राजनीतिलेख

देशकाे दशा !


पुरानाहरू यदुकुलकाे भूमिकामा : नयाँहरू पाङ्दुरे खेलमा मग्न !              

नकुल काजी

अहिले एकातिर देशले आसन्न मध्यावधि चुनावकाे लय समाइसकेेकाे सतही चर्चा व्याप्त छ भने अर्कातिर याे चुनाव अन्ततः भेद्नुपर्ने लक्ष्यमा सफल हुन नसक्ने चर्चाका स्वरहरूकाे उपस्थिति  पनि उत्तिकै प्रखर देखिँदै छन् । तर, अत्यधिक बहुसंख्यक देशवासीकाे प्रकटित-अप्रकटित अनुभूतिमा  चाहिँ माैजूदा सिङ्गै समय अति नै दुर्बाेध पहेली (abstruse enigma) जस्तै हुँदै गइरहेकाे प्रतीत हुँदैछ ! र, यही स्थिति दैनन्दिन मजबुत हुँदैजाने क्रममा छ । यसका अतिरिक्त देशकाे परिभाषामा सम्पृक्त प्रायः सबै अवयवहरूले अपेक्षा राखेकाे अपरिहार्य परिवर्तन ल्याउने जेन-जीकाे, याे काल-परिस्थितिका लागि, सर्वथा प्रशंस्य उपस्थितिलाई  राजनीतिक वृत्तमा अन्यायपूर्वक असान्दर्भिक सिद्ध  गराउने प्रयत्न भइरहेकाे पनि देखिँदैछ ।

यसबेला तुलनात्मक रूपमा र नकारात्मक रूपमा बहुचर्चित नयाँ असाैम्य देखिँदाे गठबन्धनले टेकेकाे पहिलाे पाइलाेले नै जनभावनाकाे धरातललाई नै झस्काएकाे अवस्था छ । राज्यकाे सर्वमान्य ‘संविधान’ अन्तर्गत निर्मीत नीति-विधि र तिनका आधारभूमि सम्बन्धी अवधारणा समेतकाे जगेर्ना याे नयाँ गठबन्धनबाट हुन सक्तैन भन्ने भाष्य अहिले मैदानी जनगण्मा नाच्न थालेकाे छ । त्या गठबन्धन भनेकाे – हाल आमसञ्चारबाट सतही घटनापरक रूपमा प्रशंसा-समर्थन र आलाेचना बराबर छत्ताछुल्ल भइरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीमा  उज्यालाे पार्टी र काममाडाैकाे सेराेफेराेकाे राजनीतिक चलखेलमा लाेकप्रिय मानिएका बालेन साहा समूह विलय भई बनेकाे गठबन्धन हाे ।

त्याे गठबन्धनले समानुपातिक सांसदकाे लागि निर्वाचन आयाेगलाई बुझाएकाे सूचीमा सूचिकृत व्यक्तिहरूकाे चयनमा ‘पुराना दल’-हरूकै पथानुशरणभन्दा फरक तरिका के अपनाइएकाे छ त ? नयाँ गठबन्धनकाे याे पहिलाे पाइलाे  पुरानाका ‘राजनीतिक गाेरखधन्धा’-मा सँधै देखिने  प्राकृत साेच र पुरानाबाट अंगीकार भइआएकाे स्वार्थी पक्षपाेषणकाे जहानियाँ  ठपकै प्रतिच्छवि (photocopy) बाहेक कस्ताे ‘भिन्न’ वा कस्ताे ‘नयाँ नियत’ पाइन्छ त ? समानुपातिक सांसदकाे नीतिगत अवधारणा त नागरिक तप्कामा पछि परेका जात-जाति, उपेक्षित-उत्पीडित इत्यादि सीमान्तकृतहरूकाे नीति- निर्माणस्थलमा प्रतिनिधित्व गराउने थियाे । त्यसाे भए यस परिप्रेक्ष्यमा,  नयाँ ‘जनमुखी परिवर्तनकाे संवाहक’ पहिचानकाे डिङ हाँक्नेहरूकाे सक्कली अनुहार कहाँनेर देखिन्छ त ?

विदेशी शक्ति सामू सदैव कान समाएर उठबस गर्न मञ्जुर हुने सत्ताकाे दाइँका पुराना कुलती दलपतिहरूकाे हाल इण्डियन परामर्श प्राप्तिकाे दाैढ (?)-मा गठबन्धनकाे सहभागितालाई, याे वर्तमान समय-सन्दर्भकाे हकमा पनि, कसैगरे अलग देख्न सकिँदैन । त्यसाे भए  याे नयाँ भनेर डुक्रिरहेकाे गठबन्धनलाई  उसकाे कुन प्रस्तुतीकाे धरातलमा उभिँदा चाहिँ नयाँ देखिन्छ  र  पत्याउन सकिन्छ त ? याे पनि आम जनगणका निम्ति अक्करिलाे पहेली नै बनेकाे छ !

