समाचार

लेखक साहित्यिक पत्रकार अच्युतरमण अधिकारीको निधन

भद्रपुर । नेपाली भाषा साहित्यको समीक्षालेखन, समालोचना लेखन र साहित्यिक पत्रकारितामा ख्यातिप्राप्त साहित्यकार तथा पत्रकार अच्युतरमण अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको छ ।

केही वर्षयता अल्जाइमर्स रोगबाट पीडित अधिकारीको सोमबार अपराह्न काठमाण्डौं स्थित अनामनगरमा रहेको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोशी प्रदेश अनर्तगत विकट पहाडी जिल्ला खोटाङको साविक डुम्रेधारापानी १ हिडपा गुहेले (हाल रावाबेँसी ४) मा स्व. श्री मित्रनाथ उपाध्याय अधिकारी तथा दुर्गादेवी अधिकारीको माहिलो छोराका रूपमा वि.सं. १९९९ वैशाख ५ गते शुक्रबार जन्मिएका अधिकारीले पिण्डेश्वर संस्कृत महाविद्यालय.धरानबाट संस्कृतमा साहित्यशास्त्री तथा त्रिभुवन विश्व विद्यालयबाट एम.ए. नेपालीको अध्ययन पूरा गरी शिक्षणमा करिव चार दशक सेवा गर्नु भएको थियो ।

पछिल्लो समय उहाँमा स्नायुसम्बन्धी समस्या पनि देखिएको थियो । उहाँले लामो समयसम्म ‘उन्नयन’ त्रैमासिकको सम्पादन तथा प्रकाशन गर्नुभएको थियो । उन्नयन पत्रिकाले ऋद्धिबहादुर मल्ल विशेषाङ्क, मदनमणि दीक्षितलगायतका विशिष्ट भाषा, साहित्यसेवीलाइृ कालजयी बनाउन महत्वपूर्ण अङ्क प्रकाशित गर्ने काम गरेको थियो । यी अङ्कले नै पत्रकारितामा अधिकारीको विशेष पहिचान झल्काउने काम गरेको समकक्षी लेखक साहित्यकार बताउने गर्छन् ।

अधिकारीले साहित्यिक पत्रकारिताका अतिरिक्त लामो समय समालोचना, निबन्ध, समीक्षा र विशेष व्यक्तित्वको जीवनीसँग जोडिएका अङ्कको संयोजन गर्ने काम पनि गर्नुभएको थियो । जुन नयाँ पुस्ताका लागि अनुकरणीय कार्य हो । अधिकारीको ‘विवेचनै विवेचना’ समालोचनासंग्रह प्रकाशित छ । त्यसबाहेक निबन्ध, कविता र गीत पनि लेख्नुभएको छ । उहाँले लामो समय पद्मकन्या क्याम्पस काठमाण्डौमा प्राध्यापन पनि गर्नुभएको थियो ।

स्वर्गीय अधिकारीको बारेमा अध्येता दिपेन्द्र अधिकारी लेख्छन्—
नाम ः श्री अच्युतरमण ( अविनारायण ) अधिकारी
जन्म मिति ः वि.सं. १९९९ वैशाख ५ गते शुक्रबार
स्वर्गारोहण ः वि.सं. २०८२÷०९÷२८ गते सोमबार दिउँसो ३ः३५ बजे
जन्म स्थान ः ( रावा हिँडपा गुँहेले ) साविक श्री डुमेधारापानी गा.वि. स. –१ , हाल ः काठमाडौ महानगरपालिका–१० स्थित नयाँ बानेश्वर
पिता ः स्व. श्री मित्रनाथ उपाध्याय अधिकारी
माता ः श्रीमती स्व.दुर्गादेवी अधिकारी
शिक्षा ः पिण्डेश्वर संस्कृत मा.वि.धरानबाट साहित्यशास्त्री , त्रि.वि.वि. बाट एम.ए. ( नेपाली )
पेशा ः प्राध्यापन ( प्राध्यापक श्री पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौ,त्रि.वि.वि. )
भ्रमण ः नेपालका सातै प्रदेशका जिल्लाहरू, भारतमा तिर्थाटनको शिलशिलामा थुप्रै राज्यहरू र अष्ट्रेलिया ।

