चन्द्रगढ मोक्षघाटमा राजनीति हुँदा निर्माण रोकियो
सन्दर्भ समचारदाता
भद्रपुर । मान्छेको दाहसंस्कार स्थलमा समेत राजनीति गर्ने प्रवृत्ति देखिदा भद्रपुर १० चन्द्रगढ उत्तर देउनिया खोलामा निर्माण थालिएको मोक्षघाट निर्माण हुने नहुने अलपत्र बनेको छ ।
नेकपा एमाले सम्बद्ध केही व्यक्तिहरूले चन्द्रगढी सामुदायिक वन समूहको अगुवाइमा निर्माण थालिएको चन्द्रगढ मोक्षघाट निर्माणमा अवरोध गरेपछि निर्माण हुने नहुने अवस्थाले अलपत्र परेको हो ।
मोक्षघाट निर्माण स्थल सुन्दर सामुदायिक वन समूह विर्तामोड ७ को क्षेत्रमा परेको कारण देखाउँदै नेकपा एकालेका तर्फबाट समूहको पछिल्लो निर्वाचनमा उम्मेदवार रहेका बद्री प्याकुरेलको एक समूहले मोक्षघाट शिलान्यास कार्य समेत अवरोध गरेको थियो ।
त्यसपछि निर्माण समितिले पटक पटक वार्ताका लागि बोलाएपछि नेकपा एमाले विर्तामोड नगर अध्यक्ष सुवास भट्टराई र नेता देवराज कार्कीले समस्या हल गर्न जेठ ७ गते सर्व पक्षीय भेला बोलाउन दिएको निर्देशन अनुसार गरिएको भेलामा समेत नगर अध्यक्ष भट्टराई र नेता कार्की नआएपछि मोक्षघाट अलपत्र बनेको निर्माण समितिका संयोजक गोपालबहादुर थापाले जानकारी दिए ।
सो भेलामा सरोकार क्षेत्र अन्र्तगत भद्रपुरबाट चन्द्रगढी वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नेकपा एमाले भद्रपुर अध्यक्ष निर्माण नेपाल, नेपाली कााग्रेसका प्रतिनिधि ज्ञानबहादुर चौहान, भद्रपुर १० का वडा सदस्य तुलसी पोखरेल, स्थानीय सरोकारवाला अम्बरबहादुर कार्की, चुडामणि मैनाली, खिलनाथ भट्टराई, मोक्षघाट दर्ता व्यवस्थापन संयोजक पुरूषोत्तम अधिकारी, निर्माण संयोजक गोलबहादुर थापा लगायतको उपस्थिति रहेको थियो भने काममा अबरोध गर्ने समूहको नेतृत्व गरिरहेका बद्री प्याकुरेल लगायत सुन्दर वन समूहका प्रतिनिधि अनुपस्थित हुँदा निर्माण अवरोध हटाउन आयोजित वार्ता तथा छलफल प्रभावित भएको स्थानीयको आरोप छ ।
चन्द्रगढी सामुदायिक वन समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत विसं २०८० सालबाट गुरू योजना बनाएर भद्रपुर ९, १० र विर्तामोड ७, ८ का स्थानीयको दाहसंस्कारका लागि घाट निर्माण थालेको थियो । मोक्षघाट निर्माण स्थल भद्रपुर गरमै रहे पनि वन क्षेत्र विर्तामोडमा परेका कारण सो स्थानमा घाट सञ्चालनमा आए दुर्घन्ध फैलने भन्दै निर्माण कार्यमा अबरोध गरिरहेको अवस्था छ ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर–१० चन्द्रगढस्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै २०८१ साल मंसिर २६ गते निर्माण समिति गठन गरेर औपचारिक रूपमा मोक्षघाट निर्माण प्रकृया सुरू गरेको थियो ।
मोक्षघाटका लागि पहिलो चरणमा वन समितिले ३३ लाख, वडा नम्वर ९ ले दुई लाख, १० नम्वर वडाले एक लाख पचास हजार, जेष्ठ नागरिक समितिबाट ४ लाख ८५ हजार, देउसीबाट संकलित ३२ हजार तथा अन्यदाताबाट सहयोग जुटाइ ४० लाखको श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरेर काम थालेको थियो । सो बिचमा झापा क्षेत्र नं २ प्रदेश सभा सदस्य तथा मन्त्री एकराज कार्कीलाई समेत मोक्षघाट निर्माण स्थलमा ल्याएर निर्माण समितिले काम गर्ने वातावरण बनाउने विश्वास राखेको थियो ।
वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको नेतृत्वमा मूल निर्माण समितिको अध्यक्ष बनाएर समितिमा उपाध्यक्ष गोकुलप्रसाद ढकाल, सचिव पार्वती मल्ल र कोषध्यक्ष अनुज खतिवडा चयन भएका थिए भने सदस्यहरूमा क्रमशः भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, हरिप्रसाद पराजुली, विष्णुप्रसाद काफ्ले, मिरा सञ्जेल, पुरूषोत्तम अधिकारी र रविन सुब्बा फागो चयन भएका थिए ।
