भद्रपुरमा इन्डो–नेपाल क्रिकेट प्रतियोगिता हुदै
भद्रपुर । भद्रपुर क्रिकेट क्लबको आयोजनामा मेची क्याम्पसमा रहेको क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।
कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागिएको हो ।

आयोजक भद्रपुर क्रिकेट क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे सञ्चारकर्मीलाई जानकारी गराएको छ । आयोजकका अनुसार यही माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चार वटा र भारतका चार वटा गरी आठ वटा क्रिकेट टिमको सहभागिता रहने छ । मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजका अनुसार प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन् ।
त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेका छन् । नेपालका क्लबहरूमा एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफि खेलिरहेका खेलाडीहरूको सहभागिता रहने समेत संयोजक सुब्बाले जानकारी दिएका छन् ।
संयोजक सुब्बाका अनुसार निर्माणाधीन मेची क्रिकेट ग्राउन्डमा चर्चित राष्ट्रियस्तरको निवेश वर्मा स्मृति क्रिकेट प्रतियोगिता भइसकेको भए पनि अन्य कुनै ठूला प्रतियोगिता हुन सकेका छैनन् ।
क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार क्यानले निर्माण गरेको सो ग्राउन्ड ओझेल परेपछि भद्रपुरका खेलप्रेमी लागि परेर उत्कृष्ट क्रिकेट ग्राउन्ड बनाउन सफल भएकोे हुन् । मापदण्ड अनुसार निर्माण भएको ग्राउन्डमा निकै वर्षको अन्तरालपछि ठूलो प्रतियोगिता हुन लागेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
एक करोड २२ लाख रूपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउने छन् । सो पुरस्कार उद्योगी तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले प्रदान गरेका छन् । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।
उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ । केही दिनमै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिने उनको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रवीण थापा, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, उद्योगी टिकाराज ढकाल लगायतले निर्माणाधीन मेची क्रिकेट ग्राउण्डमा हुन लागेको प्रतियोगिता एनपीएल जस्तै उत्कृष्ट प्रतियोगिता हुनेमा आफूहरूले विश्वास लिएको बताका छन् ।
