राजनीतिलेख

चन्द्रशम्शेरको बेलायत यात्रामा पनि धर्मको रक्षा

सुनिल उलक

११८ वर्षअगाडि बि.सं. १९६५ बैशाख २७ गतेका दिन नेपालका तत्कालिन प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेर बेलायत पुगेका थिए । यो यात्रा नेपालका प्रधानमन्त्रीको दोश्रो यात्रा थियो । यस अगाडि प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले बेलायत यात्रा गरेका थिए ।
जङ्गबहादुर तथा चन्द्रशम्शेर बेलायत भ्रमणमा पुग्ने दुइ राणा प्रधानमन्त्री थिए । हुन त श्री ३ वीरशमशेरले पनि बेलायत भ्रमणको चाह निकै राखेका थिए, तर बेलायत सरकारले त्यति प्राथमिकता नदिनु र तिब्बतसँग सिमा विवादका कारण सम्बन्धमा तिक्तता आएका कारण पनि वीरशमशेरको भ्रमण तय भइसके तापनि अन्तिम समयमा रद्द गरिएको थियो ।

जङ्ग र चन्द्रशमशेर दुबैको बेलायत भ्रमणले एउटा नयाँ आयाम थपेको थियो । बेलायतीहरुका अगाडि नेपाल पनि विकसित राष्ट्रको आभास दिलाएर आएका थिए । दुबै यात्रामा दुबै प्रधानमन्त्रीले फ्रान्सलाई पनि प्राथमिकतामा राखेको पाउँछौँ । जङ्गबहादुरले पनि फ्रान्सका राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसंग भेटेका थिए । लुइस, फ्रान्स क्रान्तिका अगुवा नेपोलियनका भतिजा अर्थात् भाइका छोरा थिए । यसको ५८ वर्ष बेलायत भ्रमणमा पुगेका भतिजा चन्द्रशम्शेरले पनि फ्रान्सका राष्ट्रपति आर्मंड फेलियरलाई भेटेका थिए । दुईको भेट फ्रान्सेली बन्दरगाहको शहर मार्सिलीमा भएको थियो । श्री ३ चन्द्रको पानीजहाज १९६५ बैशाख २५ को दिन फ्रान्सको बन्दरगाह मार्सिलीमा अडिएको थियो, जहाँ फ्रान्सका राष्ट्रपतिले श्री ३ लाई भेट्न आएका थिए । दुबैको भेट पानीजहाजमा नै भएको थियो ।

चन्द्रशम्शेरले पनि आफ्नो बेलायत भ्रमणलाई निजी भ्रमण भनिए पनि बेलायत सरकारको विशेष निमन्त्रणा तथा सम्पूर्ण खर्च बेलायती सरकारले नै बहन गरिएको थियो । नेपाल एक स्वतन्त्र स्वाधिन राष्ट्रको प्रतिनिधीको रुपमा बेलायत भ्रमण गर्न लागेको हुँदा आफ्नो सत्कार तथा अन्य प्रबन्ध स्वतन्त्र राज्य प्रमुखको सरह मिलाउन भनेका थिए । साथै छलफलका मुख्य एजेन्डाहरु नेपालमा नै तय गरिएको थियो ।
घोडेजात्राको केही दिनमा १९६४ चैत्र २५ मा चन्द्रशम्शेर बेलायतको यात्राका लागि काठमाडौंबाट निस्केका थिए । उनको टोलीमा परिवारका सदस्य तथा उच्च पदस्थहरु गरि २२ जना थिए भने १९ जना नौकरचाकरहरु पनि थिए । भाइ कमाण्डिङ जनरल जुद्धशम्शेर र भतिजा कमाण्डिङ जनरल रुद्रशम्शेर, छोराहरु जनरल मोहनशम्शेर, लेफ्टिनेन्ट जनरल बबरशम्शेर, लेफ्टिनेन्ट जनरल केशरशम्शेर, मेजर जनरल सिंहशम्शेर थिए । भतिजो मेजर जनरल हिरण्य शम्शेर, ज्वाइँ कर्णेल राजा जय पृथ्वीबहादुर सिंह, कर्णेल किशोर नरसिंह, ब्रिगेडियर कर्णेल डिल्ली शम्शेर थापा, कर्णेल दलबहादुर बस्न्यात, लेफ्टिनेन्ट कर्णेल विष्णु कुमार पाण्डे, लेफ्टिनेन्ट कर्णेल चन्द्रजङ्ग थापा, निजी सचिवको रुपमा सरदार मरिचीमान सिंह (गणेशमानसिंहका बाजे) तथा सहायक निजी सचिवका रुपमा सरदार शमशेर मानलाई पनि लगेका थिए ।
यसबाहेक मेजर गंगाबहादुर बस्न्यात, क्याप्टेन नरनारायण शाही, सुब्बा गोविन्द प्रसाद ढुङ्गाना, डाक्टरका रुपमा रत्नदास बैद्य, दरबार हाइस्कुलका प्रिन्सिपल बटुकृष्ण मैत्रेय, पण्डित काशीनाथ आचार्य दीक्षित, भान्छे बाहुनहरू हरिप्रसाद उपाध्याय, गौरीकान्त उपाध्याय, कमलाकान्त उपाध्याय, श्रीकान्त उपाध्याय, फोटोग्राफर दिर्घमान चित्रकार तथा जोगमान चित्रकार, र अन्यमा जीतमान, जयमान सिंह, धनकृष्ण, रत्नबहादुर, हरिशरण, कालु, हर्कनरसिंह, जनकलाल गरि नौकरचाकरहरु सहित १९ जना थिए । यो टोली तस्बिरमा पनि देख्न सकिन्छ ।

