राजनीतिसमाचार

विश्वप्रकाश शर्मा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

‘आफ्नो पावरझ ले भ्याएसम्म उम्मेदवार बन्ने जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भएपनी उम्मेदवार बन्नैपर्ने,’ शर्माले बैठकमा भने, ‘बाँचुन्जेल– क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने, हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ ।’

साथै, उनले लगातार तीन पटकसम्म उम्मेदवार बनिसकेकाले आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने पनि बताए ।
‘म लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ पार्टी बैठकमा उनले भने ।

थप प्रष्ट पार्दै उनले भने, ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु ।’
उनले चुनावमा अनुहार बदलेर अघि बढ्नुपर्ने पनि बताए । ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ , बढिभन्दा बढि युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,’ शर्माले भने ।

पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

उनले झापामा आयोजित क्षेत्रीय भेलामा नै आफूले उम्मेदवार बन्न चाहनेलाई दाबी गर्नका लागि भनेको पनि बैठकमा सुनाए ।

‘एक वर्ष अघि ०८१ पुस २१ गते झापाको मेचिनगर धुलाबारी स्थित अतिथि सदनको कार्यक्रममा बोल्दै ‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैनझ भनेर घोषणा गरेको थिएँ,’ शर्माले बैठकमा भने, ‘तर पनि फेरि पनि सर्वसम्मत सिफारिस गरेकोेमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु ।’

अनलाइन खबरबाट