लेख

‘जेन-जेड’ आफ्नै मार्गचित्रमा अटल रहाेस्                                     

 नकुल काजी

लाेकतन्त्रलाई कुनै दलीय वा गुटगत-गिराेहगत पछ्याैरा नओडाइकन त्यसकाे व्युत्पतिकालकाेे (नैसर्गिक)  अन्तर्यलाई नाङ्गाे निरपेक्ष भावका आँखाले हेेर्ने हाे भने आजकाे (खासगरी २०७२सालयताकाे)  नेपाललाई संविधानप्रदत्त शक्तिले तथ्य-विलाेम अवस्थामा पछारिरहेकाे देखिनेछ । अतः उपर्युक्त आधारमा ‘जनमत’ चाहिँ तत्कालीक ‘संविधान’-भन्दा माथि र दमनासाध्य बलियाे हुन्छ भन्ने, साेझा र निर्धा-निमुखा नागरिकहरूबाट पैसासँग साटिएका वा लटपट्याइएका, मत ( भाेट)-का मालिक-मुन्सी, कार्बारी र डफेदारहरूले  बुझेर पनि नबुझे झैं गर्दै आएका छन् । तसर्थ, आज ‘जेन-जेड’ पुस्ताका लाखाैंलाख प्राकृ ऊर्जावान सन्तानलाई महाभारत- कथाकाे ‘अभिमन्यु’ बनाएर आफ्नाे अभीष्ट पूरा गर्न खातिर ‘देशकाे कञ्चन सत्य’ -का प्रति उनीहरू दुर्याेधन-शकुनि आदि जाली-प्रपञ्चेका दुत्कृत र जाली भूमिकामा अवतरित छन् । तर, अन्तताेगत्वा महाभारत-कथाले के परिणाम काेरलेकाे छ ?  -भन्ने भने उनीहरूका दम्भ-अन्ध आँखाकै कारण नै उनीहरूलाई  समाप्तितिर लखेटिरहेकाे छ, साेझै समाप्तितिर ! अन्ततः जेन-जेडकाे वास्तवमा अकल्प बहादुरीकाे कथालाई ‘हिस्स बूढी हरिया दाँत’ उखानकाे हविगतमा अन्यायपूर्वक थेचारेर आफूहरू साविक हैकममा स्थापित हुने स्वैरकल्पना (फेन्टासी)-मा पनि, सायद, थरथर कामिरहेकाे मुटु सम्हालिरहेका छन् ।

याे त ‘निर्वाचन’-सँग डराएर संसद पुनर्स्थापनाकाे मुद्दामा लाज पचाउँदाे साविक शासक पार्टीकाे हरकतले छ्याङ्ग पारिरहेकै छैन र  ? हाे नै, कसै-कसैलाई ‘निर्वाचन’ नामकाे खड्गाे अति नै भयप्रद बनेकाे देखिन्छ । सत्ताशक्तिकाे घाेडा चढेर अनेकका अतिरञ्जनायुक्त उखान-टुक्का मिश्रित ‘विकासकाे गीत’ गाउनु र लाेरी सुनाउँदै साेझा जनतालाई सम्माेहित गरी अभीष्ठ पूरा गर्नु जस्ताे सजिलाे आसन्न निर्वाचन कदाचित हुने छैन । जेन-जेडकाे तयारी वास्तवमा अवराेधमुक्त मात्र हुन सक्याे भने यहाँसम्मका सारा अहंकार र दम्भ धुलिसात हुने त निश्चितै छ क्यार !…

यद्यपि उनीहरूकाे दम्भलाई जेन-जेडभित्र पन्पाएकाे अनिश्चय र अल्मलले प्रदान गरिरहेकाे मलजल-ऊर्जाकाे  यथार्थलाई पनि नजरअन्दाज गर्नु न्यायसंगत वा निरपेक्ष  हुँदैन । साेझाे वा बाेधगम्य शब्दहरूमा भन्ने हाे भने  जेन-जेड समूहकाे आधिकारिक मूल सारथि काे हाे, त्यसकाे आगामी कार्यभार के थियाे र साे पूरा गर्न कुन मार्गचित्र तय भएकाे थियाे त ? इत्यादि प्रश्नहरूले क्रमशः जन-धरातलमा निराशारूपी नकारात्मक मुन्टाे उठाउन थालेका छन् र त्यही कमजाेरीहरूका खुट्किला टेकेर पुराना राजनीतिक खल्वाटहरूले हाँक लल्कार्न  थालेका हुन् । अरू त अरू, आफैले आराेहण गराएकाे माैजूदा सरकारले कार्यभार नसमालिरहँदा समेत त्यसैलाई पनि ठीक बाटाे देखाउने निश्चित दिशा जेन-जेडले अख्तियार गर्न सकिरहेकाे छैन र आम जनमानसमा अन्याैलकाे बादल मडारिइरहेकाे छ । पुराना पार्टीका झाेले-चम्चेहरूका चलखेल पुनः झाङ्गिदै गएर बुर्कुसी मार्न समेत उत्साही देखिंदाछन्  – अहिले । याे अवस्थाले जेन-जेडका प्रतिकाे आशा-भराेसा र विश्वास जनमानसकाे अभ्यन्तरमा भिमलाउनु अस्वाभाविक हाेइन ।

