परिवर्तनको बहाक बनाऊ महाधिवेशन

सम्पादकीय

देश यस बेला निर्वाचनको वातावरण उन्मुख छ भने पुराना तथा स्थापित दलमा अधिवेशनमय भएको अवस्था छ । नेकपा एमाले महाधिवेशनमा प्रवेश गरिसकेको छ भने नेपाली काँग्रेस तथा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पर्टी महाधिवेशनको नजिक भए पनि तिथि र मितिमा अड्किएर बसेका छन् । महाधिवेशनलाई दल भित्रको आन्तरिक लोकतन्त्रको प्रदर्शन गर्ने मूल थलो मानिने गर्दछ । त्यही मान्यता अनुरूप यी सवै दलमा आन्तरिक प्रतिष्पर्धा भइरहेका छन् तर प्रतिष्पर्धी उम्मेदवारले आन्तरिक प्रतिष्पर्धाको भावना विपरित भिन्न दलसितको प्रतिष्पर्धाको शैलीमा महाधिवेशनमा प्रस्तुत गर्दै दल भित्रै अन्तरकलहको मार्ग निर्माणको प्रयास समेत गर्दै गरेको देखिने गरेका दृष्यले पुष्टि गर्छन् ।

नेकपा एमालेमा गुट र फुट छैन भनेर प्रचार गरिए पनि पार्टी अध्यक्ष केपी ओली इतरका मानिसलाई निषेध गर्ने गरी महाधिवेशनको चटारो देखिदै छ । त्यसैगरी नेपाली काँग्रेस भित्र संस्थापन समूह र इतर समूह बीच गुटगत प्रतिष्पर्धामा महाधिवेशनको बहस चलेको प्रष्ट छ । भर्खरै एकीकरण भएर गठित नेपाली कम्युनिस्ट पार्टी र राप्रपा पनि एउटै नेतृत्वका नाममा संस्थापन बाहिरका व्यक्ति नेतृत्वमा आउन नदिने खेलका रूपमा महाधिवेशनको औपचारिकता निर्वाह गरिरहेका छन् ।

अहिलेसम्मका गतिविधि हेर्दाे काँग्रेस भित्र पनि गुट, उपगुटले पार्टी भित्र अस्वच्छ प्रतिष्पर्धाको वातावरण तयार हुँदा अन्य पार्टीसित लड्नु पर्ने निर्वाचनमा आफैले आफ्नैलाई हराउने आत्मघाती प्रवृत्ति जन्माउने वातावरण महाधिवेशनले तयार पार्ने हो कि भन्ने शंका जन्माइ सकेको छ । यी र यस्ता दृश्यावलीले महाधिवेशनको महत्व वा गरिमामाथि समेत प्रश्न खडा हुने वातावरण निर्माण हुनुचाहिँ लोकतान्त्रिक मूल्य र मान्यता मान्न सकिन्न ।

पार्टी पद्धतिलाई चलायमान बनाउन महाधिवेशनको महत्व र गरिमा उच्च रहने गर्दछ । हरेक पार्टीले ४ वर्षदेखि ५ वर्ष भित्र महाधिवेशन गर्नु पर्ने राजनीतिक तथा कानुनी बाध्यता छन् । जसलाई विधि र प्रकृयाको रूपमा हेरिने गर्दछ तर यस पटक महाधिवेशनमा होमिएका नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशन भने निर्धारण गरिएको मितिभित्रै हुन गइरहेका कारण पनि नेतृत्व लिनेहरूको भीड बढेको हुन सक्छ । एमालेको अधिवेशनका दृष्यले दिएको संकेत अनुसार वर्तमान अध्यक्ष खड्गप्रसाद ओलीकै इच्छा र चाहनामा नेतृत्व छानिने प्रष्ट छ भने काँग्रेसको नेतृत्व छनौट शकसपूर्ण हुने संकेत प्रष्टिदै छ ।

गुट उपगुटको महासंग्राम देखिएको यस महाधिवेशनमा बलियो काँग्रेस निर्माणभन्दा कमजोर काँग्रेस गठन हुने हो कि भन्ने सन्देह कार्यकर्ता माझमा फैलिएको छ । गुट उपगुटको शिकार हुने दलहरू जनमत लिनु पर्ने निर्वाचनमा घात अन्र्तघातको शिकार हुने अवस्था महाधिवेशनको अन्र्तरसंघर्षले सिर्जना गरिदिने हो कि भन्ने चिनता हरेक दलका कार्यकर्ता तथा शुभचिन्तकहरूको मनमा मडारिरहेको अवस्था छ ।

जेनजी विद्रोहपछि नेपाली राजनीतिमा पुनर संरचनाको माग बढिरहेको देखिन्छ तर पार्टी भित्रको लोकतन्त्र जीवित राख्न हरेक पार्टीको महाधिवेशन अनिवार्य आवश्यकता भए पनि पुराना पार्टी पुनर संरचित हुने वातावरण भने निर्माण भएको अवस्था छैन । यस महाकुम्भलाई विकृतितर्फ लैजाने प्रयास भए दल कमजोर हुने अवस्था निर्माण हुन्छ ।

महाधिवेशनले हरेक पार्टीमा देश र जनता हाक्न सक्ने नीति तथा कार्यक्रम भएको नेता चुन्न सक्नु पर्दछ । हाम्रो होइन राम्रो नेतृत्व निर्माण गर्ने दायित्व कार्यकर्तामा रहन सके मात्र महाधिवेशनको गरिमा बच्न सक्छ । गुट, फुट वा छिन्नभिन्न अवस्थाका लागि महाधिवेशन गरिनु हुन्न । नेतामुखी होइन नीतिमुखी समर्थन बोकेर नेतृत्व छनौट गरे मात्र महाधिवेशनको गरिमा उच्च रहन्छ । हरेक पार्टीका कार्यकर्ताहरूले सोच्नै पर्छ नीति र कार्यक्रम नभएका नेतालाई विदा गर्दै नीतिसहितको नेतृत्व छानेर नयाँ नेपालको सपना साकार पार्न जुट्नै पर्दछ । भदौ २३ र २४ गतेको आन्दोलनको मर्म पनि यही हो ।