राजनीतिलेख

राजा महेन्द्रले यसरी गरे चुनावको घोषणा

६८ वर्षअगाडि आजकै दिन वि.सं. २०१५ जेठ २ गते राजा महेन्द्रले सुवर्ण शम्शेरको अध्यक्षतामा मन्त्रिपरिषद गठन गरि सोही दिन आमचुनाव गराउने जिम्मेवारीसमेत दिएका थिए । यसअगाडि २००७ सालदेखि नै बनेका प्रत्येक प्रधानमन्त्रीहरूले आमचुनाव गराउने बचन दिन्थे, राजनैतिक एजेन्डामा राख्दथे तर चुनाव भने गर्न चाहेनन् ।

सुवर्ण शमशेर, राणा खलककै भए पनि सी क्लासका राणाको दर्जा दिएर सत्ताबाट निस्काशित परिवारबाट थिए । वि.सं. १९९० चैत ५ गते तत्कालिन श्री ३ जुद्धशमशेरले आफ्नो निकट पनि सत्तामा पुऱ्याउने मनसायले श्रेणी विभाजन गरि सि क्लासका राणाहरुलाई निस्काशन गरेका थिए । जसमा केहीले राजधानीबाहिर पठाए भने केहीलाई देशबाहिर नै पठाए ।

यसरी भारत निस्काशनमा परेका सुवर्ण शमशेर भने श्री ३ भीम शमशेरको तामाङ्नी रानी सीता महारानीका छोरा हिरण्य शमशेरका छोरा थिए । जो भारतमा बसेर राणा बिरोधी आन्दोलनमा लागे । साथमा आबश्यक आर्थिक सहयोग पनि गरिरहे । अर्का राणा विरोधी महावीर शमशेर राणा पनि सोही मितिमा जुद्धशमशेरले निस्काशन गरेका भीमशमशेरकै अर्का रानीतर्फबाट जन्मेका छोरा प्रकाश शमशेरका छोरा थिए ।

यी दुर्ई राणाहरु भारतको कलकत्तामा बसेर राणाविरोधी दलहरुसंग आवद्ध भएर सक्रिय भएका थिए । सुवर्ण शमशेरको दल नेपाल प्रजातन्त्र कांग्रेस थियो । जसको झण्डा नै आजको कांग्रेसको झण्डा हो । यसमा रहेको चार तारा नेपाल प्रजातन्त्र कांग्रेसका चार हस्ती सुवर्ण, महावीर, महेन्द्र विक्रम शाह तथा सूर्यप्रसाद उपाध्यायको परिचायक हो भन्ने गरिन्छ ।

चुनावको लागि आन्दोलन

बारम्बार चुनावको तिथिमिति नतोकिनु वा चुनाव गराउँछु भनेर सरकार बनाउनेहरुले पनि चुनाव गर्न नसकेपछि नेपाली कांग्रेसले अन्य दलहरुसंग मिलेर प्रजातान्त्रिक मोर्चा बनाएको थियो । काठमाडौंमा बिपी कोइरालाको नेपाली कांग्रेस, डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय कांग्रेस र भद्रकाली मिश्रको नेपाल प्रजा परिषद मिलेर २०१४ साउन १४ गते प्रजातान्त्रिक मोर्चा बनाएको थियो । यस मोर्चाको मूल उद्देश्य नै आमचुनाव गराउने थियो । मोर्चाको गोप्य बैठक वीरगंजको हिमालय होटलमा डाकिए पनि दिल्लीरमण र भद्रकाली मिश्र नपुग्दा बिपीले आफ्नो पक्षधरहरु मात्रै जम्मा गरेर असोजको २१ र २२ मा बैठक गरे । यहिं बैठकले मंसिर २२ देखि भद्र अवज्ञा आन्दोलनको घोषणा गऱ्यो ।

निर्धारित मितिमा भद्र अवज्ञा आन्दोलनको तैयारी भयो । वीरगंजको हिमालय होटलको बैठकमा नपुगे पनि दिल्लीरमण र भद्रकाली मिश्रले बिपीको चाहनाबमोजिमको आन्दोलनमा साथ दिन पुगेका थिए । बिहानै दुबै कांग्रेसका कार्यकर्ता तथा मिश्रको नेपाल प्रजापरिषदका कार्यकर्ताहरु सिंहदरबारको पश्चिम ढोका प्रवेश रोक्न पुगिहाले । कोही चारखाल अड्डाको मूलढोका अगाडि पुगेका थिए ।