श्री ३ को टोली १९६५ बैशाख २ गते बम्बइ पुगेका थिए । मालावर प्वाइन्टमा रहेको गवर्नरको भिलेजमा चार दिन बिताएर बेलायतको यात्राको लागि प्रस्थान गरेका थिए । बैशाख ६ गते बिदाइको समय बम्बइमा उनलाई १९ तोपको सलामी दिइएको थियो । बम्बइबाट उनको यात्रामा बेलायत सरकारको प्रतिनिधिका रुपमा नेपालका लागि बेलायती रेसिडेन्ट मेजर जे मानर्स स्मीथ तथा फोर्थ गोर्खा राइफलका लेफ्टिनेन्ट माक्लिवड विलि श्री ३ चन्द्रको साथ बेलायत गएका थिए । यस बाहेक फिफ्थ गोर्खा राइफल सेकेण्ड बटालियनका सुवेदार मेजर अमरसिंह थापा र दुइ अर्दलीहरु पनि थिए ।

बम्बइमा उनको बेलायत यात्राका लागि तैयार पानीजहाज ‘सिटी अफ भियना’मा बसेर भारतीय भूमीबाट बिदाइ लिएका थिए । पानीजहाजमा पानीजहाजका कर्मचारी बाहेक श्री ३ चन्द्रसहित विशिष्टहरु २२ जना, चन्द्रशम्शेरका सहयोगीहरु १९ जना, बेलायती रेसिडेन्ट मेजर मानर्सका साथ अन्य १४ जना पनि थिए ।

पानीजहाज बैशाख १७ गते स्वेज नहरमा पुगेको थियो । स्वेज नहरमा केही समय पानीजहाज रोकिँदा चन्द्रशम्शेर समुन्द्र किनारमा केही समय घुमेका पनि थिए । त्यहाँबाट पानीजहाज माल्टाका लागि अगाडि बढेको थियो । माल्टामा ड्युक अफ कनाँटले भव्य स्वागत गरेका थिए ।

जङ्गबहादुर र चन्द्रशम्शेरको बेलायत भ्रमणमा अर्को एक समानता थियो । दुबैले गाईखाने विदेशीले छोएको पानी खान हुन्न भन्दै गाग्रीमा पानी पनि लगेका थिए । खाना पकाउने भान्सेहरु पनि यतैबाट लगेका थिए । जब गाग्रीमा भएको पानी सकिन्थ्यो । बन्दरगाहमा पानीजहाज रोकिँदा पानी भर्नका लागि त्यहाँ रहेको धारा रोजिन्थ्यो । सबैभन्दा पहिला पण्डित काशीनाथले धारामा पूजा गरेर शुद्ध गर्दथे । त्यसपछि बल्ल पानी भरिन्थ्यो । पानीको कमी भएर खाना पकाउन मिलेन भने च्युरा खान्थे । यसरी विदेशी भूमीमा पनि धर्मको रक्षार्थ निकै सुझबुझका साथ लागेका थिए ।

