भद्रपुरमा दोश्रो युवा भेला जेठ २३ र २४ गते हुने
भद्रपुर । दुई वर्ष अगाडि कोशी प्रदेशमै पहिलो पटक भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि यस वर्ष दोश्रो संस्करण हुने भएको छ ।
युवाहरूको सशक्तीकरण जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो भन्ने उद्देश्य बोकेर भद्रपुरमा दोश्रो नगर सम्मेलन ‘२०८२’ हुने भएको हो ।
भद्रपुर नगर युवा परिषद्को आयोजनामा जेठ २३ र २४ गते भद्रपुर युवा नगर सम्मेलन हुन लागेको परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिएका छन् ।
नगर सम्मेलनलाई सभ्य र भव्य बनाउने उद्देश्यले नगर युवा परिषद्ले नगर क्षेत्रका सरोकारवाला निकायसँग बृहत् छलफल समेत गरेको छ ।
छलफलमा कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै परिषद्का अध्यक्ष समेत रहेका नगर प्रमुख गणेश पोखरेलले नगर सम्मेलन मार्फत युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारात्मक उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । प्रमुख पोखरेलले युवाहरूमा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यवहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको प्रष्ट पारेका छन् ।
उक्त दुई दिने कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञहरू वैज्ञानिक तथा सामाजिक अभियन्ता, कवि, कलाकार लगायतले युवा नेतृत्व विकास, उद्यमशीलता, जीवनोपयोगी सीप, सकारात्मक सोच, मिडिया तथा डिजिटाइजेसन, दिगो विकास लक्ष्य, सुरक्षित आवास सहर, युवा प्रतिभा प्रस्तुतीकरण तथा सम्मान, लागूपदार्थ दुव््र्यसनी न्यूनीकरण, सुशासन लगायतका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।
नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता भएको कार्यक्रममा पत्रकारहरूसित अन्तरक्रिया समेत गरिएको थियो ।
युवा परिषद भद्रपुरका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सेनाका अनुसार युवा भेलामा १६ देखि २४ वर्षसम्मका दुई सय २० जनालाई सहभागी गराइने छ । जसमध्ये वडाको सिफारिसमा प्रति वडाबाट ६ जनाका दरले ६० जना, खुल्ला आवेदनबाट १०० जना, अन्य युवा सम्बन्धि संघ संस्थाबाट ३० जना नगर युवा परिषदबाट १० जना र पर्यवेक्षक सहभागी २० जनालाई छनोट गरी कार्यक्रममा सहभागी गराइने जनाइएको छ ।
