विर्तामोड ८ स्थित देउनियामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण लगाइदै

भद्रपुर । विर्तामोड ८ स्थित देउनियामा रहेको गणेश पञ्चायन मन्दिरको आयोजनामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण बैशाख ६ गतेबाट आयोजना गरिने भएको छ ।

विर्तामोड ८ तथा धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजक रहने श्रीमद्भागवत महापुराण बैशाख १३ गतेसम्म सञ्चालन हुने भएको हो ।

धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल प्रमुख वाचक रहने पुराणबाट संकलित रकम देउनिया खोलाको भेलागुडीमा विश्रान्ती घाट निर्माणार्थ खर्च गरिने छ भने केही रकम मन्दिरको जीर्णोद्धारका लागि खर्च गरिने आयोजकको भनाइ छ ।

नगद १० हजारमाथि सहयोग गर्ने दाताबाट संकलित सवै रकम दाहसंस्कार घाट निर्माणमा खर्च हुने गरी जम्मा गरिने आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए । उनका अनुसार ९ हजार ९९९ सम्म सहयोग जुटेको रकम पुराणका लागि खर्च गरिने छ ।

आयोजक समितिका सचिव अनिल गौतमका अनुसार विर्तामोड ८ र आसपास जोडिएका अन्य वडाका बासिन्दाको अन्त्यष्टी कर्म गर्ने घाट व्यवस्थित नभएका कारण पुराण मार्फत संकलित रकम र सम्बन्धित वडाबाट सहयोग जुटाएर विश्रान्ती घाट निर्माण सम्पन्न गर्ने जानकारी दिए ।

उनले धेरैभन्दा धेरै भक्तजन सहभागी गराउन बैशाख ६ गतेको कलश यात्राका लागि निशुल्क यातायातको प्रबन्ध पनि रहेको जानकारी दिँदै पुराणको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गर्ने जानकारी दिए ।

प्रमुख वाचक तथा धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनालका अनुसार समाजको पूर्व संकल्प अनुसार १०८ भागवत लगाउने कार्य अन्र्तगत ३४ औं सार्वजनिक संगीतमय पुराणका रूपमा विर्तामोड ८ देउनिया चौकमा सो पुराण लगाइने भएको हो । प्रमुख वाचक खनालले मृत्युवरण सवैको हुने हुँदा घाट निर्माणमा हात खोलेर सहयोग गर्न सवै भक्तजनसित आग्रह समेत गरेका छन् ।