‘ऐंसेलुकाे झाङमुनि चिसाे पानी ! परबाट आयाे नरे थापा !!’
[ माैसमी हास्य-व्यंग्य ]
व्यंग्यनारान पाँडे
आज बिहानीपख पानी परेकाले जाडाे-जाडाे थियाे । पाँडे सँधै झैं बार्दलीमा बसेर जिल्लाकै एउटा दैनिक पत्रिका पढ्दैथ्याे हाेइन, ‘आज प्रहरी र प्रशासनका कुन-कुन अड्डा खुशी पार्ने खबर’-का गुइँठा कतिवटा छापिएका रहेछन् भनेर, सरसरी हेर्दैथ्याे । कताबाट हाे काेनि, निकै दिनपछि, ऐंसेलु झाँगे फुर्तिसाथ टुप्लुक्क आइपुग्याे र पाँडेकै छेउकाे कुर्सीमा बस्याे ।
पाँडेले त्यसकाे अनुहारतिर राम्ररी हेर्न पनि भ्याएकाे थिएन, त्यसले लगत्तै भट्याउन थाल्याे -” हत्तेरिका, हिजाे त मैले अत्ति नै हर्रामी च्वाँक भासन भनेछु नि । आज बेहान पाे मेरा पर्मुक-पर्मुक भूतपूर्बक कार्रेकर्ता भउँ न अब, ती क्या त – हर्रिराम पुरेत र तिनंकी पर्मानेन् लबर्नी मुसीकी मम्मी, रामनाम गाेतामे बाजे, बनजाँचे खँड्काे काइँलाे, भाम साइँलाे, कम्रेट कान्छा साउकाे राइस मेलकाे ठाकुरगन्जे बेहारी अप्रेटर लख्खन जादाै र उसकी सदाबाहार लबर्नी रामदुलारी, गल्गलेकाै बेहारी सब्जीवाल हरिकान्ते, पशु हटियाकाे गाेबर कन्टेक्ट्टरजिउ र अरू-अन्ने मेरा पुराना कम्रेटकालका आग्याँकारी झाेलेजिउहेरू थुप्रैले मेराे हिजाे बेल्काकाे भासनकाे पर्सम्सा गरे र तिनेरले आज बेहान चा-नस्ता खा’र बेकफास गरेकाे पाेइसाे पनि मेरै नाममा बाँकी लेखाएँ कैलु बेहारीकाे रेसुरेन दुकानमा क्या पाँडेजी, हर्कले पर्फुल्ल भ’र । आफूसँग त आज पनि सुकाे भा पाे क्याँस तिर्नु सानसँगले !”….
पाँडेले पनि त्यसकाे कुराले खुशी भएकाे भान पर्दै साेध्याे -“ओहाे …हिजाे कुन समाराेहमा त्यस्ताे भाषण गरेका थियाै त हाै ? त्याे चाहिँ जस्ताकाे त्यस्तै सुनाऊ न त, म पनि सुनुँ ।”
झाँगेले च्वाक्क मुख मिठ्याएपछि भन्याे-“हिँजाेकाे साँजमा आफ्नाे खल्तीमा सुकाे थेन र पढ्के दारुकाे तल्तलले हुरुक्क पाराे, हेर्ने हए । अनित्याँड, कुनै मुर्गाे फेला पर्ला कि भन्-र कैलुकाे दारु रेसुरेन हुटेलमा लुसुक्क पस्या त भेटिए मुर्गै-मुर्गा । ती झम्झम-झम्झम भइसक्या गाेल्डिन ट्याम परेछ, मलाई त बडादशीँ नै भइगाे नि ! भाेकाे पेटाँ, काेदाकाे हाे कि खुदीकाे हाे कि , ताे कडा दारुले मेरा पेटाँ झडपै गरा’छ क्या, बुज्याै त ? दिमाखकाे किडनी- लिबर सप्पैलाई पनि ल्वाँठ पारेछ । अनित्याँड म बाेल्न थालिगँछु पटटटट….