”…
त्यसकाे त्याे स्वर सुन्दै अनि पाँडेले -“के गर्नु संघीय देशमा स्थानीय तह हत्याउन आतुरहरूलाई सस्तैमा पाइने यस्ता ‘भाेटर’-हरू कति चाहिया छन् कति ! याे अन्ध स्वार्थरूपी पासाेमा यसै देशलाई फँसाएर यी विदेशी हरूले देशैलाई सिङ्गै ‘भाँगाटुटा’ बनाउन पनि बेर छैन है, अब !”…
