राजनीतिलेख

‘पत्रकार गर्ने’ ऐंसेलु झाँगेकाे ‘न्युज’ लेख्ने कला !                

 

 ‘व्यंग्यनारान पाँडे’ 

ऐंसेलु झाँगेले “अब मैले पनि ‘पत्रकार गर्न’ थालें नि !”- भन्दै हिंड्ने गरेकाे क्रममा र पाँडेकाे घरमा पनि लुब्रुक-लुब्रुक आउने गरेकै बेलादेखि बाेक्ने गरेकाे क्यानभसकाे खराने झाेला बाेकेर आज पनि आइपुग्याे । र, पाँडेकाे  नजिक आउँदा आउँदै भन्याे -“तपइँले मलाई नपत्या’र अस्तिकाे खेप म साेएम् तपइँकाँ आइकिन ‘पत्रकार गर्नेे’ सिदान्तकाे कुराे छ्यास्स निस्काउनासाथ कस्ताे उजाति गरेका थेउ ? आज्ज चइँ मैले हामेरू ‘पत्रकार गर्ने’-हर्काे ब्रतमान समाजका ज्यान्जी चाेलाका भाइ-बैनाले थापित गरेकाे सिदान्तकाे रिट्ठाे नबिराई फ्लाेअप गरेर त्याडी पारेकाे निउज सुनाउन आइराँछु ।

याे सुनाउन आउँदाखेरी इ याे एक पागिट नबाब ब्रानकाे फस किलास,अति टेसिलाे र पिउर अर्गानिक खैनी पनि लेराइदिया छु । र, आज्ज चइँ तपइँ नरिसाइकिन सिरेसली भ-र सुनिदिन्छाै भने सुनाउँ र सुनिदिँदाैन भने भने पनि काेइ बात छैन भन्-र घुर्ने इस्टम्याट गरेर आइरछु । कसाे भन्छाै तपइँ ?”

पाँडे भर्खर खाना खाएर बरण्डामा सुस्ताइरहेकाे थियाे, उसकाे यस्ताे प्रस्तुती सुनेर एक प्याराग्राफ जति हाँस्याे र भन्याे  “सुनाऊ न सुनाऊ । न्यूज किन नसुन्नु ? गज्जबले सुन्छु ।”

उसले झाेला काखतिर घुमाउँदै गन्गनायाे -” हाेइन आच्कालका मान्छेलाई  इन्टरन्याटकाे फेसुकसँग खेल्दै निउज जान्ने हर्रामी कुलत लागिरछ कि, अन्तखेरि बा त – ‘सुन्दिन हए तेसरी लेख्या निउज, इन्टरन्याटे ताजा निउज कस्ता-कस्ता च्वाँक हुन्छन् ‘ भन्लाउ भन्ने ससपेट लागेर साेदेकाे नि । तर तपइँ मैले कथेर त्याडी पारेकाे इन्टरन्यनटमा आउनेभन्दा ताजा निउज-म्याटर मुन परा’र  सुन्छउ नै सुन्छउ भन्नेमा म मनपेटले चइँ सिउरली नै थेँ क्या !”

यसरी बर्बराउँदे झाेलाबाट एउटा दुईपन्ने कागज निकालेर भन्याे -” लु ताे माेबिल चइँ ट्याप्प बन् गर । बी-बीचाँ रिङ बजेर डिसटप गर्छ ताे पढ्केले । माेबिल भन्ने जिनिस पनि फताउराे पाे हुन्छ त, काेसित के गम्बीर बात हुँदैछ भन्ने ताे साँढेले नबुजेर कैलेकाइँ त डिस्टप गरेर बिरक्तै पार्छ भन्ने मेराे अन्नुभउ छ !”…

उसले कागजमा आँखा दाैडायाै,  एकछिन् मुख बजाएन र लामाे सास तानेर छाेडेपछि भन्याे -“लु सुन । याे निउज अस्तिका दिन पअअअअर केचनाकाे अलि ओर्तिर काेनि के भन्ने गाम-टाेलकाे पराइमेरी इस्कुलमा सन्पन्न समाराेकाे हाे । एसमा लेखेकाे जस्ताकाे तेस्तै पढेर याे छापिनुभन्दा पैलीबड लिक् गर्नु ‘पत्रकार गर्ने’  सिदान्तकाे एगेनेस हुन्छ । तेसाे भा’हुनाले एसमा के लेखिया छ साेकाे कर्जीमर्जी ठ्याक-ठ्याक बताउँछु, तेसबड तपइँलाई ऐना जैसै छर्लङ्ग भइजान्छ ।…ताे समाराे एउडा सकारी सङ्सथाकाे बार्सिकी थ्याे । सबापति… हाेइन, तेस लाेकलका सब्से ठूला  जिदार कम्रेट काइँला माजनकी जेठी सिरमति मैनाकी ठूल्यामा भन्-र  चिनिने रत्नमयाँ सबापतिनी थिन् भने पर्मुक अथिति उनै कम्रेट काइँला माजन सिरि डिघम्भर पर्सात मइदालीले पाइरथे  ।