जेन-जेडकाे त्यस्ताे दुर्दमनीय ठहर गरिएकाे  जनअपेक्षाकृत कलकलाउँदाे साखलाई अहिले विगतका उनै भ्रष्टाचार र कुशासनका सूत्राधार एवम् लुटतन्त्र (‘क्लेप्टाेक्रेसी’ ?)-का हैकमी साँढेहरूका डुक्राइले छाँयामा पार्दै लगिरहेका दुर्भाग्यपूर्ण दृश्यहरू एकपछि अर्काे लगातार अस्तित्वमा आकृत हुन थालेका छन् । नेपालमा तीस वर्षे पञ्चायती एकाधिपत्यकाे अवसानपछि उदित प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्र आदिले भाेग गरेकाे छत्तीस वर्षहरूमा सन्त नेता कृष्णप्रसाद भट्टराईकाे नेतृत्वकाललाई अलग राखेर मीमांसा गर्ने हाे भने नेपालमा लाेकतन्त्र (‘डेमोक्रेसी’)-काे दाेसल्ला  ओडाएर लुटतन्त्र (‘क्लेप्टाेक्रेसी’) नै चल्दै आएकाे सत्यलाई कसै गरे छल्न सकिंदैन । अझ ०७२ सालयता त त्याे अझ काँडालु बनेर प्रस्तुत हुँदै आएकाे जगजाहेरै छैन र ? याे त जीवन भाेगाइकै लहरमा आउने विषय नै हाे वा थियाे  । तर, शासकीय चारित्रिक परिपाटीकै रूपमा लुट र दाेेहनवृत्ति निर्बाध बढ्दै र स्थापित हुँदै गएकाले  तल्लाे सामाजिक परिवेशदेखि माथिल्लाे राष्ट्रिय परिवेशसम्मका लागि, करैले पनि, साे सहज साध्य र स्वाभाविक सिद्ध हुँदै आएकाले ‘तैं चूप, मैं चूप’-काे मनाेविज्ञान दह्रिन गएकाे हाे । मनाेविज्ञानले भनेकै छ नि –  ‘पराजितले विजयीलाई करैले पनि श्रेष्ठ ठान्नै पर्दछ !’

सबै वर्ग र कित्तामा याे मनाेविज्ञान लागू हुँदै-छिप्पिँदै गएकाे छ ।  वस्तुतः अपवाद छाेडेर, अहिले कुनै पनि देशमा सन्तुष्टि वहाल  नहाेला । तर, युग अनुकूल ‘राज्य’-काे नेतृत्वले आफू र ‘आफ्ना’-हरूका लागि मात्र सजिलाे र  ‘फलदायी’ हुने निजी व्यापारिक कम्पनी जस्ताे वेलगाम सत्ता सञ्चालनकाे अभ्यास मात्रमा सीमित भइदिँदा र आम देशवासीकाे व्यवहारसम्पृक्त  विचार, भावना र वस्तुस्थितिकाे कदर र पर्वाह नगरिदिंदा उत्पन्न हुने गरेका निराशा र आक्राेश गानिने-पिलिने गर्दछ । यस्तै दुर्भाग्यपूर्ण अवस्थाकाे अविच्छन्न र क्रमिक विकासले हाम्राे नेपालले वर्तमान  असीम कण्टकाकीर्ण अवस्थाकाे सामना गर्नु परिरहेकाे हाे । अतः जनतामा प्रकीर्ण यही मनाेभावकाे पर्दा जेन-जेडले गत भदाै २३/२४ का जन-विद्राेहद्वारा नाङ्गाे रूपमा उघारिदिएकाे  थियाे । यसलाई छिमेकी लगायत नेपाललाई चिन्ने विश्व-समाजले पनि यसरी नै बुझेका हुनन् । त्याे केवल दुईदिने विद्राेहले संविधानलाई थपक्कन  ‘अतिथि’  स्वरूपमा राखेर  जनमतकाे बल प्रदर्शन गरेकाे मानिंदा काे बलियाे भन्ने स्पष्ट पहिचान गराएकाे पाइन्छ  । तर, उसकाे अस्तित्व पनि गैसस-अगैसस तथा सत्तालाेलुप दलका गाेठ-गाेठमा पालित-पाेषित घुसपैठियाहरूले धुलाम्मे बनाउने भगिरथ प्रयास गरिरहेका देखिंदाे छ ।

