मदन भण्डारी राजमार्गको झापा खण्डमा कालोपत्रे नहुँदा समस्या
भद्रपुर । तराईको उत्तरी सिमानाबाट चुरेको दक्षिण फेदहुँदै मेचीदेखि महाकालीसम्म जोड्ने मदन भण्डारी राजमार्गको पूर्वी खण्डको काम ८० प्रतिशत सम्पन्न भएको भनिए पनि झापा खण्डमा निर्माण भएको सडकमा कालोपत्रे नगरिदा स्थानीयले सास्ती भोग्नु परिरहेको छ ।
झापादेखि धरानसम्मको पूर्वी खण्ड मध्ये झापा, इलाम, मोरङ र सुनसरी जिल्लालाई समेटेको यस सडकमा झापातर्फ १ दशमलव ९२ किमी मात्र कालोपत्रे हुँदा अधिकाम्स सडक आसपासका बासिन्दा धुलोका कारण सास्ती भोग्न बाध्य भएका हुन् ।
पूर्वी खण्डमा ४१ दशमलव ६८ किमी सडक कालोपत्रे भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकको विवरणले देखाउँछ । जसमा झापातर्फ १ दशमलव ९२ किमी, मोरङमा २० दशमलव ६५ किमी, इलाममा दुई दशमलव तीन किमी र सुनसरीमा पाँच दशमलव ८१ किमी सडक कालोपत्रे भएको देखिन्छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकको विवरण अनुसार पूर्वी खण्ड अन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म करिव ९६ किलो मिटर सडकको ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको सो सडक निर्माणका लागि सात अर्ब ९० करोड रकम खर्च भइसकेको जनाइएको छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटर सडकको निर्माण आर्थिक वर्ष २०७६÷७७ देखि सुरू भएको थियो ।
हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको दत्तले जानकारी दिए । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा रु १० अर्ब १३ करोड बराबरको ठेक्का लागेको थियो भने ७८ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ ।
सडकतर्फ सात वटा ठेक्का व्यवस्थापन भएकोमा एउटा ठेक्काको सडक निर्माण सम्पन्न भइसकेको छ भने छ वटा सडकका काम अन्तिम चरणमा पुगेको जनाइएको छ । विगतका वर्षमा ३१ दशमलव ६८ किमी सडक कालोपत्रे भएको थियो भने चालु आवमा १० किमी सडक कालोपत्रे भइसकेको छ ।
मदन भण्डारी राजमार्गको निर्माणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा ९१ करोड बजेट विनियोजन भएकामा रु ३५ करोड ९६ लाख खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।
चालु आवमा १५ किमी थप सडक निर्माण गर्ने लक्ष्य रहेकामा १० दशमलव ६७ किमी सडक निर्माण भइसकेको कार्यालयका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार चालु आवमा सडक निर्माणमा ६७ प्रतिशत लक्ष्य हासिल भइसकेको छ ।
पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाई एक हजार दुई सय किलोमिटर छ । धरानदेखि हेटौँडासम्मको तीन सय किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा पनि हाल काम भइरहेको छ ।
सुनसरीदेखि झापाको पाटापुरसम्म ठेक्का लागेको ९८ दशमलव ८ किलोमिटरमध्ये सर्दु खोलादेखि दमकस्थित बेलडाँगीसम्मको ४६ किलोमिटरमा सडक क्षेत्रमा पर्ने रुख कटान धमाधम भइरहेको छ ।
झापाको दमक– २ बाट रुख कटान सुरु गरिएको राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख कर्णसिंह खत्रीले जानकारी दिए । उनका अनुसार ४६ किलोमिटरमा सात हजार ७१० वटा रुख कटान गर्नुपर्नेछ । रुख कटानको काम सकिएपछि निर्माण कार्य अघि बढाउन सहज हुने छ,’ उनले भने, ‘अब सडक निर्माणको काम एक वर्षभित्र सवै सकिन्छ ।’ राजमार्गमा पर्ने रुख हटाउन करिब दुई महिना लाग्ने अनुमान गरिएको छ ।
ठेक्काको म्याद २८ पुस ०८० मै सकिएपछि गत पुस मसान्तमा म्याद थप भएको थियो । अहिले म्याद थप प्रक्रियामा रहेको प्रमुख खत्रीले बताए । ‘सरकारले समयमै रुख कटानको अनुमति नदिँदा ढिलाइ भएको थियो ।
श्रेष्ठ–मोतीदान जेभीले निर्माण गरिरहेको सडक सुनसरीको सर्दु–भलुवाको २४ दशमलव ८ किलोमिटर सडक ९३ करोड ३३ लाखमा र भलुवा–बेलडाँगीको २८ किलोमिटर सडक एक अर्ब चार करोडमा ठेक्का लागेको थियो । दुवै खण्डको काम करिब ७५ प्रतिशत सकिएको जनाइएको छ ।
त्यसैबिच मदन भण्डारी राजमार्गअन्तर्गत दमकदेखि इलाम हुँदै मेचीनगरको पाटापुरसम्मको ५२ दशमलव ८ किलोमिटर क्षेत्रको रुख हटाउनेबारे सरकारले अझै निर्णय गरेको छैन । यो खण्डमा ६ हजार रुख हटाउनुपर्ने मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख कर्णसिंह खत्रीले बताए ।
५२ दशमलव ८ किलोमिटरमध्ये मेचीडाँगी–शान्तिपुरको १० किलोमिटर सडक ३७ करोड ९५ लाखमा श्रेष्ठ–मोतीदान जेभीले ठेक्का लिएको छ । थपिएको म्याद ०८२ असार मसान्तसम्म छ । प्रगति ६० प्रतिशत भनिएको छ ।
मेचीडाँगीदेखि पाटापुरसम्मको करिब तीन किलोमिटर सडक निर्माणका लागि दुईवटा प्याकेजमा ठेक्का लगाइएको थियो । दुवै ठेक्का सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।
रतुवादेखि कमल खोलासम्म १३ किलोमिटर सडक निर्माणका लागि ९ मंसिर ०७९ मा ठेक्का सम्झौता भएको थियो । ८ जेठ ०८२ मा सक्ने गरी देव एन्ड सायर–सक्षम जेभीले ५४ करोड ९७ लाखमा ठेक्का लिएकामा ३० प्रतिशत प्रगति छ । सहादतस्थलदेखि शान्तिनगरसम्मको १७ किलोमिटर निर्माणको जिम्मा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले लिएको छ ।
२३ कात्तिक ०७९ मा ८६ करोड ८२ लाखमा ठेक्का लिएको यो खण्ड २२ वैशाख ०८२ मा निर्माण सम्पन्न गर्नुपर्नेछ । अहिले यो सडकको भौतिक प्रगति करिब ४० प्रतिशत रहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।
मदन भण्डारी रानमार्गको पूर्वीखण्डअन्तर्गत झापादेखि सुनसरीसम्म ३७ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । जसमध्ये २२ वटा पुलको पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । जसमध्ये नौवटा पुल निर्माणको काम सकिए पनि रुख हटाउन नसक्दा पनि पहुँचमार्ग निर्माण हुन सकेको छैन ।