भद्रपुरमा युवा सम्मेलन सुरू

भद्रपुर । भद्रपुरमा दोश्रो संस्करणको युवा सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने युवा सम्मेलन दोश्रो संस्करणका रूपमा सुरू भएको हो ।

कोशी प्रदेशकै पहिलो युवा सम्मेलन गर्ने स्थानीय सरकार भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि निरन्तरता स्वरूप दोश्रो संस्करण आयोजना गरेको हो ।

युवाहरूको सशक्तीकरण जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो भन्ने नाराका साथ शुरू भएको दोस्रो नगर सम्मेलन ‘२०८२’ को उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए ।

भद्रपुर नगर युवा परिषद्को आयोजनामा २२० जना युवाको सहभागितामा भएको सम्मेलनको अध्यक्षता नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख पोखरेल, नगर उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, पार्टी प्रतिनिधि असारू राजवंशी, हिक्मत (डिल्ली घिमिरे), रेडक्रस झापाका सभापति लोकराज ढकाल, भद्रपुर नगर पालिकाकी सामाजिक विकास समिति–संयोजक सीता गुरागाईं ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भद्रपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रमको सञ्चालन नगर युवा परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले गरेका थिए ।

नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारात्मक उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ शुरू भएको सम्मेलनले उनीहरूमा सामाजिक तथा सामुदायिक दायित्वको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यावहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग पुग्ने विश्वास राखिएको छ ।

दुई दिने कार्यक्रमको पहिलो दिन युथ मोटिभेसन अफ लिडरसीप विषयमा डा सन्देशदास श्रेष्ठ, युथ एण्ड क्लाइमेट एक्सन विषयमा अर्नव चौधरीले र कवि र कविताका विषयमा नवराज पराजुलीको प्रस्तुति रहेको थियो ।

त्यस्तै दोस्रो दिन इन्जिनियर आरिफ अली, प्रतीक राउत, सांसदद्वय महेश बर्तौला र रामहरि खतिवडा, रजनी थापा र सुगारिका केसीको सहजीकरण रहने छ । कार्यक्रममा सारङ्गी फिल्मका चर्चित संगीतकार तथा गायक प्रशान्त शिवाकोटीलाई सम्मान गर्ने तथा भद्रपुर घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न गर्ने तयारी छ ।