बालिका बान्तवासित प्याउलीको साइनो

द्रोण अधिकारी गुयेँली
झापाको भद्रपुर ३ मा जन्मिएकी लामो समयदेखि हङकङलाई कर्मभूमि बनाएकी स्रष्टा बालिका बान्तावाको उपन्यास ‘प्याउली’े पहिलो कृतिका रूपमा प्रकाशित आख्यान हो । निडर, कर्मशील तथा स्वाभिमानी महिलाको जीवन–सङ्घर्षको कथाका रूपमा तयार भएको उपन्यास ‘प्याउली’ ले एउटी नारीले भोग्नु परेको बास्तविक पीडालाई आख्यानमा समेटेको छ ।

उपन्यासले लेखककै अनुभवलाई केन्द्रीय पात्र बनाएर एक महिलाले जीवनमा भोग्नुपरेको आरोह–अवरोहको कथा कहानीका रूपमा उठान गरेको छ । आख्यानमा पारिवारिक विछोड, सम्बन्धहरुका उल्झन तथा परदेशमा हुनुको पीडालाई कथानकको माध्यमबाट सरल र सहज सम्प्रेषण गर्न उपन्यासकार सफल देखिएकी छिन् । उपन्यासमा प्रेमबाट शुरु भएका सम्बन्धहरूले दिएका अनेकन सास्ती, हैरानीहरू जीवन र जगतका कथा कहानी बोक्न सफल छन् र वियोगका सुस्केरा र ऐंठनहरू वास्तविकताको उजागर गरिरहेको आख्यानले नारी र पुरूषका सम्बन्धमाथि निरन्तर प्रश्न पनि उठाएको छ ।

उपन्यासमार्फत बालिकाले पुरुषको अहंतापूर्ण पुरुषार्थप्रति निर्मम प्रहार गरेकी छन् । यो समाज प्रतिको विद्रोह पनि हो जहाँ पुरूषत्वका नाममा भइरहेका विकृतिलाई यथार्थ रूपमा प्रकाश पार्ने काम पनि भएको देखिन्छ ।

वान्तावाको उपन्यास ‘प्याउली’ २०८१ सालमा प्रकाशित नवोदित कृति भए पनि अनुभवी श्रष्टाको उत्कृष्ट कृतिकै शैलीमा रहेको छ । आख्यानसित जोडिएका कथा संरचना, घटनाहरूको संयोजन र सिलसिला, लेखकीय दृष्टिकोण निर्माण, प्रयोजनमा नवीनता, सामाजिकता र समयचेत, चरित्रकार्य, प्रस्तुति तथा शीर्षक सार्थकता लगायत आख्यानका विविध आयमहरूलाई आधार बनाएर तयार भएको यस कृतिको लेखन कला विविधतामय रहेको छ ।

‘प्याउली’ ले पूर्वी पहाडी भेगको जीवनशैली, अन्तरजातीय विवाहका चुनौती, वैदेशिक रोजगारीका कारण सिर्जित पारिवारिक समस्या, गरिबी र अभावबीचको संघर्षजस्ता विषयलाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ । उपन्यासले नारीको संघर्ष, साहस र अस्तित्वको खोजीलाई नेपालको मौलिक शैलीमा चित्रण गरेको प्रष्ट रूपमा पाठकले अनुभव गर्ने छन् ।

उपन्यासमा भोजपुर, झापा, काठमाडौं र हङकङसम्मको भौगोलिक विस्तारलाई कथावस्तुसँग सफलतापूर्वक जोडिएको छ । उपन्यासमा समेटिएको नारीवादी चेतना र नेपाली मौलिकताको प्रशंसा गर्नै पर्ने हुन्छ । ‘प्याउली’ मा किराँत परम्पराको प्रयोग र नारी चेतको उजागरलाई उल्लेख गर्दै भौतिक, मानसिक र आध्यात्मिक सुखको खोजीलाई कसरी नारीत्वको बलियो प्रस्तुतिद्वारा जोडेको छ भन्ने कुरा स्पष्ट हुन्छ । यस उपन्यासले बेरोजगारी र गरिबीका कारण विदेशिने महिलाहरूको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।

भोजपुरबाट झापा हुँदै परदेशसम्मको यात्रामा एक महिलाले भोगेका कठिनाइ र संघर्षलाई उपन्यासले उजागर गरेको चित्र पाठकले प्रष्ट रूपमा बुझ्ने छन् ।

बेरोजगारी, अभाव र गरिबीका कारण आफ्नो देश छोडेर परदेश पस्ने नारीहरू संघर्षको मैदानमा नडगमगाउने साहसलाई उपन्यासले समेटेको बताइन् । भोजपुरबाट अवसरको खोजी गर्दै झापा सदरमुकाम दक्षिण पृथ्वीनगर झरेको राई माइलाले गरेको कठोर संघर्षबाट उपन्यासकारले जीवन जिउने कला सिकेर मनपराएर आफैं भागेर विवाह गरेको पतिले गति छोडेपछि एक्लै संघर्ष गरी भोगेका आरोह अवरोह नै उपन्यासको मूल विषय रहेको खरेलको टिप्पणी थियो ।

नारी चेतभित्र अस्तित्व निर्माण भएको प्याउली आफैमा बिम्ब रहेको छ । आञ्चलिकता बोकेर आएको यस उपन्यासभित्र किराँत संस्कृति र परम्पराको सफल प्रयोग समेत गरेको पाइन्छ । भौतिक मानसिक र आध्यात्मिक सुखको खोजी गरिएको उपन्यासले पुरूषत्वभन्दा नारीत्व बलवान भएको देखाउन खोजेको छ ।

आफ्नोपन बोकेर आएको प्याउली उपन्यासले पूर्वी पहाडी जिल्ला भोजपुर, झापा हुँदै काठमाण्डौ र हङकङसम्मको भूगोलभित्र उपन्यासकारले गरेका संघर्षलाई आख्यान बनाएर ल्याएको छ ।े उपन्यास भित्र अन्र्तरजातीय भागीविवाह, वैदेशिक रोजगारका कारण टुटेको दाम्पत्य जीवन, गरिबी, अभावसितको कठोर संघर्ष समेटेर बनेको कथानकले उपन्यासलाई अस्तित्ववादी चेत समेत प्रदान गरेको छ । नारीवाद बोकेर आउँदा नेपाली मौलिकपन सहितको पृथक पहिचान बनाएको प्याउलीले वैदेशिक रोजगारका कारण पुरूषमा विचलन आउने परम्परा स्थापित हुँदै गएकोमा कठोर प्रहार समेत गरेको देखिन्छ ।

बालिका वान्तवा र ‘प्याउली’ एक अर्काका परिपूरक हुन् भन्ने कुरा पाठकले सहजै बुझ्न सक्ने झलक आख्यानले प्रष्ट पार्छ । प्रथम पुरूष शैली रोजिएको आख्यान भित्र नारी हुनुको अर्थ खोज्ने प्रयास समेत गरिएको छ । हिजोको समाज र आजको समाज बिचको अन्तर समेत प्रष्ट पार्न सक्ने ‘प्याउली’ को आख्यान आफैंमा नेपालीपन बोकेको प्रयोग पनि हो ।