हल्दिवारीमा स्वर्गीय जगबहादुर नरमाया वनस्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरू

हल्दिवारी । स्वर्गीय जगबहादुर नरमाया वनस्मृति प्रतिष्ठानको आयोजनामा हल्दिवारीमा दोश्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ ।

हल्दिवारी माध्यमिक विद्यालयको खेल मैदानमा १९ मंसिरसम्म चल्ने प्रतियोगिताको उद्घाटन गाउँ पालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले गरेका थिए ।


सोही अवसरमा विद्यालय परिसरमा नवनिर्मित सुविधा सम्पन्न १२ धारासहितको खानेपानीको स्रोतको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उद्घाटन गरेका थिए ।

विद्यालयका २०४७ सालका पूर्व विद्यार्थीहरूको समूहले करिब २ लाख ६० हजारको लागतमा यो सुविधा सम्पन्न धाराको स्थापना गरेका हुन् । यसले विद्यार्थीहरूलाई पानी पिउन सजिलो र सहज बनाएको जनाइएको छ ।

विद्यालयका २८ पूर्व विद्यार्थीहरूले आफ्नै विद्यालयमा शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिएको विद्यालय प्रशासनको भनाइ छ । धारा निर्माणमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, विद्यालय प्रअ टंकबहादुर पाख्रिन, र पुरुषोत्तम नेपालले सक्रिय भूमिका निर्वाह गरेको जनाइएको छ ।

यसैगरी सोही अवसरमा विद्यालयका संस्थापक तथा शिक्षासेवी नरेन्द्रकुमार कार्कीलाई औपचारिक समारोहमार्फत सम्मान गरिएको छ । स्वर्गीय जगतबहादुर–नरमाया माया वन स्मृति प्रतिष्ठानले कार्कीलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो ।

२०१८ सालदेखि शिक्षण पेशामा प्रवेश गरेका कार्कीले २०२९ सालदेखि हल्दिवारी माध्यमिक विद्यालयमा अध्यापन गर्दै निरन्तर शिक्षा सेवा प्रदान गर्दै आएका छन्। विद्यालयको शैक्षिक उन्नयन र संगठनात्मक विकासमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ ।

प्रतिष्ठानका अध्यक्ष डम्बर वन, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनलगायतले दोसल्ला ओडाएर कदरपत्र हस्तान्तरण गर्दै कार्कीको दीर्घ सेवा र समर्पणको प्रशंसा गरेका थिए ।

प्रतिष्ठानका संरक्षक सदस्य मानबहादुर वनले औचित्यमाथि प्रकाश पार्दै खेलकुद स्वास्थ्य र अनुशासनको प्रतीक भएकाले प्रतिष्ठानले फुटबल प्रतियोगिता आयोजना गरेको प्रष्ट पारेका थिए ।

डम्बर वनको अध्यक्षता तथा गाउँ पालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहको स्वागत टंकबहादुर पाख्रिन र सञ्चालन तुलसी कोइरालाले गरेका थिए ।