 कृतिहरू ः
( क ) विवेचनै विवेचना–२ ( २०४६ ) “ नेपाली त्रैमासिक “ रचनात्मक मूल्यांकन , ( पहिलो समालोचना संग्रह हो । दोस्रोचाहिँ नेपाली पत्रिका अङ्क १०० सम्मको समीक्षात्मक २०४७ इतिहाँस हो । अन्य थुप्रै अनुसन्धानात्मक फुटकर लेखहरू ।
( ख ) शारदा, प्रगति, धरती, इन्द्रेणी, रेषा र सिउँडी आदि आदि पत्रिकाहरूका बारेमा अनुसन्धानात्मक रचनाहरू लेखिइसकेछन् । प्रज्ञा, मधुपर्क आदिमा समेत प्रकाशित भइसकेका छन् । साहित्यिक पत्रिकाका बारेमा समीक्षात्मक इतिहाँसमा कलम चलाउँने पहिलो व्यक्ति नै उहाँ नै हो । प्राथमिक ,माध्यमिक र आधुनिक लेखनबारे समालोचनात्मक, अनुसन्धानात्मक लेख प्रशस्त लेखिए र प्रकाशित पनि भएका छन् ।
( ग ) नारी,समाजसेवा,शिक्षा ,धर्म र अन्य विविध विषयमा विभिन्न निबन्धहरू प्रकाशित भएको पाइन्छ ।
( घ ) आजसम्म करिब ३०० भन्दा बढी रचना , समालोचना तथा अनुसन्धानहरू भए अनि लेखिए । कृति केवल दुई तीनवटा मात्र छन् ।
( ङ ) कविता ,गीत आदि दुईसय भन्दा बढी पाइन्छन् ।
( च ) व्यंग्य, लघुकथा मध्ये व्यंग्य ७०÷७१ जति छन् भने लघुकथा करिब त्यति नै छन् ।
(छ ) यात्रा संस्मरणहरू करिब ३०÷४० होलान् ।

 पुरस्कारहरू ः
वि.सं.२०४६ मा “ धरणी पुरस्कार “ पाउँनु भएको हो । त्यो पुरस्कार पहिलोपटक उहाँले नै पाउँनु भएको हो।वि.सं. २०५७ मा “ प्रेस काउन्सिल “ पुरस्कार पाएको हो। वि.सं. २०५६ को “ सुश्री लक्ष्मी कार्की पुरस्कार “ पनि ( पहिलो पटक ) पाएको हो । विद्यार्थी हुँदा धरानमा कवितामा ( प्रथम ) , कथामा (द्वितीय ) नाटकमा ( तृतीय ) अनि निबन्ध र संस्कृत कवितामा सान्त्वना गरि एकै पटकको प्रतियोगितामा पाँचओटा पुरस्कार पाउँनु भएको हो ।त्रि.वि. वि.बाट चाहिँ “ दीर्घसेवा पदक“ मात्र पाएको हो । त्यही पदक श्री पद्मकन्या बहुमुखी क्याम्पसबाट पनि पाएको हो।“ हाँस्ने “ बाट “ तन्नेरी “ बाट र “ भद्रकुमारी घले सेवा सदन “ बाट सम्मान प्रशङ्सा आदि प्राप्त गरेको हो ।

