सिटौलाको दवावपछि भद्रपुर–विर्तामोड सडक खण्डको काम तीव्र
भद्रपुर । राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले भद्रपुर–विर्तामोड सडक अन्र्तगत चन्द्रगढी खण्डको काम तीव्र गतिमा अगाडि बढाउन नियामक सडक विभाग, जिल्ला प्रशासन कार्यालय झापा र निर्माण ठेकेदारलाई आग्रह गरेपछि अलपत्र सडकको निर्माण थालिएको छ ।
भद्रपुर १० देउनिया खोलायता चन्द्रगढीसम्मको ३ किलो मिटर सडक विवादमा परेको भन्दै सडक विभाग तथा निर्माण ठेकेदारले काम नगर्दा अलपत्र परेपछि स्थानीय बासिन्दा समेत रहेका सिटौलाले वर्षौं निर्माण नभएको सडक अबिलम्ब निर्माण गर्न दवाव दिएपछि सडक निर्माण थालिएको हो ।
निर्माण स्थलमा खटिएका सडक विभाग दमकका इञ्जिनियर उज्वल खतिवडाका अनुसार असार मसान्तसम्ममा बेस ग्राभेलको काम सम्पन्न गर्ने गरी भद्रपुर–विर्तामोड सडक खण्डको देउनिया खोला पुलदेखि चन्द्रगढीसम्मको सडकको रेखाङ्कन क्षेत्रमा काम तीव्र पारिएको जानकारी दिए ।
इञ्जिनियर खतिवडाका भनाइमा यस पटक थपिएको म्याद अनुसार पौष मसान्तसम्ममा सडक निर्माण भइसक्ने छ । चन्द्रगढी क्षेत्रमा रहेको सडक विस्तारको विवाद समेत सुल्झिसकेका कारण अब सडक निर्माण कार्य समयमै पूरा हुने छ ।
यसै बीच सडक मिचेर घर टहरा निर्माण गर्नेहरूले भद्रपुर–विर्तामोड सडक खण्डको चन्द्रगढी क्षेत्रमा सडक विस्तार रोक्न दायर गरेको रिट निवेदन अदालतले खारेज गरेपछि निर्माण अलपत्र परेको सडक निर्माणको बाटो खुलेको छ ।
भद्रपुर–विर्तामोड सडक अन्तरगतको चन्द्रगढीको लेखनाथ चौक पूर्व झण्डै एक किलो मिटर सडक बिस्तारमा बाधा सिर्जना गर्दै निर्माण कार्य रोक्न माग गरेर सडक मिचेर बनाएका घर टहराका मालिक समेत रहेका स्थानीयले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
रिट खारेजपछि भद्रपुर–१० को लेखनाथ चोकदेखि भैरे चोकसम्म पूर्ण रूपमा रोकिएको सडक निर्माण कार्य सुचारू गर्न बाटो खुलेको हो ।
भद्रपुर–विर्तामोड सडकअन्तर्गत गरामनी–चन्द्रगढी खण्डको ८.४१ किलोमिटर सडक निर्माणको ठेक्का २०७७ माघ ६ गते संझौता भएको थियो ।
काठमाडौंको एमएस कन्टेक प्रालिले २०८० साल साउन ५ गते अर्थात् ३० महिनामा बिर्तामोड–भद्रपुर सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यस अवधिभित्र करिब ३० प्रतिशतमात्र काम सम्पन्न भएको थियो ।
त्यसपछि पटक पटक गरी सडक डिभिजन कार्यालय दमकले गत वर्षको फागुन ६ गतेसम्म म्याद थप गरेको थियो । पटक–पटक गरिएको म्याद थपबाट पनि कन्टेक प्रालिले काम पुरा नगरेपछि कञ्चन निर्माण सेवाका प्रोप्राइटर केदार गिरीले बाँकी रहेको काम गर्ने गरी पेटी कन्ट्याक्टमा जिम्मेवारी लिएर काम गरिरहेका छन् । उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माण रोक्न मुद्धा परेपछि चन्द्रगढीको लेखनाथ चौकयता निर्माणको कुनै पनि काम भएको छैन भने लेखनाथ चौक उत्तर देउनिया खोला पुलसम्म सडक फराकिलो बनाउने, माटो भर्ने र नाला बनाउने काम सुरू भए पनि सुस्त गतिमा चलिरहेका कारण स्थानीयले सास्ती भोग्नु परिरहेको छ भने दुर्घटनाको जोखिम समेत बढिरहेको स्थानीयको गुनासो छ ।
यस गुनासो बारे जिज्ञासा राख्दा इञ्जिनियर खतिवडा विगतमा देखिएका कमजोरी अब नदोहोरिने बताउँदै पछिल्लो पटक थप गरिएको म्यादका कारण समग्र सडकको निर्माण प्रगति ७१ प्रतिशत पुगेको दाबी गर्छन् । उनले अन्तिम पटक थपिएको २०८२ पौष मसान्तभित्रै सवै काम पूरा भएरै छाड्ने समेत ठोकुवा गरेका छन् ।