राजनीतिलेखसमाचारस्थानीयस्वास्थ्य

जलथल वन संकटमा पर्नुको दोष कमाइखाने प्रवृत्ति

द्रोण अधिकारी
शुद्ध वातावरण निर्माणको आधार जैविक अस्तित्व पनि हो । यस अस्तित्वको संरक्षण वन क्षेत्र मुख्य मानिने गर्छ । पछिल्ला वर्षहरूमा जैविकता संकट चुलिएको बहस तीव्र छ । यस वहससंग जोडिएर चारकोशे अवशेषका रूपमा रहेको जलथल वन पनि आउने गरेको छ ।

पूर्वी दक्षिणी झापामा रहेको जलथल वन जैविकताका दृष्टिले एसिया महादेशकै उत्कृष्ट जैविकता समेटिएको वनका रूपमा परिचित छ । यस वन क्षेत्र पछिल्ला वर्षहरूमा सुरक्षाको जिम्मा लिनेहरूले कमाइखाने भाँडो बनाउने प्रवृत्ति बढेसंगै संरक्षणभन्दा संकटतिर जाने संकेत देखिएको छ । यस वनमा रहेको जैविक विविधता जोगाउन जिम्मा लिनेहरूले दाताहरूबाट विगतमा गरेका राम्रा अभ्यासलाई निरन्तरता दिन नसकेपछि जैविक अस्तित्व संकटमा पर्न सक्ने देखिएको हो । दशक अगाडिसम्म यो वन झण्डै खण्डहर थियो ।

सरकारी मान्छेका लागि राम्रो कमाइ खाने दुहुनो गाई बनेको यस वनमा रहेको जैविकता मास्न तँछाडमछाड प्रवृत्ति रहँदा वन मासिने क्रम तीव्र थियो भने जंगली जनवार तथा जीव जन्तु बासस्थानविहिन बन्दै जाँदा लोपोन्मूख अवस्थामा पुगिसकेका थिए । यसै बिचमा फरेष्ट एक्सन नेपाल नामक गैर सरकारी संस्था यहाँको जैविकताको अध्ययनका लागि प्रवेश गरेपछि विस्तारै संरक्षणको आभाष पाएको जलथल वन दश वर्षको निरन्तर अवधि पार गर्दै जाँदा हरियाली सहित जैविकताको पुनरजीवन फर्कन गएको आभाष स्थानीय स्तरमै भइरहेको छ । यस संस्थाले स्थानीयलाई जंगलको मूल स्वरूप संरक्षण गर्न सिकाएको भए पनि अनुदान आउँ छ कि आउँदैन भन्ने प्रश्नमा स्थानीय संरक्षकर्ता अलमलिदा फरेष्ट एक्सन नेपालले छोडेको दिनपछि जलथलको जैविकता रहने हो कि होइन ? प्रश्न खडा भएको छ ।

दक्षिण एसियाकै जैविक विविधतामा धनी जलथल वनमा रहेका जैविक अस्तित्वलाई निरन्तर संरक्षण गर्न सकिएन भने अबको १० वर्षपछि वन फेरि पहिलाकै अबस्थामा पुग्ने निश्चित छ । यस वन क्षेत्र भित्र अनुसन्धानमा संलग्न विज्ञहरूले दशकयता गरेको निरन्तरको अनुसन्धानबाट देशभर ६ सय प्रजातिका रुख रहेकोमा जलथलमा एकचौथाई भन्दा बढी अर्थात १५५ प्रजातिका रुख पाइन्छन् । त्यस्तै उन्यू ४३ , झारपात २४६ , लता÷ लहरा ६४ , बुट्यान ७८ , पाम ४ प्रजातिका पाइन्छन् । त्यस्तै प्राणीमा पुतली १५७ , माछा ४३ , उभयचर १४ , सरिसृप ३२ , चरा २३५ र स्तनधारी २७ प्रकारका भेटिएका छन् । त्यस्तै ढुसी ÷ च्याउ ८४ प्रकारको भेटिएको छ ।