आन्दोलन रोक्न सरकारले प्रहरी बोलाएर वारुणयन्त्रको दमकलबाट पानीको फोहोरा हानेर आन्दोलनकारीहरुलाई तितरबितर पारे, केहीलाई समाए पनि । यसरी चुनावका लागि आन्दोलन नै हुन थालेपछि राजा महेन्द्रलाई पनि एकपटक सोच्नैपर्ने आवश्यकता भयो । राजा महेन्द्रले २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गरेका थिए । सो दिन राजा महेन्द्रले बक्सेको शाही घोषणामा “आम चुनाव गराउनलाई देहायमा लेखिएका ब्यक्तिहरुको मन्त्रिपरिषद गरिबक्सेका छौँ” भनेका थिए ।

राजा महेन्द्रले चुनावको घोषणा गर्नुअगाडि सल्लाहकार सभाका केही सदस्यहरुसंग नेपाली कांग्रेसको चुनावी परिणामको आँकलन गर्न लगाए । ती सल्लाहकारहरुले चुनाव भइहाले पनि नेपाली कांग्रेसले खासै विजय नगर्ने मुश्किलले २०-२२ सिटमा मात्रै विजय गर्न सक्ने भनेपछि राजा महेन्द्र चुनावको तैयारीका लागि निर्देशन दिए । जसअनुसार २०१५ असार २० निर्वाचन आयोगको सल्लाह लिइ जनप्रतिनिधित्व नियमावली २०१५ घोषणा भयो ।

यसरी सम्पूर्ण तैयारी शुरु भएपछि २०१५ कार्तिक २४ मा निर्वाचन आयोगको सूचना नं १ जारी भयो । जसअनुसार जुम्ला जिल्लाको क्षेत्र नं ७३ जुम्ला उत्तर र क्षेत्र नं ७४ जुम्ला दक्षिण बाहेक १०७ निर्वाचन क्षेत्रहरुको निर्वाचनको सूचना जारी भयो । कार्तिक २४ देखि मंसिर २३ सम्म नोमिनेशन दाखिल गर्ने, मंसिर २४ देखि ३० सम्म नोमिनेशन जाँच गर्ने, नोमिनशन जाँच गरेको तेश्रो दिनमा नाम फिर्ता लिने । जुम्ला उत्तर तथा दक्षिणको भने चैत्र ५ र २१ गते चुनावको घोषणा भएको थियो ।

२०१५ मंसिर ११ गते राजा महेन्द्रले चुनावको घोषणाका लागि सल्लाहकारको सभा बोलाइ २०१५ मंसिर १५ गते राजा महेन्द्रले शाही सम्बोधनबाट निर्वाचनको घोषणा भयो २०१५ सालको फागुन ७ गते चुनाव गर्ने घोषणा गरेका थिए । चुनावको तिथिमिति नै तोकिए पछि राजनैतिक पार्टीहरुको चुनावी चहलपहल शुरु भयो । राजा महेन्द्र पनि चुनावमा प्रमुख दलका नेतालाई कसरी हराउने भन्ने दाउमा लागेका थिए । प्रमुख नेताहरु उठेको स्थानमा गोप्यरुमा राजा महेन्द्रले पनि विभिन्न ब्यक्तिहरुलाई उठाएका थिए, तर यसरी उठाइएका कोही पनि जित्न सकेनन् ।

तत्कालिन समयमा १०९ निर्वाचन क्षेत्र तोकिएका थिए । प्रत्येक निर्वाचन क्षेत्रमा एक खरदार दर्जाको निर्वाचन अधिकृत तोकिएको थियो । साथै जसमा ३१ जनालाई जिल्ला निर्वाचन अधिकृत तथा चार जना जोनल निर्वाचन अफिसर तोकिएको थियो । त्यतिबेला चुनावमा उठ्नको लागि केवल २५० रुपैया धरौटी राख्नुपर्दथ्यो । चुनावका लागि प्रत्येक उम्मेद्वारले बढिमा ५००० सम्म खर्च गर्न पाउने नियम बनाइएको थियो । १०९ प्रतिनिधिसभाको चुनावका लागि निर्धारित मिति २०१५ फागुन ७ गते चुनाव भएको थियो । यसमा झापाको चुनाव चैत १३ गते, जुम्ला दक्षिण र उत्तरको चैत ५ र २१ गते भएको थियो । चुनावको नतिजा भने २०१६ बैशाख २८ गते प्रकाशित गरिएको थियो ।