 सेवाहरू ः
१, धरानमा बस्दा “ संस्कृत छात्र पुस्तकालय “ का विभिन्न पदमा रही वि.सं. २०२३ मा सभापति भई काम गरेको।त्यसैगरी “ संस्कृत छात्र संघ “ धरानको सभापति भएको ।
२, त्यसपछि वि.सं. २०२५ र २०२६ दुई वर्ष करिब आफ्नै जन्मस्थल डुम्रे पञ्चायत ( साविक डुम्रेधारापानी गा.वि.स.) मा बसी सेवा गरेको।त्यसबखत “ मुष्ठीदान “ जस्तो सहज र हलुको स्रोतबाट “ वि. सं.२०३४ तिर श्री द्यौराली मिडिल स्कुल “ खोली सेवा गरेको । त्यो आज श्री द्यौराली मा.विका रुपमा विकसित भयो । त्यसको प्रधान संस्थापक र प्रधानाध्यापक भई ज्यादै गहिरो सेवा गरेको ।
३, त्यसैबेला धरानदेखि विभिन्न व्यक्तिबाट लिई ,ल्याई जम्मा गरेका पुस्तकहरूको संकलन गरि वि.सं.२०२५ सालमा शारदा पुस्तकालयको स्थापना गर्नुभएको हो । त्यसको प्रधानसंस्थापक र अध्यक्ष भई सेवा गरिएको बुझिन्छ । त्यसबेला सोलुखुम्बु जिल्लामा पर्ने यो पुस्तकालय त्यहाँ पहिलो सार्वजनिक पुस्तकालयका रुपमा दर्ता भएको थियो भने पछि खोटाङ जिल्लामा त्यो क्षेत्र गाभिएपछि पनि त्योपहिलो पुस्तकालय नै भएछ ।
४, उहाँले गाउँमा बसेका बखत “ श्री पोखरी( हालको विद्योदय आ.वि. ) प्राथमिक विद्यालय हिँडपा गुहेँले“ र “ श्री कालिका प्राथमिक विद्यालय ( हालको द्यौराली मा.वि. डुम्रेकोटमा रुपान्तरण भएको कालिकास्थान नजिकमा थियो ) पनि अध्यापन गर्नु भएको ।
५, काठमाडौ गएपछि “ नेपाली साहित्य परिषद “ ( त्रि.वि.वि. नेपाली विभाग ) को सभापति भएर विभिन्न कार्यक्रमहरू गरेको।त्यसबेला महाकवि स्व. श्री लक्ष्मीप्रसाद देवकोटाबारे लिखित प्रवचनहरूपनि गराएको ।
६, “ आदर्श मा.वि. “ ललितपुर , “ सहिद स्मारक मा.वि. “ ज्ञानेश्वर र “ रत्नराज्यलक्ष्मी मा.वि. “ बाँनेश्वरमा प्रौढ कक्षा समेतमा आध्यापन गरेको ।
७, धरानमा आफू पढ्दै गरेका बेलामा पनि त्यहाँका स–साना कक्षाहरूमा पढाउँने अनुमति पाएर निकै समय पढाएको । त्यसबेला पढाएका स–साना भाइहरूमा आजका बरिस्ठ अधिवक्तामा श्री हरिहर दाहाल र प्राध्यापक डा.श्री पेशल दाहालहरू पनि पर्छन् ।