आफ्ना आँखैमा पसेकाे कसिङ्गर आफ्नै आँखाले देख्न नसके जस्तै अवस्था जेन-जेडभित्र पनि सिर्जना भएकाे शंका जनसंख्याकाे लगभग ९०-९५%-ले गरिरहँदा पनि ऊ ( जेन-जेड) निःशंक झै देखिरहेकाे छ र उसैले स्थापना गरेकाे माैजूदा सरकार पनि यसतर्फ सचेत हुन सकिरहेकाे देखिंदै छैन । जेन-जेडले व्यक्तिगत र नीतिगत भ्रष्टाचार , शासकीय स्वेच्छाचारिता निर्देशित सरेआम कुशासनद्वारा पीडित-प्रताडित र अवकुण्ठित अत्यधिक  बहुसंख्यक नेपाली भावनाकाे प्रतिनिधित्व गर्ने वचनबद्धताका साथ विद्राेह नारेकाे थियाे – जाे राज्यसत्ता कब्जामा राखेर वा पालाे पर्खेर  देश र देशवासीका, यस शताब्दी-साैम्य, हक-अधिकार निचाेरनाचाेर पार्दै शासकीय शक्तिले स्वधन्य बन्दै आएका र बन्न चाहने लाेभी-पापीहरूकाे बहिर्गमनलक्षित थिए। र, यही थियाे अधिक अधिकांश पछाैटे, निरीह र निर्धा नेपालीका अन्तर्यकाे आधारभूत पर्खाइ पनि । विद्राेहकाे प्रारम्भिक दाैडानमा के-के भए त्यसकाे फेहरिस्त अब आवश्यक नहाेला, तर त्यतिबेलाका कतिपय घटनाकाे स्मरण गर्दा अहिले मात्र हाेइन, भाेलिका दिनमा पनि नेपालीले मिठाे अनुभूति लेलान् भन्ने स्थिति जीवन्त बनेकाे बुझिन्छ । अब जेन-जेडले  भदाै २३ कै स्थितिमा अभ्यन्तरबाटै एक ढिक्काे भएर आफ्नाे  ‘सर्वसम्मत’ नायक (संयाेजक) मुकर्रर गर्न सके अहिले  क्रमशः बढिरहेकाे अन्याेल हट्ने बाटाे लाग्नेछ  । साथै,  जेन-जेडलाई ‘असफल किनार’-मा फ्याँकेर आफ्नाे साविक तानाशाही ढबका ढलीमली पुनः स्थापित गर्न न्वारानदेखिकाे नानाथरि शक्ति प्रयाेगमा लागेका नेता र तिनका झाेले आशेपासे पाउभक्तहरूकाे प्रयत्न, त्यस बिन्दुबाट, धुल्याउन सहज हुनेछ । बहुप्रतिशत नेपालीमा यही आग्रह प्रखर छ ।

किनभने, अहिले जेन-जेड शिविरमा विस्तीर्ण अल्मलजन्य कमजाेरी र त्यसबाट नागरिक अनुभूतिमा उत्पन्न अन्याेलकाे मूल जराे यही देखिंन्छ । यसका अतिरिक्त जेन-जेडकाे विद्राेहले बनाएकाे सरकारले पनि साेे भावभूमिबाट विमुख नभई जेन-जेडले आँकेकाे मार्गचित्रका प्रति पूर्णतः उत्तरदायी चलखेल जन-समाजमाथि, दृश्यमै, प्रक्षेपण गर्दै गए त्यसबाट आश्वस्त हुने जनमनकाे प्रेरणा उसकाे सफलताकाे सहयाेगी हुनेछ । जन-विद्राेहले तुल्याएकाे सरकार अघिल्ला नेता-अगुवाहरूले लेखेर आफ्नाे संख्या-शक्तिकाे ‘हा-हु’ र ताली पिटाइले स्वीकृत गरेकाे संविधानकै ताल र भाकामा नाच्ने काम गरिरहे या जन-विद्राेहमा ७६ नेपालीकाे जीवन-बलिदान स्वतः अपमानित हुँदैन र ?- याे प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । बस्, आजलाई यति नै ।