समाचारसम्पादकीयस्थानीय

हात्ती रोक्ने तारबार समयमै मर्मत गर

झापामा दशकौंदेखि रहेको मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको समयमा उचित मर्मत सुधार नहुँदा हात्ती गाउँ बस्ती पसेर क्षति गर्ने क्रम घट्न सकेको छैन । जडान गरिएका कतिपय स्थानका तारबार चुडिएर हात्तीलाई गउँ बस्ती पस्न रोक्न नसकेको अवस्था छ । सरकारी पक्ष जानकार भएर पनि तारबार मर्मतमा उदासिन हुनु गाउँ बस्तीका मानिसले हात्तीका कारण समस्या भोग्नु हो ।

यस समस्यालाई समयमै रोक्न नसक्दा हरेक वर्ष मानिस र हात्ती द्वन्द्वकै कारण अकालमा ज्यान गुमाइ रहेका छन् । चालु आर्थिक वर्षमा मात्र हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ भने ४ वटा हात्ती पनि मृत फेला परिसकेका छन् । मानिस र हात्तीको मृत्युका घटना आपसी द्वन्द्वको परिणाम पनि हो ।

डिभिजन वन कार्यालयले मानव–हात्ती द्वन्द्व रोक्न लगाइएको तारबार समुदायलाईृ हस्तान्तरण गरिसकेको छ । समुदायले जिम्मा लिएको तारबारको सुरक्षा र मर्मत राज्यको सहयोगबिना सम्भव छैन । प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७४ सालबाट शुरू गरी २०७६ चैत सम्ममा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको थियो । विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण भै सकेको छ ।

मानिस पछिको बुद्धिमान प्राणी मनिएको हात्तीले आफ्नो अनुकुलता बिपरितका अवरोध हटाउन विभिन्न प्रयास गरिरहन्छ । हात्तीको आक्रमणको निशानामा परेका तारबारका खम्बाहरू ढलिरहेको अवस्था छ । तारबार त लगाइए तर रेखदेख र मर्मत संहारको उचित प्रबन्ध हुन सकेन । झण्डै एक दशक अगाडि लगाइएका केही स्थानका तारबार जीर्ण भएकाले मर्मत गर्नु पर्ने अवस्था छ । झापामा द्वन्द्वलाई कम गर्न सरकारी कोषबाट ११ करोडबढी खर्च भइसकेको भए पनि समस्या सामान्य बन्न सकेको छैन । त्यस्तै मानव–हात्ती सह–अस्तित्व निर्माणका लागि पनि विभिन्न कार्यहरू भइरहेको झापामा करोडौं रकम खर्च भइसकेको देखिन्छ । मानव–हात्ती द्वन्द्व कम गर्न लगाएको तारबारको उचित मर्मत सुधार गरी हात्तीलाई बस्तीमा पस्नबाट रोक्ने, अतिप्रभावित क्षेत्रमा थप विद्युतीय तारबार गर्नुपर्ने, हात्ती धपाउनका लागि आवश्यकपर्ने उचित गाडी, ट्र्याक्टरको व्यवस्था गर्नुपर्ने, समस्याग्रस्त हात्तीको पहिचानगरी र तीनको व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको सुझाव छ । तर, सरकारी पक्षबाट सही गतिमा सुझाव कार्यान्वयन हुन नसक्दा समस्या हल हुन सकिरहेको छैन ।

विज्ञहरू हात्ती पर्यटनमा जोड दिने, हात्तीले नखाने चिया, कागती, ल्वाङ, सुपारी, बेसार आदिको खेतीपाती प्रणालीको सुरू गर्ने, पीडितलाई आर्थिक सहुलियत दिनुपर्ने सुझाव स्थानीय तहदेखि संघीय तहसम्मका सरकारलाई दिए पनि कार्यान्वयनमा आउन नसक्दा समस्या हल हुन नसकेको अवस्था छ । द्वन्द्वका कारण हुने मानवीय क्षतिलाई सम्बोधन गर्न सरकारले राहत प्रदान गर्ने व्यवस्था त गरेको छ । मानव मृत्यु भएमा पीडित परिवारलाई १० लाखसम्म राहत प्रदान गरिन्छ । गम्भीर घाइते भएमा दुई लाख, सामान्य घाइते भएमा २० हजार र अङ्गभङ्ग भएमा पाँच लाख सम्मको राहत उपलब्ध गराइन्छ ।त्यस्तै, घरगोठ क्षतिका लागि २० हजार र अन्नबाली क्षतिका लागि १० हजार राहत दिने कानुनी प्रावधान छ ।

यस प्रावधानले मात्र हात्ती मानव द्वन्द्व घट्ने अवस्था छैन । समस्याको जरो पहिचान गरी समाधानका उपाय नखोजी द्वन्द्व रोकिदैन । यस कारण पनि लगाइएका तारबार समयमै मर्मत हुनै पर्छ । त्यसले केही मात्रामा भए पनि हात्तीलाई मानव बस्तीमा पस्नबाट रोक्न सहयो गर्छ ।