८, धरानको पिण्डेश्वर संस्कृत महाविद्यालयको हातामा विभिन्न विकासात्मक कार्यमा सकृयतासाथ लागेर काम गरे गराएको ।
९, वि.सं.२०२९ सालमा एम.ए.पूरा भएपछि त्रि.वि.वि. पद्मकन्या बहुमुखी क्याम्पसमा वि.सं.२०३० श्रावणदेखि सेवारत रहेको ।
१०, यसका अतिरिक्त वि.सं.२०२९ मा “ साहित्यिक पत्रकार संघ“ को गठनमा सक्रियतापूर्वक लाग्नु भयो । त्यस संस्थामा संस्थापक हो भने निर्वाचन आयोगको सदस्य हुनुहुन्थ्यो पहिले।पछि सदस्य ,कोषाध्यक्ष ,महासचिव हुँदै अध्यक्षसम्म भई ज्यादै सकृयतासाथ संलग्न रहँनु भयो।वि.सं.२०३८ पछि त्यस संघको सभापति हुनुभयो । भाषा–साहित्य,संस्कृति,कला आदिका बारेमा त्यसपछि संस्था ज्यादै सकृय भएको थियो ।
११, त्यसपछि पहिले स्व.श्री विश्वेश्वरप्रसाद कोइराला, स्व.श्री पारसमणी प्रधान,स्व.श्री चन्द्रमान मास्के,स्व.श्री यज्ञराज शर्मा,सरदार स्व.श्री रुद्रराज पाण्डे,स्व.श्री काशीबहादुर श्रेष्ठ र स्व. श्री सिद्धिचरण श्रेष्ठहरूको अभिनन्दन भयो । तर स्व.श्री धरणीधर कोइरालाको अभिनन्दनचाहिँ त्यस संस्थाले वि.सं.२०२९ मै सम्पन्न गरेको थियो ।
१२, त्यसबेला “ कथा सप्ताह “ जस्तो बिल्कुलै अनौठो र आजसम्मको विश्वमा कतै सम्पन्न नभएको कार्यक्रम त्यस कार्यकालको साहित्यिक पत्रकार संघले सम्पन्न गरेको थियो ।
१३, कविता यात्रा जस्तो ज्यादै प्रभावशाली अभियानको श्रीगणेश पनि त्यस संस्थाले त्यसै कार्यकालमा शुरु गरेको थियो ।
१४, आत्मवाचन कार्यक्रमको परम्परा पनि त्यस संस्थाले ( सा.प. स. )शुरु ग¥यो । हामीले त्यस समयमा निकै महत्त्वपूर्ण साधकहरूको आत्मवाचन गराउँनु भएको थियो ।
१५, “ कथा सप्ताह “ को आखिरी दिन चैत्र १९“ गते “ कथा दिवस “ मनाइन्छ । त्यो परम्परा पनि सा.प.स. ले सञ्चालन गरेको हो ।वि.सं.२०३८ चैत्र १३ देखि १९ सम्म “ कथा सप्ताह “ भएथ्यो भने अन्तिम दिनलाई कथादिवस भनियो । कथादिवसको चाहिँ त्यो परम्परा हालसम्म पनि कायम छ ।
१६, नेपाली साहित्यमा विशुद्ध सार्वजनिक संस्थाले पुरस्कार सञ्चालन गरेको पहिले सा.प.स. ले हो । वि.सं. २०३८ त्यो समय हो।“ मैनाली कथा– पुरस्कार “ त्यो पहिलो पुरस्कार हो ।

