राजनीतिलेख

फेरि उल्कापाते धाकधम्की-जात्राकाे माैसम फिर्ने हाे कि ?                  

सामयिक चर्चा

नकुल काजी 
प्रजातन्त्राेत्तरका दुई अत्यन्त  छाेटा कालखण्ड बाहेक ओैसत कालखण्डहरूमा तल जनधरातलदेखि माथि राज्यकाे नीति-निर्माता र प्रयाेकताका अख्तियारशालीसम्मका छाेटे-बढे शासक र तिनका अधीनस्त शासकीय संरचनामा सम्पृक्त ‘क’-देखि ‘ज्ञ’-सम्मकाले संविधान-निर्दिष्ट ‘बिधिकाे शासन’-काे धज्जी नै उडाउँदै आएका थिए । उनीहरूका यस्ता दुष्कर्म ‘दाहिने हातले देब्रे कान समाए’ जस्ता  हुन्थे – जाे आम जनताका आँखामा छर्लङ्ग छन् । याे  ‘सत्य’ -लाई शासक-मण्डलीमा गानिने ‘स्वार्थी झाेले’ भनिन थालिइएकाहरूका ‘बाहुबली हाँकमण्डली’-ले दलनमा पार्दै आएका छन् , जाे अहिले पनि बरकर्रार छँदैछ ।  ज्वलन्त  प्रमाण त, ताजा विगतकाे चरम ‘दलीय पक्षपाती’ पार्टी,  एमालेकाे एघाराैं महाधिवेशनका उफ्रीपाफ्रीहरूमै बिम्बित भयाे – जसले  नेपाली जनगणआङ जुर्किने अदूर विगतका दुर्भाग्यपूर्ण दिनहरूकाे स्मरण गराउन थालेकाे छ   ! रुमानियाँका निकाेलाइ चाउचेस्कुकाे २४ वर्षे निरंकुश शासनकालकाे जस्तै-जस्तै अनुहार देखाउँदै कुशासन हाँकिरहेकाे एमाले हाइकमाण्डले जेन-जेड विद्राेहद्वारा बेइज्जतीपूर्वक अपदस्त भएकाे शरमनाक घटनालाई मासु-भाते भीडकाे छायाँले छेल्न निकै ठूलाे तडक-भडक गरेकाे दृश्यावली याे कलमले मात्र देखेकाे कहाँ हाे र !

राजनीतिलाई पनि, प्रकारान्तरले, चिन्तनकाे धरातलमा युद्ध वा संग्राम जस्तै नै मानिन्छ । अझ हाम्राे देशकाे राजनीतिक खिचातानी, पद प्राप्तिकाे दाैडधुप र पारस्परिक षडयन्त्रादि जसरी चल्दै आयाे, चल्दैछ र याे बेराेक चल्दै जाने अनपेक्षित सम्भावना समेत लहलहाइरहेकाे छ – याे वर्तमान र अझ भविष्यका लागि  युद्धभन्दा कम दग्धिदायी र खतरनाक हाेला भन्ठान्न दैनन्दिन झन-झन मुस्किल हुने देखिंदाे छ  !
विश्व बजारमा, प्रजातन्त्राेत्तरकाे नेपालमा जस्तै, राजनीतिलाई फायदाकाे व्यावसाय-व्यापार बनाइएका घटनाहरू देखेरै हुनसक्छ प्रत्यक्ष-पराेक्ष अनेक सांकेतिक सूक्तिहरूकाे जन्म भएका छन् ।