म ऐसेलु झ्याँगे साेयम् र थानीय गाम्पाल्काका एकजाना कर्मचारी, छेउकै उसै इस्कुलका हेट सर र अलि पर्तिरकाे बाेडिङकी एउडी साएक टिच्चरनीले बिसिस्ट अथितिकाे आसन ग्रण गरेका थिम् । स्वागत भाषन हामेरका इउबा फाेसका ज्यान्जी कम्रेट हर्सबादुरले गरेका थिए भने समाराेहका लागि हामेरू ठूलाठालाले आसन ग्रण गर्ने र तेस समाराेमा हाँकिने भासन सुन्ने  आबा न चाबाका झिनाझाँकडा हाभीजाभी सप्पैहेरू बस्ने ब्रेन्ची तेइ इस्कुल बड बाेक्ने-ओसार्ने काम चइँ तेसै इस्कुमा पढ्ने इस्टुड्यान-इस्टुड्यान्नी पाटीले गरेका थे । ती कुर्सी-ब्रेन्ची मजा…ले मिलाउने काम चइँ सबापतिनी भकी रत्नमयाँका माइती गाम पिर्थिबीन’रतिराड आगमन भका उसै-उसै राम्रा, गाेराखिला र फुर्तीफार्ती जमान केटीहर्ले गरेका थे, हेर्ने हए ।  बी-बिचाँ पानी माङ्नेलाई पानीकाे सेबा पुगाउन उछिन्-पाछिन् गर्नेहरू थुप्रै थे । माएक अप्रेटरिङमा दाेडा डढेका ठुटा जैसा काला-स्वाँठ झ्याप्ले इण्डेन केटा थे । सब्से इन्पाेरट्यानमा थ्याे समाराे फिनिसिन लाग्दा भ’काे च्या-नस्ता आइटीमकाे पाेरगाम । चाना-मट्टर र नयाँ-नुतन आलुकाे लदबदे झाेलाइलाे सभ्जी, गाेल्भेँडा र प्याज मिस्कट पि…राे अचार, काँक्रा र मूलाका चाना एक भाँडाे राखिएकाे दिर्स्से झन लाेभाइलाे थ्याे । पुरी खानेलाई पापान्टा पुरी र च्यूरा खानेलाई भुज्या सराेबरी मिस्कट च्यूरा अनि तेसपछि बाक्लाे दूदसरिकाे च्या टन्न थ्याे ।”….

उसले उसकाे हातकाे कागज हेर्दै भन्दै गयाे -“साे-उक्त समाराेमा भासन भन्नेहर्काे नामेराेल लिस्टी मैले अथ्बा ऐंसेलु झाँगेले  नै ख्यार-ख्यार लेखेर दिया हूँ केरे । र, तेस अन्सार भासन भन्नेहेरूबड  आउँदाे-अगामी एलेक्सिनका र  भाेटका कुरा टन्नै उठ्नु साभाभिकै थ्याे ।  काङरेस, राप्पपा, रासाेपा र माउबादीलाई जिताउने कुरा मात्तै पनि जम्मा  भासनमा कतिपएले  भनेका थे  रभापनि टाेट्टलिङमा धेरैपएले चाइँने हामेरकै केप्पी बाकाे कडिएल कन्टाेलकाे पाटी एम्मालेलाई जिता’र फेरि-पुनहँ गन्तन्त्र बल्याे बनाउने कुरा नै भनेका थे भन्ने सुत्रकाे दाबी छ । किनभनेरभन्देखुन्, भासनकाे पालाे आकै ट्याममा मलाई दुईखेप  लगालग थामिनसक्नु लेटिन लागाे र  खाेला किनारमा जान बाद्दे भकाले म आफैले सुन्न पिटिस्सै नै पाइन ।”….

यति भनेपछि उसले कागज पट्याएर झाेलामा काेच्याे अनि झाेलाकाे खकन भिर्दै भन्याे-“लु अब मैले एस निउजकाे गुदी-गुदीबड एउडा रिठ्ठाे नछाडी हाेल डिट्टेल इन्फाेरमिसन हुने गरी भनिहालें ।  म समाराेकाे रिपाेटिन गरेर निउज उठाउने ‘पत्रकार गर्न’ कति एसपाेट भएछु भन्ने, ताे मेराे काेसेलीकाे नबाब छाप  खैनी ओठाँ चेपेर,  तपइँ आफ्फै मुल्लेन्किन गर्नु । पछि-पछि आउँदाखेरी साे-उक्त पर्तिकिर्या सुनम्ला  ! मलाई चइँ आर्काे ठामकाे निउज रिपाेटिनमा जान ढिला भइगाे र म तपइँबड फुटें पनि ।”-भन्दै र खुशी हुँदै ऊ त हिंडी पाे गाे गाँठे  ! ….