१७, “ मैनाली कथा–पुरस्कार “, पछि “ व्यथित काव्य–पुरस्कार “, “ मुस्याँचु पुरस्कार “, “ भवानी साहित्यिक पत्रकारिता–पुरस्कार “, र “ लोकप्रिय पुरस्कार “ समेत गरि जम्मा पाँच पुरस्कार त्यस समयमा ( उहाँको कार्यकालमा ) स्थापना गरेर त्यस संघले प्रभावकारी ढङ्गले सञ्चालन गरेको थियो ।
१८,हिजोआज त्यसै संस्थाबाट “ हरिहर शास्त्री पुरस्कार “ पनि सञ्चालित छ ।
१९, यस हिसाबले भाषा–साहित्य,संस्कृति,कला आदि विषयमा त्यसबखतको सा.प.स. ले जति काम ग¥यो त्यो निकै महत्त्वपूर्ण थियो ।
२०, पछि आएर जति पनि प्रतिष्ठान,गुठी र पुरस्कारहरूका लागि संस्था बने ती सबैको विशेष प्रेरक संस्था त्यही “ साहित्यिक पत्रकार संघ “ थियो र उहाँहरूको कार्यकाल विशेष सकृय थियो ।
२१, त्यसका अतिरिक्त “ सीताराम साहित्यिक प्रतिष्ठान “ को संस्थापक उपाध्यक्ष ( हाल “ सीताराम प्रजा प्रतिष्ठान “ ) र “ श्री लूनकरणदास गनङ्गादेवी चौधरी साहित्य कला–मन्दिर “ को संस्थापक महासचिव उहाँ नै हुनुहुन्थ्यो । पछिल्लो समयमा पनि उहाँ कार्यरत नै हुनुहुन्थ्यो । तत्कालै स्थापित “ विनोद साहित्यिक प्रतिष्ठान “ को संस्थापक अध्यक्ष र गतवर्ष “ रुद्रराज सेवा प्रतिष्ठान “ को सदस्य पनि हुनुहुन्थ्यो ।
२२, घरमा पुस्तक तथा पत्रिका संग्रह गरि राखिएको थियो । जसका कारण अनुसन्धाता र विशेष अभिलेखको खोजीकर्ताहरूलाई महत्त्वपूर्ण सहयोग पुर्याएको थियो ।
२३, पछिल्लो समयसम्म करिब दुई हजार भन्दा बढी नै विभिन्न पुस्तक तथा पत्र–पत्रिका संग्रहित थिए ।
२४, डा.श्री कुमारबहादुर जोशी ,डा.श्री वानिरा गिरी,श्री शरच्चन्द्र शर्मा ,स्व.श्री घट्टराज भट्टराई ,श्रीआनन्ददेव भट्ट ,श्रीमती सुशीला भट्ट ,श्रीअशेष मल्ल ,श्रीअनिता तुलाधर ,श्री सुलोचना जोशीलगायत करिब दुई सय जति स्वदेश तथा विदेशका अनुसन्धाताले उहाँको निजी संग्रहबाट सहयोग लिएका थिए ।
२५, उहाँले वि.सं.२०३५ सालमा करिब दुई महिना जति “ पद्मकन्या क्याम्पस पुस्तकालय“ को व्यवस्थापनका लागि विशेष काम गर्नु भएको थियो ।
२६, आफूसँग बढी भएका संग्रहका पुस्तकहरू पद्मकन्या क्याम्पसको पुस्तकालयलाई र अन्य सार्वजनिक र विशेष संग्रह गर्ने मानिस भए त्यसको संग्रहालयमा पठाउने र विभिन्न विद्यालयहरूमा पनि पठाउँनु भएको थियो।जस्तोः श्री द्यौराली मा.वि. डुम्रेकोट,खोटाङ लगायत अन्य सार्वजनिक स्थलहरूमा पनि पठाउँने काम गर्नु भएको थियो ।

२७, पहिले “ नेपाल “, “ पीपल“, “ मुकुट“, “ कस्तुरी “, पत्रिका र केही पुस्तकको सम्पादनको काम गर्नु भएको थियो । हाल “ उन्नयन त्रैमासिकको सम्पादन, सञ्चालन सम्पूर्ण काम गरिरहँनु भएको थियो । पहिले “ गौतम बस्ती “ भन्ने बाल पत्रिका उहाँकै नाउँमा दर्ता थियो । पछि त्यसैलाई “ उन्नयन “ नाममा परिवर्तन गरि विशेष अनुसन्धानमूलक पत्रिकाकारुपमा सञ्चालन गर्नु भएको हो । ९६ पूर्णाङ्क प्रकाशित भइसकेको छ । श्री भूपिशेरचन, श्री भवानी भिक्षु ,श्री केशवराज पिँडाली, डा.श्री मदनमणि दीक्षित, श्री ऋद्धिबहादुर मल्ल र श्री टीकाराम धनञ्जय विशेषाङ्क गरि जम्म ६ विशेषाङ्क पनि प्रकाशित भएका थिए ।