अशान्त तराई कमजोर राजनीतिको परिणाम
सम्पादकीय
नेपालमा विरासत बोकेको राजनीतिक संस्कार लगभग अन्त्य भएको अवस्था छ । २०८२ भदौ २४ को विध्वम्सपछि लामो इतिहास बोकेका राजनीतिक दलहरूलाई राज्य सत्ताको कित्ताबाट निकै टाढा बनाइ दिएको अवस्था छ । यस अवस्थाको वातावरण निर्माण गर्न केही वर्षयता पुराना दल निकम्मा भएको एउटा वाक्याम्स व्यापक बनाइएको थियो । त्यही पुराना खराब भन्ने भाष्यले भदौ २३ को विद्रोहलाई ज्वालामुखीका रूपमा विस्फोटको वातावरण तय गरिदिएको थियो ।
त्यसयता राजनीतिभित्र पस्नै नपाएका नयाँ तथा ताजा अनुहारले नेपालको राजनीतिको सर्वोच्च केन्द्र राज्यसत्ता सञ्चालनको जिम्मेवारी पाएको अवस्था छ । फागुन २१ को निर्वाचनले दुईतिहाइ नजिकको अपार जनमत दिएको नयाँ भनिएको रास्वपालाई जनताले आत्तिने र मात्तिने अधिकार भने सुम्पेका थिएनन् । जिम्मेवार भएर राज्यसत्ता सञ्चालनको अवसर सुम्पिएका नेपाली नागरिकले नेतृत्व लिने नेताबाट देश र जनताप्रति जिम्मेवार भएको अनुभूति नै गर्न पाएका छैनन् । गत हप्तादेखि सुनसरीबाट सुरू भएको अहिले मधेशमा बढ्दै गएको साम्प्रदायिक द्वन्द्व अन्त्य गर्न सरकार असफल हुँदै जाँदा सरकारी दल रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गृहमन्त्री र प्रधानमन्त्रीको उपस्थिति देखिएन ।
यस्तो बेलामा प्रधानमन्त्रीले मुख्य जिम्मेवारी लिएर सर्वदलीय बैठक डाक्नुपर्नेमा पार्टी सभापतिले डाकेको बैठकमा समेत अनुपस्थित हुनु कमजोर राजनीतिक संस्कारको संकेत मान्न सकिन्छ । हिजो सरकारमा गएका कतिपय दलले उच्च राजनीतिक संस्कार देखाउन नसकेको कारण जनतामा ती दलप्रति विश्वास घटकै परिणाम आज सत्तामा पुग्ने दलले अपार जनमत पाएको सत्यलाई प्रधानमनत्रीले बिर्सदै गएको हो कि भन्ने प्रश्न तमाम नेपालीको मनमा उब्जन थालेको अवस्था छ ।
संसारको राजनीतिक इतिहास हेर्दा प्रष्ट हुन्छ कि हिंसाले कहिल्यै समाधान दिएको छैन । जहाँ संवाद रोकिन्छ, त्यहाँ द्वन्द्व जन्मिन्छ । जहाँ कानून कमजोर हुन्छ, त्यहाँ अराजकता बलियो हुन्छ । जहाँ राजनीतिक र सामाजिक नेतृत्व मौन बस्छ, त्यहाँ अफवाहले शासन गर्न थाल्छ । पछिल्ला घटनाक्रमले नेपाली राजनीतिमाथि केही प्रश्न भने उठाउँदै गरेको अवस्था छ । नेपालको पहिचान विविधतामा आधारित एकता हो । हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म, विभिन्न धर्म, भाषा, जाति र संस्कृतिका नेपालीहरूले शताब्दीयौँदेखि एउटै राष्ट्रिय भावनामा बाँधिएर जीवन बिताएका छन् । यही सहअस्तित्व हाम्रो सभ्यताको सबैभन्दा ठूलो सम्पत्ति र शक्ति हो । यस सत्यलाई राजनीतिको उच्च तह मानिएको राज्य सत्ताको नेतृत्व कर्ताले सहजै स्वीकार गरेको अवस्था छैन । नेपालका मन्दिर, मस्जिद, गुम्बा, चर्च वा अन्य कुनै पनि आस्थास्थलहरू विभाजनका प्रतीक होइनन् । ती मानवता, करुणा, नैतिकता र सहअस्तित्वका प्रतीक हुन् । यस भावलाई साझा बनाउन राज्यसत्ताको नेतृत्व गर्ने व्यक्ति अगाडि सर्नु पर्छ । त्यसो नभएकै परिणाम सानासाना निहुमा झडप, आगजनी, लुटपाट, काटमार जस्ता हिंसात्मक घटना देखिन थालेका हुन् ।
नेपालका राजनीतिक नेतृत्व, नागरिक समाज, बुद्धिजीवी र विशेष गरी मधेसका प्रबुद्ध नागरिकहरूले अब ढिला नगरी आत्मसमीक्षा गर्नुपर्छ कि आफूले गरिरहेका कतिपय कामले साम्रदायिक सदभाव बिथोल्न सक्छ । हिजो निर्वाचनका बेला बोलेका, आश्वासनका रूपमा बाँढेका तर आज निर्वाचन जितेपछि बेवास्ता गरेका कतिपय विषयवस्तुले पनि सामाजिक सदभाव बिथोल्ने वातावरण बनाइ दिन सक्छ ।
संस्कार सहितको राजनीति गर्नेहरूले बिगतमा संप्रदाय बिरोधी कमजोरी भएका थिए भने आत्मसमीक्षा गरेर सदभाव कायम गर्ने वातावरण बनाइ दिनु पर्छ । होइन भने धर्म, जात, क्षेत्र जस्ता पक्षपोषण गरेर हिंसा चर्काउने काम गर्नेहरूको पहिचान गरेर नियन्त्रणमा लिदैं उग्र जातीय वा धार्मिक ध्रुवीकरण रोक्न सवै पक्ष एक हुनै पर्छ । प्रधानमन्त्रीले राजनीतिक संस्कारलाई कमजोर ठानेकै कारण उग्रवादीहरू विभिन्न बाहना बनाएर शान्ति सुरक्षामाथि चुनौति थपिरहेका छन् । यस सत्यलाई प्रधानमन्त्रीको दलले बुझे पनि प्रधानमन्त्रीले बुझ्न सकेको जस्तो आभाष हुन पाएको छैन । यस कारण पनि प्रधानमन्त्री जिम्मेवार बनेर असान्त तराईमा शन्ति र सदभाव निर्माण गर्नै पर्छ ।