भासनका भासन ! मेराे भासनका सभ्ध-सभ्धमा लाे’तन्त्र, गन्तन्त्रकाे ब्रतमान-भबिसेकाे रम्माइन नै लुकेर जिउँदिएछ क्या त पाँडेजी ! र, अन्तखेरी अैलेकाे रासाेपाकाे बालिन् सर्खारकाे धज्जी उडा’छ । उइले साई सर्खारका ट्याममा लागेकाे इमरज्याम्सीमा पनि एक दिन पअअअर झाेडा गामकाे समाराेमा बाैदलेकाे पच्छेमा आन्दाेलन खेल्ने झ्याक्नेहरलाई एस्सरी नै भासनले छ्याँस्या रिकटै छ अरे भन्-र साे-उक्त भासन सुन्न आका जन्तामद्देका पाकाहेरूले कैलुका रेसुरेनकाे बाइर साे-उक्त भासनकाे भ्याङकट राम्राे किटिसाइस पनि गरे अरे । तेस्ताे फ्यामाेस भासन पाे गरेछु हिजाे पनि मेैले ।”
यति बाेलेपछि उसले एकछिन् खाेक्याे र लामाे सास तान्दै गरेकाे इन्टरभलमा पाँडेले बाेल्न पायाे र उसलाई अझ उकास्दै भन्याे – “भाषणमा के भनेकाथ्याै त ? त्याे पाे सुन्न मन लाग्याे मलाई, त्याे चाहिँ सुनाऊ न भन्या मैले।”
त्यसले गजक्क पर्दै भट्यायाे-” इ क्या त, बिबर्णकाे भुइँका बान्दाबान्दै तपइँ पनि भ्यङकट इन्टेस्टेट भई पाे ग’छाै नि ? भनेसि एस व्याग्राउनले नइँ मेराे भाषणकाे इन्पाेरट्याँसकाे किल्लेर बइन दी गाे नि….! अनित्याँड, लु सिरेसली भ’र सुन, म भन्छु । मैले भासनमा भटटटट धार्राबाइक भनेकाे थें –
‘आदर्नीए उपश्रित पर्मुक अथितिजिउ, सबापति मउदए, हामेरकाे लाे’तान्तिक वेवस्ताका याेध्धा दाजु-भाइबैना, दिदी-बुइँनी, आम्मै-बाबै, मामा-माइजू ,भान्दाइ-भान्दिदी, बढाऊ-बढेमा, हामेरका माउ-पाटीका नेतागण-नेती गण्नी, सइद-सइद्नीका परिबार र नातागाेता, सिड्याे साहेबजिउ र ह्वाँका गाडजिउ, छेउछाउका मेराे भासन सुनिराख्या मिठाई दाेगाने-च्या दाेगाने, छिमेकी बेहार-बङगाल देसतिराड पाउकस्ट गरिकिन ठेलामा चाना-चटपटे बेत्तै हिन्नेदेखुन् हामेरका घर-घुर्यान सफा गरिदने किर्पालु कुँडाकर्कटे र फ्याँकेका पलास्टिस बटुलेर लग्दिएर हामेरका वरिपरि सफा-किलिन पार्दिने गरेका लाेग्नेजन-मैला जनाना मउदए-मउदएनीहेरू, पइँचालीस सालकाे भूइँकम्पकाे दिन धन्कुटाबड नून-तेल लिन गाका बखत धरानमा बास बसेकाे साउकाे घर भत्केर किचिँदा साेर्गे भका मेरा साख्खै बा र माओलाका हजुरबाऊ , बेला-बेलाका बस-गाडी दुर्घटना र एसिडेनमा परेर सइइ भएकाहेरू, लागू पदार्थ डग्स खा’र आफ्ना बाऊ-आम्मा गार्जेन्टहेरूलाई धुरुक्क रुवाउनेमा कीर्ति कमाएर लास्टाँ आफै लात्राकलुत्रुक भई जिब्राे टाेकेका कल्कलाउँदा आला-काँचा सइदहेरू, प्ररी र ससस्रसँगकाे मुटभेटमा मरेका चाेर-डाका र हत्यारा गिराेका नाइक र म्याम्बर सइदहेरू, याँ उपश्रित कैलु र उनकी धरम सिरमति र सालीजिउहेरू अनित्याँड झण्डेर, बिख सेबन गरेर र पेटाेल छर्केर आफै आगाे लगाई राजी-खुसीले आत्महत्ते गरी सइद भ’का मउदए समेत र अन्तखेरी भीरबड लडेर, खाेलाले बगा’र, हात्तीले किल्चेर, बाघले चिथाेरेर, साँपले टाेकेर , वनकाे च्याउ खा’र मरेका आधि-इत्तेधि सप्पैहेरू हाेल-टाेट्टलैलाई मेराे न्यानु अइबाधनसँघ सर्दान्जलि ! र, अनिखेर अन्तिमकाे लास्टाँ – अस्ति गएकाे गत मुङसिर त्याइस-चउबीस गते हामेरलाई हामेरका ‘बा’-बड झन्नै टुरा पार्न अलिकति नभ्याएसि धङ्स-बिधङ्समा याक्टिब हुँदाका छयात्तर जानाहेरूलाई पनि मैले नबिस्रेकै म्यासेच त जानुपर्छै त हाेला नि पनि फ्यास्स भन्न चान्छु र अस्ति उत्ताउल्लेर पैलेकाे लाेग्ने छाडेर पारिकाे बेहारतिरकाे दाँतकाे डाग्डर रामेसाेर काम्तीसित पाेइल गकी अनि काम्तीकी ब्याइते सिरमती पान्टा छउँडा-छउँडीकी आम्माले खेदाएसि पन्ध्र-साेल दिन्मा माइतमै आ’र बसेकी मुसीलाई पनि सम्बेद्ना पर्कट गर्दै…. अनित्याँड अैले हामेरू कैलु भइआकाे याे पर्सिद्द रेसुरेन दुकानमा कन्तरकिरियाका पुत्र-पुत्री गर्न भेला भकाछउँ र भाेलि आर्कै कता हुन्छम् भन्ने भबिसेक हामेरू कस्सैलाई पिटिस्सै मालम नभए नभओस् र भा पनि याे सङ्गीए लाेे’तान्त्रिक गन्तन्त्रलाई चइँ भिटामेन-सिटामेन माने उख्यान-टुक्काहेरू राम्राे मिस्कट ख्वई-प्याई राख्नु प्रदछ हामेरले । यइ धुर्ब सत्तेलाई डेल्लीका डेल्ल्ली कन्टनिउँली मनमा लिनु प्रदछ भन्दै म मेराे दुई सभ्धकाे याे बउधिग रा’नइतिक सम्भाेधन भाषन आजलाई याँहीँ फिलिस् ग्रदछु, जए काेरिआ देशकी भगाेति हा जा हान मुन माता । हस् त फेरि-पुनहँ अइबादन ।” …
यति भनेपछि उसले पक्क गाला फुलायाे र माटाेमा महिनाै गाडिएर खिया लागेकाे फलाम जस्ता दाँत देखाउँदै भन्याे-“लु कमेन गर हओ तपइँ नै – मैले अैलेकाे रा’नइतिक सिझ्यानलाई वान्फिट हुने भासन भनेछु कि भनेकाे रैनछु त ?”
पाँडे एकखेप जाेडसँग हाँस्याे र हाँस्तै भन्याे -“पक्काकाे भासन पाे गरेका रछाै त । उही उहिल्यैकाे पञ्चेती राजत्वकालका मेची अञ्चलाधीश तारा प्रसाद उपाधे र ताेरणबहादुर शाहका पालाकाे ‘ऐंसेलुकाे झाङमुनि चिसाे पानी, परबाट आयाे नरे थापा’ भने जस्ताे ! क्या गज्जब ! अहिले देश र देशबासी हिँडिरहेकाे ढाँचा-ढंगकाे भिडियाे भ्वाइस जस्ताे पाे लाग्याे यार मलाई त तिम्राे भाषण !”
उसले फेरि, जानी-नजानी मस्किएर, मुसुक्क हाँस्तै भन्याे -“अँ त ! अैले तेस्तै त चल्दैछ पारा –अँइसुलुकाे झ्याङमुन्तिर ठन्डा पानी हुनु अनित्याँड पराड नरे थाप्पा लख्खर-लख्खर आउनुकाे अर्थम्याटिक, अल्जेब्रा, साइँन्स र फिलाेसाेफी एज्जेक्ली एस्तै त हुन्छ त ! कुराकाे सिकेन्स र कन्जुगल मिलाउन त टाउकाकाे खाेबिल्टाेभित्रकाे किडनी र लिबर चइँ एब्दम मज्गुत चाइँछ, तपइँहर्काे जैसाे फिस्टे चराकाे जत्राे गिदीले काम काट्छ त अन्तखेरी ? उस्….!!”
