अपराधराजनीतिसमाचारस्थानीय

जेनजी आन्दोलनबाट झापाका १४ पालिका पूर्ण प्रभावित

भद्रपुर । जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा केही अराजक मखुण्डोधारी समूहको घुषपैठ हुँदा अरबौका भौतिक संरचनामाथि क्षति पुगेको छ ।

भदौ २४ गते भएको प्रदर्शनमा अराजक समूहले घुषपैठ गर्दा १४ वटा पालिका भित्र सरकारी र निजी संरचना क्षतविक्ष पार्दा अरबौंको नोक्सानी भएको हो ।

वडा तहदेखि नगरपालिका, प्रदेश तथा संघीय सरकार मातहतका सरकारी कार्यालय, जनप्रतिनिधि, व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाट गरिदा अरबौं क्षति भएपछि त्यस यता कुनै पनि निकायले सेवा प्रवाह गर्न सकेका छैनन् भने जनजीवन समेत सामान्य बन्न सकेको छैन ।

झापाका १५ वटा पालिकामध्ये हल्दिवारी गाउँपालिका मात्र आक्रमणबाट जोगिन सफल भएको छ । अरु १४ वटै पालिकामा पालिका कार्यालय र वडा कार्यालयहरुमा समेत आगजनी र तोडफोड भएको छ । त्योसंगै जनप्रतिनिधि र राजनीतिक दलका नेताको घर र गाडी आन्दोलनकारीको निशानामा परेका छन् । आन्दोलनकारीहरुले एमाले , कांग्रेस र माओवादीको पार्टी कार्यालयमा समेत आगजनी गरेका छन् । सरकारमा रहेको एमालेलाई लक्षित गरिएको जेनजीको आन्दोलनमा बढी गरेर एमालेका जनप्रतिनिधि र नेताहरुले क्षति व्यहोर्नु परिरहेको छ । प्रारम्भिक विवरण अनुसार झापामा डेढ सयवटा तोडफोड र आगजनीका घटना भएको सुरक्षा श्रोतको विवरणले देखउछ ।

यसैबिच भद्रपुर नगरपालिका क्षेत्र भित्र निम्नानुसार क्षति भएको देखिन्छ ।
क) भद्रपुर न.पा.–१ स्थित कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको बुबा मोहनप्रसाद ओली बस्ने घरमा आगजनी र तोडफोड ।
ख) भद्रपुर न.पा. –१० स्थित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाको घरमा आगजनी र तोडफोड ।
ग) भद्रपुर न.पा.– ३, ४, ५, ६ ,७ र १० नं वडा कार्यालयहरुमा तोडफोड र आगजनी ।
घ) भद्रपुर न.पा.–८ स्थित सघन सहरी विकास कार्यालयमा तोडफोड र आगजनी ।
ङ) भद्रपुर न.पा.–८ स्थित घरेलु उद्योगको कार्यालयमा तोडफोड र आगजनी ।
च) भद्रपुर न.पा.–८ स्थित पूर्वाधार विकास कार्यालयमा तोडफोड र आगजनी ।
छ) भद्रपुर न.पा.–८ स्थित नगर प्रमुख गणेश पोखरेलको घरमा तोडफोड र आगजनी ।
ज) भद्रपुर न.पा.–५ स्थित भद्रपुर भन्सार कार्यालयमा तोडफोड र आगजनी ।
झ) भद्रपुर न.पा.–५ स्थित वडा प्रहरी कार्यालयको भवनमा तोडफोड र आगजनी ।
ञ) भद्रपुर– ६ मा रहेको उपप्रमुख राधा कार्कीको घरमा आगजनी आगजनी गरेको देखिन्छ ।