रातो शिरिष र झुलुङ्गे पुलका कारण आन्तरिक पर्यटनमा बुद्धशान्ति गाउँपालिकाले फड्को मार्दै
बुद्धशान्ति । उत्तरी झापाको बुद्धशान्ति गाउँपालिकाले रातो शिरिष र विशेष विशेषतायुक्त झुलुङ्गे पुलका कारण आन्तरिक पर्यटनमा फड्को मार्दै गएको छ ।
बुद्धशान्ति गाउँपालिका-४ बर्ने चिया बगान क्षेत्रमा बैशाख-जेठमा ढकमक्क फुलेको रातो शिरिष र वडा नं. ६ र ७ जोड्ने ४७७ मिटर लामो रमितेगौंडा-कोल्बुङ्खेगौंडा पुलका कारण आन्तरिक पर्यटकलाई आकर्षण गर्न सफल भएको हो । यो पुल कोशी प्रदेशकै लामो तथा नेपालको तेस्रो लामो झोलुङ्गे पुल हो ।
केही वर्षयता बर्ने चिया बगानस्थित मेची राजमार्गको झापा–इलाम सडक किनारमा मध्ये बैशाखबाट ढकमक्क फुलेका राता शिरिषले आन्तरिक पर्यटकलाई आकर्षण गर्दा फूलको अस्तित्व रहुञ्जेल दैनिक सयौं व्यक्तिको भीड जम्मा हुने गरेको छ भने गत माघयता झोलुङ्खे पुल सञ्चालनमा आएपछि त्यस पुलमा पुग्ने आन्तरिक पर्यटकको पनि भीड लाग्न थालेको छ ।
गुलमोहर प्रजातिको रातो शिरिषको ढकमक्क सौन्दर्यले आकर्षण गर्दा आन्तरिक पर्यटकलाई लोभ्याएर बर्ने चिया बगान क्षेत्रमा दैनिक भीड जम्मा हुने गरेको हो । सो स्थानमा फुलेका दर्जनौं गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेको देखिन्छ ।
गुलमोहर फूलेको यस समयमा फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन’, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले भने । पर्यटकको चहलपहल बढेपछि स्थानीय सरकारले सो स्थानमा सुविधाका लागि गत वर्षदेखि खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ भने मौसमी व्यापार फष्टाउन थालेपछि साना होटल र चिया पसल पनि खुल्ने क्रम बढ्दै गएको छ ।
झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा नेपाल सरकारको स्वामित्वमा रहेको पुरानो पहिचान बोकेको बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ ।
शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेको गाउँपालिका अध्यक्ष प्रसाईंले बताए । पालिकाले गत वर्ष त्यस वरपर थप दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको समेत जानकारी दिए ।
पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ भने पर्यटकले त्यस सडकलाई ‘टिकटक रोड’ नाम दिएर विभिनन भिडियो खिच्दै सामाजिक सञ्जालमा राख्ने गरेका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्तिहरू समेत एक छिन रोकिएर गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् ।
यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं. ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यप्रति आकर्षित हुने गरेका छन् । गुलमोहरले आकर्षित गर्दा यस क्षेत्रमा चल्ने सवारीसाधनहरुमा यात्रुको चाप बढ्दै गएकोले शिरिष फुलेको समयमा यातायात व्यवसायीलाई पनि राम्रै आम्दानी हुन थालेको बताउँछन् ।