राेममा जन्मिएर इटालीमा उदाएका विश्व-चिन्हित  साहित्यकार एवम् पत्रकार तथा राजनीतिका प्रखर विश्लेषककाे कृतिमानी  विश्व विख्यात व्यक्तित्व अल्बर्टाे माेराभियाले आफ्नाे एउटा पुस्तक ‘ग्ली इनडिफरेन्टी’ (Gli indifferenti)-मा लेखेका छन् -“प्रेम र युद्धमा केही पनि गलत हुँदैन (Everything  is fair in Love and War.)।” अर्थात् , प्रेम जाे प्रेमभावकाे कञ्चन उपज हाे, गलत पटक्कै हाेइन, जसरी गाेला-बारुदकाे युद्धमा कुनै अबाेध बालक वा दुर्बल अशक्त बूढाेकाे पनि ज्यान जान सक्छ – त्याे ‘युद्धकाे दाेष’-मा कहीँ-कतै दर्ज हुने गर्दैन !… साेझाे बुझाइ यस्ताे हुन्छ, तर माेराभियाकाे सूक्ति गंभीर व्यंग्यवेष्टित थियाे  । जस्ताे कि – देशमा कहालीलाग्दाे भ्रष्टाचार, निस्सासिने कुशासन, ऐंठनरूपी शासकदलीय पक्षपाती लुटलक्षित धाँधली आदिले बिरक्तिएका नागरिक समाजकाे गाँठी समस्या निवारण खातिर नै जेन-जेड पुस्ताले परिणामदायी विद्राेह गरेकाे थियाे । त्याे विद्राेह २००७/०४६/ ०६२-०६३का परिवर्तनकारी किशाेर-युवाहरूका साहसकाे पुनरावर्तन मात्र थिएन, नेपाली समयकाे सर्वाेपरि र सशक्त माग पनि थियाे र हाे । तर, त्याे विद्राहकाे संयाेजक (जेन-जेड )-काे दमनासाध्य पुस्तालाई अहिले, केपी ओली अधीनस्त एमाले पार्टीको एकलाैटाे, स्वेच्छाचारी, मिचाहा, हेपाहा वा जम्मैमा मैमत्त सरकारकाे रजगजमा पन्पाउन पल्केका मूल नेतृृत्व लगायत सकल दर्जाधारीहरू के-के भनेर अवमूल्यनकाे निर्लज्ज भ्रम छर्न उद्यत देखिँदैछन् ?  यसबाट राजनीतिकाे चन्दनधारीले जे गरे पनि – जे भने पनि जायज नै हुन्छ भन्ने माेराभियाकृत व्यंग्याेक्तिलाई जीवन्त तुल्याउँदैन र ? किनभने, एमाले र काङरेस पार्टीका  टाउकेहरूले नै यस्ताे हरकतलाई ‘लाेकतान्त्रकाे अभ्यास’ मानेर लाेकतन्त्रकै उपहास उडाइरहेका छन् । हाे त, ‘राजनीति’-काे टाँचा ठाेकेपछि गलत पनि सही ठहर हुने उदाहरण याेभन्दा साक्षात अरू के हाेला त ?

अतः कसका वा कस-कसका के-के दुर्गुणका कारण आजकाे नेपाल इतिहासकै सबभन्दा भयंकर संकटकाे स्थितिबाट गुज्रिरहेकाे छ, सबै सालाखाला ‘राजनीति गर्दाकाे रगडघसले अल्मल्याएकाे समय’-ले थाप्लाेमा बाेकेकाे छ  । संवैधानिक  गणतन्त्रलाई आफ्ना स्वार्थ परिपूरक  ‘चलखेलतन्त्र’ मान्ने र साेही अर्थ आफ्ना अनुयायीहरूका मानसपटमा रसाउने- भिजाउने  ‘नेता’ खुलेआम बाँकट्टेमा ‘आफ्नाे हुँदाे’ फलाकिरहेका मात्र छैनन् पदीय हैसियतलाई धाेती बनाएर गुण्डे दुर्गन्ध फैलिने धम्कीकाे खाडल आफै हिंड्ने बाटाेमा खनिरहेका छन् । र, त्यस्ता नेताका हुद्दामा उभिएर ‘गुलियाे हात’ चाटिरहेका  (कुनै उल्लेख्य नेताले हालै टिप्पणी गरे झैं)  ‘एक्काइसाैं शताब्दीका गुलाम पात्रहरू’ समृद्धि फर्माउँदै र हिन्हिनाउँदै ताली ठाेकिरहेका छन् । ….फेरि के-के उल्कापाते जात्राकाे शुरुवात  भइरहेछ के-के ! न भनेर सकिन्छ न त गनेरै सकिन्छ, बाफ-रे-बाफ !!…..
त्यसैले, बस्, आजलाई यत्ति नै ।