जम्मैमा ‘जसकाे जाै खानु, उसैकाे जुँगा उखेल्नु’ उखान जस्तै, समसामयिक इतिहासका लागि, ‘एउटा उल्लेख्य क्रान्ति’-काे अध्याय दिने ‘जेन-जी’-ले बनाइदिएकाे आसनमा पलैंटी कस्न पुगेकाे नयाँ गठबन्धनबाट उही जेन-जीकाे अन्तरभावलाई छायाँमा पार्ने र बिल्कुल असान्दर्भिक नै बनाउला भने झैं दुष्कर चलखेल  किन हुँदैछ  ? के गरिसकेपछि ‘दैलाे देख्याे’ भने झैं बाहिरबाट व्यापक खिसीटिउरी र तिखा-तिखा आलाेचनाहरूकाे वर्षा हुन लागेपछि गल्ती सुधारका ताउर-माउर हुनुले शंका र सन्देहलाई शमन मात्र गर्छ, त्यसकाे आभ्यन्तरिक मयल मटियामेट गर्न सक्तैन भन्ने सामान्य विवेक पनि, ‘भावी सरकारकाे स्वप्नद्रष्टा’-काे आत्मश्लाघा फर्माइरहेहरूमा,  थिएन रहेछ भन्ने जनबाेध अहिले माैलाउँदै गएकाे छ  । याे आज निर्मीत आम जन-धारणाबाट पाेखिइरहेकाे कुरा हाे ।

आज देशका हरेक कित्ता-कान्लाका नागरिकले भाेग्नु परिरहेका अनगिन्ती समस्यालाई सम्बाेधन गर्नुपर्ने राज्यकाे दानापानीजीवीहरू कसैले पनि त्यसबाट उत्सर्जित र प्रकीर्ण बेतिथिजन्य कठिनाइहरूलाई सम्बाेधन गर्ने काम (कर्त्तव्य) समाल्न छाडेका छन् । त्यस किसिमकाे राज्यका चरम शासकीय असफलताहरूलाई साेपान बनाएर जमेकाहरूमा पनि उपर्युक्त समस्या समाधानकाे सिन्काे ओरकाे पर सर्ने लक्षण देखिइरहेकाे छैन ।

भीड जम्मा गर्ने र तालीकाे गडगडाहटकाे  प्रतिस्पर्धा, आफूहरूबीचका एकाधकाे लाेकप्रियता भँजाउने र सामाजिक सञ्जालकाे उखरमाउलाेमा दलपति र तिनका माेटियाहरू रमाउने खेला बाहेक देश र देशवासीमा दैनन्दिन बढ्दै गइरहेकाे राेदन-क्रन्दन निवारणका हकमा के गर्दैछन्  वा के गर्लान् भन्ने विश्वास स्थापित गर्ने  लक्षण  देखाइरहेका  छन्  त यिनीहरूले ? त्यसाे भए,  ‘देशका मालिक हामी मात्र हाैं, अरूलाई ढिम्किन दिइन्न’ भनेर पाेकिने गरेका पुराना सत्ताका दयँरेहरूलाई ठेगान लगाएर लाेकतन्त्र अनुकूल शासन बहाल गरिनुपर्ने याे बेलामा ‘नयाँ’-हरूले उस्तै प्रवृत्ति बाेकेकाे शरीरलाई ‘नयाँ कपडा’ पहिरेर देश र देशवासीका अदूर-सुदूर भविष्यलाई धाेका त दिइरहेका छैनन् ?

यस्ता अनेक काँडालु प्रश्नले नेपाली मनलाई डहिरहेकाे छ । उता,  ‘शक्तिशाली हाैं’-काे दम्भले पूर्ण-सम्पूर्ण रूपमा उफ्रीपाफ्री गरिरहेका दलहरू प्रायः सबै महाभारतमा वर्णित यदुकुल विनाशकाे भूमिका निर्वहनमा अरल्लिरहेका छन् । अतः काे के गर्दैछ र काे के भन्ने अन्याेल नै याे भू-राजनीतिक निशानामा परिरहेकाे ‘हाम्राे ‘नेपाल’-काे मुख्य दुर्बाेध पहेली बनेर उदित छ । यस सान्दर्भिक ‘कुरा’ गरिरहँदा कुराकै पनि अभाव खड्किने अवस्था छ !….
त्यसैले, बस्, आजलाई यति नै !….