झापामा जेनजी आन्दोलन उग्र, अरबौँको क्षति
झापा । सरकारले हिजो १९ जनाको गोली हानी हत्या गरेको विरोधमा आज देशभर जेनजी आन्दोलन उग्र बन्यो । झापामै अरबौँको भौतिक क्षति भएको छ ।
जिल्ला प्रशासनले बिर्तामोड र दमकमा कर्फ्यु तथा भद्रपुरमा निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले तोडफोड र आगजनी चर्काए । भद्रपुरमा जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गर्दा प्रहरीसँग झडप भएको थियो । झडपमा नेपाल प्रहरीले दर्जनै असुरो ग्यास तथा हवाइ फायरिङ्ग गरेको थियो । त्यसपछि प्रदर्शनकारीहरूले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निवास, वडा कार्यालय, नगरपालिका भवन, भन्सार, प्रहरी चौकीलगायत कार्यालय र घरहरूमा आगजनी गरेका थिए ।
बिर्तामोडमा एमाले, कांग्रेस, माओवादीका पार्टी कार्यालय, नगरपालिका, प्रहरी चौकी, टेलिकम, यातायात कार्यालय, भाटभटेनी लगायतमा आगजनी भयो । मेचीनगर, धुलाबारी, काँकडभिट्टा, इटाभट्टा र भन्सार कार्यालयदेखि जनप्रतिनिधि र नेताहरूका निजी घरहरू समेत क्षतिग्रस्त भए ।
दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवाससहित नगरपालिका, नेताहरूका घर, माओवादी कार्यालय र भाटभटेनीमा आगजनी भयो । कनकाई, गौरदाह, कचनकवल र अर्जुनधारा पालिकामा समेत तोडफोड र आगजनी भएका छन् ।
तस्विर : विगम श्रेष्ठ









































