सुपारी बिक्रीका लागि वातावरण बनाऊ
सम्पादकीय
सुपारी बिक्रीका लागि तयार भएर किशानका बगानमा थुप्रिएका छन् तर किन्ने व्यपारी किशानका बगानमा आएकै छैनन् । हरेक वर्ष झापाली सुपारी किशानले व्यहोर्नु परेको साझा पीडा सुपारी बेच्चने सकस हुने गरेको छ । भारतीय बजारमा नेपाली सुपारीको माग उच्च छ । केही वर्षयता भारत सरकारले नेपाली उत्पादन सुपारीलाई आयात गर्न कडाइ गरेपछि सुपारी कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
यसको प्रमुख कारण तेस्रो देशबाट आयतित हुने सुपारी रहेको कृषकहरुको गुनासो छ । नेपालमा सुपारी प्रशोधन गर्ने स्तरीय प्रशोधन केन्द्र नहुनु, भएका सुपारी प्रशोधन केन्द्र पनि तेस्रो देशको सुपारी नेपाली बनाउने र रातारात करोडौं कमाउने कालो व्यापारिक केन्द्र बन्दा बास्तविक नेपाली उत्पादन सुपारीले मार खप्नु परिरहेको छ । तेस्रो देशबाट आयातित हुने सुपारी नेपाली सुपारी जस्तो गुणस्तरीय नभएका कारण नेपाली सुपारीमा मिसावट गरी भारततिर पठाउन थालेपछि भारत सरकारले गुणस्तरको प्रश्न उठाउँदै केही वर्षयता नेपाली सुपारी आयातमा कडाइ गरेको हो । तर बैध बाटोबाट नेपाली सुपारी भारत जान नसके पनि अबैध बाटोबाट दिनहुँ हजारौं किलो गइरहेको छ ।
अबैध बाटो हुँदै नेपालबाट भारततर्फ सुपारी निकासी गर्दा राम्रो फाइदा हुने भएपछि स–साना व्यापारी, मजदुर एवं ठुलाबडा उद्योगी समेत यो व्यवसायमा आकर्षित भएका छन् । अबैध कारोवार रोक्ने प्रहरी प्रशासन समेत सुपारीलाई कमाइको राम्रो स्रोत बनाउन लागेपछि सुपारी तस्करी तीव्र बन्दै गइ रहेको छ । नेपाल भारत सिमा क्षेत्रमा खटिने प्रहरीले घुमाउरो तरिकाले सुपारी तस्करी बचाइ रहेका छन् । नेपाली उत्पादन सुपारीले उचित मूल्य पाउँदैन, तस्कर यही सुपारीबाट मालामाल छन् भने कानुनको रक्षक सुरक्षाकर्मी सिद्धान्तमा सिमित भएर तस्करी सुन्य बताइ रहेको छ । व्यवहार उल्टो हुँदा कृषक र उत्पादक निरास बन्ने अवस्था छ । यसबेला राज्यको जिम्मेवारी तस्कर र काला बजारीसित जोडिएको अनुभूति सुपारी किशानमा छ ।
सिधा देखिने गरी सुपारी तस्करीमा प्रहरीले कडाई गर्न थालेपछि घुमाउरो शैलीमा विभिन्न नाका र माध्यमबाट सुपारी तस्करी भइरहेको छ । मुख्य गरी झापाको काकरभिट्टा, बाहुण्डाँगी, सतिघट्टा, नकलबन्दा, भद्रपुर, पाठामारी, बनियानी, केचना, घेरावारी, झापा, गौरीगञ्ज लगायत क्षेत्रबाट अबैध निर्यात गरिरहेको तस्कर समूहले पछिल्लो समय उत्तरी नाका बाहुण्डाँगी र दक्षिणी नाका केचनालाई सुपारी भारत निकासीका लागि सहज रुपमा प्रयोग गरिरहेका छन् । तेस्रो देशबाट आयातित सुपारी मध्ये ९८ प्रतिशत इण्डोनेसिया र २ प्रतिशत सिंगापुरबाट आयात हुने गरेको देखिन्छ । जो सामान्यतया खानका लागि अयोग्य सुपारी भएता पनि मधुगुट्खा जस्ता सूर्ति जन्य पदार्थमा मिसावटका लागि सस्तो दरमा नेपाल भित्र्याइएको हो । यही सुपारीका कारण नेपाली गुणस्तरीय सुपारी समेत गुणस्तरहिन बन्नु परेको छ ।
झापाका विभिन्न ग्रामिण क्षेत्रमा उत्पादन हुने सुपारी तस्कर समूहले भारत निर्यातमा रोक लागेको भन्दै न्युन शुल्कमा खरिद गरी प्रहरी प्रशासनसित मिलेमतो गरी भारत निकासी भने गरिरहेका छन् ।

दक्षिणी नाकाबाट भारत पठाउने व्यापारिक समूहले भद्रपुर र बनियानीमा जम्मा गरेको नेपाली सुपारीमा तेस्रो देशबाट आयातित सुपारी मिसाएर विभिन्न झुण्ड बनाई भारततिर पठाइ रहेका छन् । किशानसित सुपारी किन्न न्युन मूल्य तिर्न समेत गाह्रो मान्ने तस्कर समूहले भारतमा भने महंगो मूल्यमा नेपाली सुपारी बेचीरहेका छन् । नेपालका सुरक्षाकर्मी, भारतीय सुरक्षा कर्मी र व्यापारिक समूह बीच सुपारी वारपारका लागि ठूलो चलखेल रहने गरेको छ । सिद्धान्ततः नेपालबाट भारत सुपारी सहजै जाँदैन तर व्यवहारिक रुपमा हेर्ने हो भने देखिने गरी नै मिलेमतोमा नेपाली सुपारी भारततिर गइरहेको छ । किशानले लगानी अनुरुप मूल्य पाउँदैनन् तर तस्कर र संरक्षकले विना लगानी चर्को आम्दानी गरिरहेको अवस्था छ । यस्तो अमिल्दो वातावरण अविलम्ब बन्द गर ।

