सडक सुचारू नहुँदा धान—मकै सुकाउने ठाउँ भो हुलाकी सडक
भद्रपुर । हुलाकी सडकको झापा खण्डमा कालोपत्रे निर्माण लगभग सकिए पनि बिरिङ र माई खोलामा पुल निर्माण सम्पन्न नहुन्दा कालोपत्रे सडक धान र मकै सुकाउने खलो बन्दै गएको छ ।
झापाको सदरमुकाम भद्रपुरको मेची पुलबाट सुरू भएर कञ्चनपुरको महेन्द्र नगरमा टुंगिने हुलाकी सडकको झापा—मोरङ खण्ड लगभग निर्माणको अन्तिम चरणमा रहे पनि झापाबाट जोड्ने सडकमा पर्ने पुल नबन्दा झापा—मोरङ खण्डको सडक धान र मकै सुकाउने खलो बनेको हो ।
पुलका कारण सञ्चालन हुन नसक्दा यो सडक हुदै मोरङको विराटनगर जान स्थानीयलाई निकै ठूलो सकस परिरहेको छ । महेन्द्र राजमार्गभन्दा आधा कम दुरीमा दक्षिणी झापाका बासिन्दाले मोरङको यात्रा गर्न पाउने हुलाकी सडक सहज रूपमा सञ्चालन नहुँदै भत्कन थालेपछि भने पुल बन्दा सडक भत्केर खण्डहर हुने चिन्ता स्थानीयमा देखिएको छ । सडक बन्दा पुल छैन, पुल हुँदा सडक नहुने हो कि भन्ने आशंका देखिन थालेका खाल्डाले संकेत गर्दा हुलाकी सडक सपनाको सुख मात्र बन्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।

यता झापा स्थित कृषि ज्ञान केन्द्र भद्रपुरबाट अनुदानमा प्राप्त लाखौंका दुईवटा ड्रायर मेशिन कवाडीमा परिणत हुँदा झापा गाउँपालिकाका किसानहरु हुलाकी सडकमा मकै सुकाउन बाध्य भएको बताउँछन् ।
कृषि ज्ञान केन्द्र र झापा गाउँपालिकाको अनुदान सहयोग तथा आफ्नो लगानी गरी करिव ३५लाख रुपैयाँ खेर फाल्दै झापा गाउँपालिकाका दुईवटा सहकारी संस्थाले मकै सुकाउने मेशिन कवाडीमा परिणत गरेको स्थानीय किशानको भनाइ छ ।
आर्थिक वर्ष २०७७–०७८ मा मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र भद्रपुरबाट ५० प्रतिशत अनुदानमा कुमरखोद साना किसान कृषि सहकारी र मारसल कृषि सहकारी संस्थाले दुईवटा ड्रायर मेशिन प्राप्त गरेका थिए । उक्त ड्रायर मेशिनको मूल्य प्रतिमेशिन १७ लाख ६५ हजार रुपैयाँ परेको थियो । झापा गाउँपालिकाले मेशिन खरिदका लागि दुवै सहकारीलाई २ लाखका दरले सहयोग गरेको थियो । त्यसैगरी एस.एन जेडी संस्था बिर्तामोडले आर्थिक अवस्था कमजोर भएको मारसल कृषि सहकारी संस्थालाई मेशिन खरिदका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो ।
कृषि ज्ञान केन्द्रले अनुदान सहयोगमा झापा गाउँपालिकाका ती दुई सहकारी संस्थालाई दिएको दुईवटा ड्रायर मेशिन दक्ष प्राविधिक नहुँदा चार वर्षदेखि बिग्रिएर थन्किएको बताइएको छ । किसानले लगाएको धान, मकै र गहुँ सुकाउनको लागि ड्रायर मेशिन खरिद गरेर ल्याइएकोमा दक्ष जनशक्तिको अभावमा चलाउन नसकेर थन्किएको जनाइन्छ । दुवै संस्थाले किसानहरुलाई सहयोग गर्ने उद्देश्यले ड्रायर मेसिन खरिद गरेका थिए । लाखौंको ड्रायर मेशिनबाट एक वर्ष पनि किसानले राम्ररी आम्दानी लिन सकेनन् ।

दक्ष प्राविधिक नहुँदा शिकारुको भरमा मेशिन चलाउँदा बारम्बार बिग्रिएपछि मेशिन चलाउन नसकिएको मारसल कृषि सहकारी संस्थाकी राप्ती राजवंशीले बताइन् । उनी भन्छिन् – ‘मेशिनको पार्टस् बिग्रियो भने नेपालमै पाईदैन, किन्नलाई भारतको हैदरावाद शहर जानुपर्छ । मेशिन बिग्रिएर बोलाउँदा पनि सप्लायर्स वि.आई. कम माईक्रो सिस्टम कैलाली टिकापुरका इन्जिनियर पंकज विष्टले प्राविधिक नै पठाएनन् ।’
त्यसैगरी साना किसान सहकारी संस्थाका रुपक राजवंशी भन्छन् ‘यो ड्रायर मेशिन अनसक्सेसफुल मेशिन हो , एउटा पार्टस् बनायो अर्को दिन अर्काे पार्टस् बिग्रिहाल्ने । बनाउनका लागि कैलालीबाट प्राविधिक बोलाउँदा खर्च पनि धेरै लाग्ने भएकोले ड्रायर मेशिन चलाउन सकिएन ।’
प्रतिघण्टा ८७.५ मन मकै र धान, प्रतिघण्टा ६२.५ मन गहुँ सुकाउने क्षमता रहेको ड्रायर मेशिन कवाडीमा परिणत हुँदा स्थानीय किसानहरु हुलाकी सडकमा मकै सुकाउन बाध्य भएका हुन् । मकै जोन घोषित झापा गाउँपालिकाका किसानले ठूलो क्षेत्रफलमा मकै खेती गर्दै आएका छन् । झापा र मोरङका किसानले लगाएको मकै प्रशोधनका लागि उच्च स्तरीय मेसिन नभएपछि सवारी आवागमन कम रहेको हुलाकी सडकको कालोपत्रे धान—मकै सुकाउन महत्वपूर्ण सुकान क्षेत्र बनेको छ भने वर्षे धान प्रशोधनका लागि पनि यो सडक महत्वपूर्ण रहेको देखिएको छ ।