जलथल नेपालको महत्वपूर्ण र विशिष्ट प्रकारको वन भएको अध्येयताको ठहर छ । पूर्वी तराईमा मूल वनबाट छुट्टिएको सबैभन्दा ठूलो वनखण्ड जलथल वनमा ५९० वनस्पति र ३५१ मेरुदण्ड भएका प्रजातिहरुको बासस्थान भएको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिणपूर्वी एसियाका महत्वपूर्ण वनस्पतिका प्रजातिहरु, उष्ण प्रदेशीय सदाबहार बुच्काहरु, नेपालमा लटहरको सबैभन्दा ठूलो वन, तराईमा थाकलको प्राकृतिक थलो र १३ वटा संकटापन्न प्रजातिको बासस्थान जस्ता विशेषता जलथल वनमा रहेको छ ।

यस वनअन्तर्गत रहेका सामुदायिक वन उपभोक्ता समूहहरूले हरेक वर्ष विश्व वातावरण दिवस तथा अन्तर्राष्ट्रिय जैविकता दिवसमा कार्यक्रम गर्दा संकटमा पर्दै गएको भनेर गंभीर चिन्ता गर्ने गरेका छन् । फरेष्ट एक्सन नेपाल र डिभिजन वन कार्यालयको सहकार्यमा भए गरेका राम्रा अभ्यासहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिने गरेका वन समूहहरूले दाताको भार र आश पालेर चिन्ताको भारी बिसाउने प्रवृत्ति हेर्दा यो वन संरक्षित गर्ने भन्दा वन देखाएर कमाइखाने प्रवृत्ति बढ्दो छ । जसले भविष्यमा जलथल वनको जैविकता जोगिने आधार देखाउँदैन ।

प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले सूचीकृत गरेको वनस्पति अनौकाठ , थाकल, रातो शिरीष, प्राणीहरू हात्ती, लाम्चे कछुवा , सालक जलथलमा रहेका छन् । त्यस्तै जलथल वनमा दुर्लभ भोटे लहरा पनि भेटिएको छ ।

परियोजनाका रूपमा आएको फरेष्ट एक्सनले वन र जैविकता जोगाउन सिकाएका अनुकरणीय अभ्यासहरूलाई जिम्मा पाएका वन समूहहरूले पालना गर्न मात्र सके यहााको जैविकता पूर्ण सुरक्षित हुनसक्छ । विगतमा सकिन लागेको वनलाई कसरी पुनरजीवन प्राप्त भयो अब कसरी बचाउन सकिन्छ भनेर जिम्मेवार भूमिकामा रहेका सबैजना लाग्नु नै जलथल वनलाई व्यवस्थित बनाउने आधार खडा हुनु हो ।

फरेष्ट एक्सन नेपालका संयोजक डा. लीलानाथ शर्माले सबैको आडमा जलथल वन अडिएको भन्दै वास्ता नगर्ने हो भने वन नरहन सक्नेतर्फ सचेत गराइरहेका छन् । उनले जैविक विविधता संरक्षणका लागि यहाँका सामुदायिक वनहरुले न्याय गर्न नसकिरहेको गुनासो गर्दै अहिले पनि चिन्ताजनक अबस्था रहेको भन्दै फरेष्ट एक्सन नेपाल र डिभिजन वन कार्यालयले मात्र गरेर जलथल वन संरक्षण नहुने बताउँछन् । उनले सामुदायिक वनहरू नै पहिलो जिम्मेवार भएकाले जैविकता संरक्षणमा लाग्नुपर्ने बताउने गरेका छन् ।

जलथल वनमा रहेको जैविक विविधताको महत्व बुझ्न स्थानीय उपभोक्ताहरू जागरूप नभएसम्म जलथल वन मानिसको जीवनयापनको केन्द्र त बन्ला जैविक विविधता बच्ने आधार बन्न सक्दैन ।