जब चन्द्रशम्शरे तथा वहाँको साथ पुगेका टोली वैशाख २५ गते पानीजहाजमा मार्सिली पुगे, पानीजहाजको यात्रा यहाँसम्म मात्र थियो । यसैले मार्सिलीमा पानीजहाजबाट सामान सबै निकालेर फेरि कालाइसको लागि रेलमा जानु थियो । त्यसपछि फेरि बेलायतको डोभर पुग्नु थियो ।
यहाँ राखिएको तस्बिर फ्रान्सको बन्दरगाह मार्सिलीको हो । मार्सिलीमा चन्द्रशम्शेरका सामानहरु पानी जहाजबाट निकाल्दै गर्दा पानीले भरिएका गाग्रीहरु निकाल्दै गर्दा फ्रान्सेलीहरु दङ्ग परेर हेरिरहेको देख्न सकिन्छ । साथमा अन्य नेपाली कामदारहरु सामान निकाल्दै गरेको पनि तस्बिरमा देख्न सकिन्छ ।

चन्द्रशम्शेर १९६५ बैशाख २७ मा बेलायत पुगेका थिए । बेलायतमा राजा एडवर्ड सातौँले श्री ३ चन्द्रशम्शेर तथा नेपाली टोलीको भव्य स्वागत गरेका थिए । बेलायतमा रहँदा उनको हिरामोती जडित भव्य पोशाकमा उनको बयान प्राय त्यहाँका पत्रपत्रिकामा दिनहुँजसो छापिन्थे । ती पत्रिकाहरुको समाचारले श्री ३ चन्द्रशम्शेर निकै धनी देश नेपालबाट बेलायत भ्रमणका लागि आएको भन्ने बुझाउँथ्यो । आम नेपालीको अवस्था नेपालमा कस्तो छ भन्ने बेलायतीलाई थाहा थिएन । तर चन्द्रशम्शेरको रोव, रवाफ र पहिरन देखेर नेपाल भन्ने निकै धनी देश भन्ने बुझेका थिए ।

त्यस समय श्री ३ चन्द्रका पुराना साथी भारतमा भाइसराय रहेका लर्ड कर्जन अक्सफोर्ड विश्वविद्यालयका कुलपति थिए । यही कारणले श्री ३ चन्द्रलाई सो भ्रमणको समय अक्सफोर्ड विश्वविद्यालयले डाक्टर अफ सिभिल ल को अनरेरी डिग्रीको उपाधि पनि दिएको थियो ।
बेलायत यात्राको अन्तिम दिन साउन ७ गते भ्रमण टोलीलाई बेलायती राजा र रानीका तर्फबाट बर्मिंघम दरवारमा भव्य कार्यक्रमका साथ बिदाइ गरिएको थियो । फर्कदा चन्द्रशम्शेर पेरिस गएका थिए, जहाँ उनले नेपोलियनको समाधिमा फूल चढाएर श्रद्धाञ्जली ब्यक्त गरेका थिए । मिलान पुग्दा त्यहाँको एक चर्चको पनि भ्रमण गरे । रोमको यात्रामा सेन्ट पिटर्स र रोमन सभ्यताको प्रतिक रहेको भव्य कोलोजियम पनि भ्रमण गरेका थिए । रोमनकालको भव्य थियटरका रुपमा रहेको कोलोजियम भग्नावशेषका रुपमा रहेको छ । त्यहाँबाट नेपाली टोली इटालीको बन्दरगाह रहेको शहर नेपल्स पुगे । जहाँ नेपाली टोलीको प्रतिक्षामा पानीजहाज ‘सिटी अफ भियना’ बसिरहेको थियो । यसरी पून समुन्द्री यात्रा हुँदै बम्बइका लागि निस्किए । तर अन्तिम समयमा यात्रा परिवर्तन भयो । पानीजहाज बम्बइ नगएर तमिलनाडुको बन्दरगाह तुतिकोरिन लगियो । जहाँबाट सानो पानीजहाजमा बसेर रामेश्वरमको यात्राका लागि निस्किए ।

रामेश्वरम हिन्दुहरुको प्रमुख तीर्थस्थल भएको हुँदा त्यहाँ यात्रामा गएका सबै टोलीले हिन्दु विधिअनुसार बेलायती भ्रमणमा लागेको छोइछिटो सबै पखालेर शुद्धिकरण गरे । रामेश्वरमबाट सबै टोली रेलमा चढेर रक्सौल आइपुगे । साढे चार महिना लामो यात्रा समाप्त गर्दै भदौ १२ गते टोलीका सम्पूर्ण सदस्य सकुशल काठमाडौं आइपुगेका थिए ।
घटना र विचारबाट