राजनीति सही मार्गमा ल्याऊ
सम्पादकीय
निर्वाचन अगाडि प्रतिष्पर्धा गर्दा दलहरूले नेपाली अर्थतन्त्र तुरून्त सुधार गर्ने संकल्प लिएर आएका थिए तर संकटको डिलमा पुगिसकेको अर्थतन्त्र सही ठाउँमा ल्याउने साझा संल्कल्पका साथ निर्वाचनपछि सवै दल एक ठाउँमा हुनु पर्ने हुन सकेको छैन । नेपालको अर्थतन्त्रका लागि मेरूदण्ड मानिएको राजश्व संकलन खर्चको अनुपातमा तीन गुना कम जम्मा भइरहेको दृष्यले पनि अर्थ व्यवस्था संकटको सामना गरिरहेको प्रष्ट हुन्छ । नेतृत्व लिइरहेको सरकार रोजगारी व्यवस्थाको धक्कु लगाइरहेको छ, तर सक्कली नक्कली पुगनपुग तीन करोडमध्ये घटीमा सत्तरी लाख उर्जाशील नेपाली विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् ।
त्यति मात्र होइन कुम्लोकुटुरो बोकेर विदेश पलायन हुनेहरुको लस्कर दिनप्रतिदिन तीव्र गतिमा बढ्दो छ । सरकार स्वयम श्रम तालिम केन्द्र खोलेर स्वदेशी जनशक्ति विदेशिउन भन्नेमा जुटेको छ । यता कम हुँदै गएको नेपाली जवसंख्यालाई विदेशी जनशक्ति अतिक्रमणको प्रकोप बढेर भूगोल टुक्रने टुक्र्याउने खतराको घण्टी बज्न थालिसकेको छ । बढ्दो धार्मिक, सामाजिक र साँस्कृतिक प्रदुषणले यो राष्ट्रलाई अन्तराष्ट्रिय सीमारेखाभित्रको माटोमा मात्र सीमित तुल्याई कालान्तरमा नेपाली जातीय मौलिकता नै लोप गराउने अंदरुनी षड्यन्त्रहरु सक्रिय बन्दै गएका छन् । हिजोका सरकारले देशको सही वास्ता गरेनन् भनेर आज नयाँ भनिएको दललाई उल्लेख्य बहुमतका साथ देश जिम्मा लगाइएको भए पनि हिजोकै शैली समाउने संकेत आजको सरकारले छोड्दै छ ।
लामो समयदेखि भ्रष्टाचारको नङ्ग्रामा देश जकडिसकेको छ । पुराना राजनीतिक दलको विकल्पका रूपमा उदाएका र नागरिकले भरपुर विश्वास राखेका बैकल्पिक भनिएका दलहरू पनि सत्ता भोगका लागि मन्त्री खाने खुवाउने खेलका खेलाडी बन्ने हुन कि भन्ने आशंका जनिमरहेको छ । राज्यका हरेक निकायमा आफ्नै मान्छे हुनु पर्छ भन्ने सोच हिजोका सत्तासिनसित पनि थियो आजका सत्ताधारीले त्यही बाटो समाएर विधि र प्रकृया छल्दै छाली—कुराउनीको भागबण्डामा राज्याधिकार बाँडफाड गर्न पुगेकाहरु नै लाम लागिरहेको आभाष हुँदै छ । भाषण बासेका भरमा देशमा समृद्धि आउन सक्दैन भन्ने स्वयम भाषण बास्नेहरुलाई थाहा नभएको त होइन ।
तर, सिंहदरवारको पातानुकूल कोठामा नरम गलैंचा टेकेर मुलायम कुर्सीमा बस्न पुगेकाहरुले हाँक्ने गरेका समृद्धिका भाषणमा तिनले भोगिरहेका सुखकर मस्तीबाहेक महंगी, भ्रष्टाचार, अविकास र नैराश्यको प्रकोप हिजोदेखि भोगिरहेका जनताका निश्छल आधारभूत आवश्यकता आज पनि सन्निहित हुन सकिरहेका छैनन् । कालो बजार, मिलावटखोरी, सामाजिक अनुशासनहिनता, दण्डहिनता आदि जस्ता विधिको शासनको भावभूमिलाई नै विकराल रुपमा प्रस्तुत गर्ने जनघाती कृयाकलाप बढिरहेका छन् । हिजो पनि यस्तै, आज पनि उस्तै यही शैलीको शासकीय लापर्वाहीको थिचोमिचो निरन्तर राखिराख्ने हो भने विकल्पको भाषण खोक्नेको पनि विकल्प खोज्नु पर्ने समय आउन सक्छ । वर्तमान सरकार विगतका विकृतिको निरन्तरताका लागि मात्र होइन, सधैंका लागि स्थिर र विकासको ज्वारभाटा सिर्जना गर्ने सरकार भन्नेहरू कता हराए ? जहाँ सर्वसाधारण नागरिकले आत्मघाती सहनशीलता कायम राख्ने गल्ती सच्याएर विधि र प्रकृया सहित नयाँ युगको आँधिवेरी सिर्जनाका लागि मौनता साचिरहेका छन् ।
हिजोका ढाँटछल प्रवृत्ति आज पनि निरन्तर राखेर सत्तामा भोग विलास पाल्ने दुस्साहस कुनै पनि राजनीतिक दलले नपाले हुन्छ, किनकी देश विगारेर जनताको भलाइ छैन भन्ने सत्य सवै नागरिकले बुझिसकेका छन् । त्यसैले नेपाली राजनीतिक दलहरू अब त सुध्रने बाटो रोज । देशका सवै समस्या मिलेर साझा रूपमा समाधान गरी संकट मुक्त देश बनाऔं । कोही बोलेको बोलै त कोही नबोली जनभावना विपरित चल्ने राजनीति अब यस देशका लागि जरूरी छैन । सत्तासिन हुनेहरूले हिजोका गल्ति आज पनि निरन्तर अगाडि बढाए आजका नयाँको हालत भोली हिजोकै पुराना जस्तै हुन्छ । बेलैमा सोचेर राजनीति सही मार्गमा ल्याऊ ।
