मानव—हात्ती द्वन्द्व अन्त्य हुनै पर्छ

झापामा मानव—हात्ती द्वन्द्वको श्रृंखला निकै लामो भइसकेको छ । तराइको घना जंगल चारकोशे झाडीको महत्वपूर्ण क्षेत्रफलको प्रवेश विन्दु रहेको झापा भारतीय जंगलबाट नेपाल आउने हात्तीको मार्गस्थल पनि हो ।

यसैकारण झापामा जंगल साँघुरिदै गएर बस्ती विस्तार भएसंगै हात्ती—मानव द्वन्द्वको शुत्रपात हुन पुग्यो । यस द्वन्द्वको दीर्घकालीन समाधानका लागि पटक–पटक स्थानीयले सरोवारवालाको ध्यानाकर्षण गरे तर पनि समाधानको दीर्घकालिन उपाय निस्कन सकेन । यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा दिन प्रतिदिन बढ्दो छ । अन्नबालाी पाक्ने समयमा किशानलाई आफ्नो उपज जोगाउन निकै कठिन परिरहेको छ । सरोकारवाला निकायका रूपमा रहेको सरकारले प्रभावकारी काम नगरेको आरोप हात्तीबाट पीडित किसानहरूको छ ।

हात्तीले घर भत्काएको, बालीमा क्षति गरेको क्षतिपूर्ति पाउन पनि महिनौँ कुर्नुपर्ने बाध्यता रहेको किसानहरूको दुखेसो छ । ‘सरकारले न समयमा क्षतिपूर्ति दिन सक्छ न त हात्ती आतंक नै रोक्न सक्छ । वर्षौंदेखि मानव—हात्ती द्वन्द्व सहेर बसेका किशानको समस्या सरकारले बुझ्नु पर्दैन भन्ने प्रश्न उठिरहेको भए पनि चित्त बुझ्ने जवाफ आउन सकेको छैन ।

उत्तर पूर्वी झापामा सरकारले करिब डेढ करोड खर्चिएर निर्माण गरेको इलामको पाटापुरदेखि मेचीनगरको नकलबन्दासम्मको १७ किलोमिटर लामो विद्युतीय तारबार बनाए पनि अहिले निष्प्रभावी बन्दै गएको छ । विद्युतीय तारदेखि पनि हात्ती डराउन छाडिसकेको अवस्था छ । अब हात्ती छेक्ने तारबार बाहेको अर्को उपायको खोजी जरुरी देखिन थालेको छ ।

स्थानीय अग्रजहरूका अनुसार वि सं २०३० सालतिर भारतीय सिमावर्ती जंगलबाट झापातिर हात्तीका हुल आउनथाले । तर, त्यतिविघ्न आतंक वा बिनासको अवस्था थिएन । जब २०३४ साउन ९ मा तत्कालिन बाहुनडाँगी गाउँ पञ्चायत–९ की यशोदा विश्वकर्मा हात्तीबाट मारिइन् । त्यसपछि यहाँ मानव–हात्ती द्वन्द्व सुरु भयो । त्यो बेला घना जंगल रहेको यो क्षेत्र विस्तारै बस्ती विकास हुँदै गयो । विज्ञहरूका अनुसार हात्ती करिडोरमा बस्ती बस्न सुरु भएपछि नै द्वन्द्व सुरु भएको हो ।

पञ्चायतकालका वन विभागका बडाहाकिम गञ्जबहादुर कार्कीका छोरा रविन कार्कीले लेखेको ‘बाहुनडाँगी सेरोफेरो’ किताबमा ०३० सालपछि मात्रै बाहुनडाँगीमा मानव—हात्ती द्वन्द्वको सुरु भएको उल्लेख छ । यो द्वन्द्वको क्रम उत्तर पूर्वी झापाबाट दक्षिण पश्चिम हुँदै समग्र झापामा फैलिसकेको छ । मृत्यु हुने मानिसमा अधिकांश किशान मजदुर रहेकै कारण आफ्नै घर–खेतमा हात्तीे आक्रमणमा परेर ज्यान गुमाएको पाइएको छ । यस्तो विकराल बन्दै गइरहेको मानव—हात्ती द्वन्द्व नियन्त्रण गर्न सरकार किन मौन छ ? यस प्रश्नले उत्तर खोजिरहेको छ । ज्यानमारा खेलका रूपमा रहेको मानव—हात्ती द्वन्द्वको अन्त्य हुनै पर्छ । सरोकारवाला निकायले द्वन्द्व रोक्न पहल गर्नै पर्छ ।

मानव–हात्ती द्वन्द्वलाई कम गर्न सरकारले झापामा आर्थिक वर्ष २०७१÷०७२ बाट विद्युतीय तारवारको योजना अगाडि सारेर प्रभावित क्षेत्रमा तारवार लगाइरहेको भए पनि द्वन्द्व घट्न सकेको छैन ।

वन विभागका अनुसार झापामा मानव–हात्ती द्वन्द्वलाई न्युनीकरण गर्न आर्थिक वर्ष २०७१÷७२ देखि हालसम्म झापामा करिब १०० किलोमिटर विद्युतीय तारबार जडान गरिएको भए पनि हात्ती र मान्न्छे मर्ने तथा अंगभंग हुने क्रम नघटेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा झापामा मानव–हात्ती द्वन्द्वमा परेर चारवटा जंगली हात्ती मरिसकेका छन् । गत आर्थिक वर्षमा पनि यस जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए । त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापाभित्र चार जनाको ज्यान गइसकेको अवस्थाले पनि तारबार मात्र मानव–हात्ती द्वन्द्व रोक्ने साधन बन्न नसक्ने प्रमाणित हुन्छ ।

मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको समयमा उचित मर्मत सुधार नहुँदा कतिपय स्थानका तारबार चुडिएर हात्तीलाई गउँ बस्ती पस्न रोक्न नसकेको अवस्था छ ।