झण्डै एक दशकयता फरेस्ट एक्सन नेपालको नेतृत्वमा भएको अध्ययनबाट जलथल वनमा भएका रैथाने प्राकृतिक रूखहरूको प्रजातिको संख्या एकिन गरिएको छ । अध्ययनको नतिजा भारतबाट प्रकाशित हुने ‘प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अंकमा प्रकाशित भएको थियो । डा. लिलानाथ शर्मा, डा. भाष्कर अधिकारी र योगेन्द्रबिक्रम पौडेलको सहलेखनमा प्रकाशित रिसर्च आर्टिकल अनुसार जलथल वनका रूखहरूको प्रजातिको मौलिक पहिचान सहित अभिलेख गरिएको छ ।

जैविक विविधताको कुरा गर्दा रुखहरूको प्रजाति संख्याको विशेष चर्चा हुने गर्दछ तर आजसम्म जलथल जंगलमा रुखका कति प्रजाति छन् भन्ने यकिन तथ्यांक प्रकाशित भएको थिएन । चारकोशे जंगलको फडानी हुनबाट बचेको सानो खण्ड हो जलथल वन । रूखहरूको प्रजातीय विविधताको आधारमा नेपालमा पाइने एक चौथाई जस्तो रूखहरू जलथलमा भेटिएका छन् । जलथल वनले नेपालको कुल वनक्षेत्रको जम्मा ०.१ प्रतिशत भूभाग ओगटेको छ ।

तर यहाँ नेपालका लगभग २५ प्रतिशत रुखहरु भेटिनुले जलथल वन नेपालको सन्दर्भमा रुखहरुको राजधानी भनेर भन्दा अत्युक्ति नहुने तर्क अध्ययनको नेतृत्व गर्ने डा. शर्माको छ । यति सानो क्षेत्रफलमा यति धेरै संख्यामा रुखहरु नेपालमा अन्यत्र अभिलेख गरिएको छैन ।
झापाको हल्दिवारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा जोडिएको वन ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । कतिपय विश्वमै नपाइने वनस्पति र जीव समेत पाइने जलथल जंगललाई जोगाउनु पर्ने दायित्व भएकाहरू अरूले नै केही गर्लान् कि भनेर आशा राख्दै अनुदान वा आर्थिक सहयोगका लागि चिन्ता देखाएर दायित्वबाट भाग्दै गएको अवस्था छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म जलथल जंगलसित जोडिएको जैविक विविधता संरक्षित हुने छैन ।

यस जंगलको सिमसारको विशेषतालाई उजागर गरी रामसारमा सूचीकृत गर्नसके विश्वमा पर्यापर्यटनका लागि एकीकृत विकास गर्न सकिने छ । त्यसका लागि ठूलो लगानी र प्रयास चाहिने आवश्यकता पनि बुझ्न जरूरी छ । नेपालकै होचो ठाउँमा अवस्थित यस जंगलमा संसारमै नपाइने ६ वटा रुखका प्रजाति र ३ वटा वनस्पति भेटिएको विज्ञहरूको ठहर छ । जलथल जंगल जैविक विविधताले नेपालकै धनी भएको प्रमाण पनि यही हो ।

जलथल वनको चार वटा पालिकाका २२ वटा सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गर्दै आएका छन् । वनको जैविकता बचाउन स्थानीय सरकारले विशेष महत्व नदिँदा दाताको मुख ताकेर बसेका वन समूहरू अनुदान आउला र कार्यक्रम अगाडि बढाउँला भन्ने आशमा देखिन्छन् । वन संरक्षणको निगरानी गर्न बसेको रेन्ज पोष्टका नेतृत्वकर्ता वन फडान गर्न र रकम असुली गर्न समूहलाई दुहुनो गाई बनाएर कमाइ गरिरहेको अवस्था छ ।

चारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदुर पूर्वको एक मात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा हो । पूर्वी दक्षिणी झापाको भद्रपुर, कचनकवल, हल्दिवारी तथा बाह्रदशी गाउँपालिकाको सिमानासित गासिएको यस वनभित्र पाइने जैविकताको संरक्षणका लागि स्थानीय सरकार मुख्य जिम्मेवार हुनु पर्ने हो । नेपालमा रहेको वन क्षेत्र मध्ये विरलै मानिएको जैविक विविधताको वृहद स्वरूप भएको एक मात्र वन क्षेत्र भित्र जलथल वन पर्दछ । एशिया माहादेशमा रहेका वनहरू मध्येमा अधिक जैविक विविधता संरक्षित भएको मानिएको जलथल जंगल पछिल्ला वर्षहरूमा संकटमा पर्दै गएको छ । यस जंगलको संरक्षणको दायित्व पाएका सरोकारवालाहरू जैविक विविधता अनुकुल संरक्षणका काम गर्न असफल हुँदै गएका छन् ।

 

जैविक विविधता दिवसका दिन चिन्ता व्यक्त गर्छन् । मौका मिल्यो भने डलरको खेती पनि गर्छन् तर वर्षभरी अन्य दिन कता हराउँछन् पत्तो हुँदैन । यसैकारण यस वनमा पछिल्ला वर्षहरूमा वनमारा प्रजातिका झार तथा लहराहरूका कारण स्थानीय तथा रैथाने वनस्पती तथा आश्रित जीवको जीवनचर्यामा समेत संकट पैदा हुँदै गइरहेको छ । वनभित्र रहेका पानीका मुहान सुक्दै जाँदा जलचर तथा स्थल प्राणीको आहारा व्यवस्थापनमा पनि संकट पैदा हुँदैछ । यस वनमा रैथाने रूपमा बस्न थालेका हात्ती आहारा र पानीको अभावकै कारण आसपासका गउँ बस्तीमा पसेर अन्न बाली नष्ट गर्ने तथा जनधनको क्षति गर्ने क्रम बढिरहेको छ । मिचाहा प्रजातिका झार तथा लहराका कारण चरिचरण अभावमा परेका हात्ती, मृग,बँदेल, निलगाई लगायत स्थल प्राणी संकटको सामना गरिरहेका छन् ।

कतिपय विश्वमै नपाइने वनस्पति र जीव समेत पाइने जलथल जंगललाई जोगाउनु पर्ने दायित्व भएकाहरू अरूले नै केही गर्लान् कि भनेर आशा राख्दै अनुदान वा आर्थिक सहयोगका लागि चिन्ता देखाएर दायित्वबाट भाग्दै गएको अवस्था छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म जलथल जंगलसित जोडिएको जैविक विविधता संरक्षित हुने छैन । वर्षमा एकचोटी विज्ञ सहितका सरोकारवालाले जलथल वन अवलोकन तथा अन्तरक्रिया कार्यक्रमका गर्ने गरेका छन् ।

यस्ता कार्यक्रमले रूख मात्र जोगाउने नभएर वनमा रहेका सम्पूर्ण जैविक विविधता जोगाउन वन समूहहरुको दायित्व बुझाउन सकेको अवस्था पनि छैन । जलथल जंगल वास्तविक सिमसार भएको वन क्षेत्र हो तर, केही वर्षयता त्यस क्षेत्रको पानी अप्रत्यासित रूपमा घट्ने क्रम तीव्र हुँदा सुख्खा क्षेत्र बन्ने जोखिम बढ्दै छ । यस अवस्था निर्माण हुनुको कारण खोज्न विज्ञहरूको सहयोग आवश्यक परेको अवस्था छ । जिम्मेवार हुनु पर्ने स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिले पनि आवश्यकता अनुसार जिम्मेवारी प्रस्तुत गर्न सकेका छैनन् ।