नयाँ वर्षले नेतृत्वमा रहेकालाई देश सम्झने बुद्धि देओस्

वर्ष २०८१ ले नेपालको राजनीतिका विकृतिमाथि एक झड्का दिँदै दलहरूलाई संघीयता सहितको लोकतन्त्र रक्षाका लागि सच्चिन खवरदारी प्रदान गरेर गयो । आफ्ना लागि आफैं उत्पादन गर्ने, स्वदेशमै रहेर पेशा व्यवसाय गरी राष्ट्रिय उन्नति बढाउने मौका सदुपयोग गर्न भुलेर पद र पैशाका लागि राजनीतिलाई कमाइखाने भाँडो बनाउँदै गएका दलहरूलाई नेपाली नागरिकले राजतन्त्रको भूत देखाएर सच्चिन अन्तिम चेतावनी दिँदै एउटा घेरामा सिमित बनाइ दिएको छ ।

मानव जीवनशैली र विकासको परिभाषामा आमूल परिवर्तन ल्याउन दिएको पटक पटकको अवसर नेतृत्वमा पुगेको नेपाली राजनीतिक नेतृत्वले सही रूपले प्रयोग गर्न सकेन । श्रमजीवि सर्वहारा भुइँमान्छेहरूका सुसेली ओझेलमा पारेर सर्वआहारामा सरकार रमाइरह्यो । आफैंले आन्तरिक राजनीतिमा ध्रुवीकरण खडा गर्ने, संसद्लाई संवादको थलो बन्न नदिने, अवैज्ञानिक विचारहरू पस्किने र तिनलाई पूर्ण सत्य मान्ने पालित भक्तहरूको फौज राख्ने जस्ता अराजक गतिविधिमा रमाएको राजनीतिले देशलाई सही दिशा देखाउन सकेन । राजनीतिका नाममा कृत्रिम राष्ट्रियताको आडम्बरले राजनीतिको इमानलाई बेइमान देख्न बाध्य बनायो ।

विपतबाट लाभ लिने कुनियत भएकाहरूले राजनीतिमा नेतृत्व गरिरहँदा देश र जनताको भलाई हुने रहेन छ भन्ने चेतना नागरिकसम्म पुर्याउन यिनै नेताका कतिपय गतिविधि चुच्चे ढुंगो उही टुंगो बन्न गए । मान्छे तब मात्र जोगिन्छ, जब ऊ सग्लो सत्यसँग परिचित हुन्छ । अर्थात्, उसले त्यो प्राकृतिक र राजनीतिक असन्तुलनबारे थाहा पाउँछ । ज्यादा सुरक्षित, ज्यादा शान्तिपूर्ण र व्यवस्थित समाजको निर्माण चटके तरिकाबाट हुनै सक्दैन । बिडम्बना नेपाली राजनीतिमा नेतृत्वकर्ताले चटक देखाइ रहेका छन् । यस्तै चटकका बीच २०८१ ले विदा लिएर गयो अनि नयाँ वर्षका रूपमा २०८२ ले उदाउने अवसर पाइसकेको छ ।

संघीयता आएपछि केन्द्रमा रहेको राजनीतिक अधिकार स्थानीय स्तरमा प्रेषित भएको ठानिरहेका आम नागरिकले आफ्नासामु रहेका शासकहरूबाट ढाँट छलभन्दा फरक अनुभूति समेत पाएनन् । ५ वर्ष नेतृत्व लिँदा टिफर, स्काइभेटर, घर घरेडी कमाइसकेकाहरू नै फेरि लाज पचाएर सर्वहाराका असली प्रतिनिधि हुँ भन्दै घर आँगन धाइरहेका छन् । आज स्थिति फेरि जटिल हुँदै छ । मुलुक बाहिर रोजगारीका लागि गएकाहरूको लर्को सीमानाकाहरूमा देखिँदै छ । संकटका माझ जोखिम मोल्दै कसैले किन सीमा नाघ्यो ? के उसको थातथलोमा अवसरहरू खडा थिएनन् ? सोझो कुरा भन्ने हो भने गाउँ, शहर र बस्तीले अवसर नदिएकाले अधिकाम्स नागरिक कामका लागि देश बाहिर पलायन भइरहेका छन् । आर्थिक मन्दीका कारण रोजगारी गुमाएर फर्कनेहरूले आफ्नो माटोमा बाँच्ने आधर पाउलान् त ? गाउँ शहरी क्षेत्रको मनोविज्ञान कस्तो छ  ? समस्या गहिरिँदै गयो भने भय, भोक र गरिबीले अनेकौं विसंगति खडा गर्न सक्छ । नेपाल असन्तुलित परिस्थितितर्फ लम्किँदै छ  भन्ने तथ्य तीन तहका सरकारहरूसित छ त ?

वर्तमानमा देशका दुई वटा ठूला दल नेतृत्व गरेर सरकार चलाइरहेका छन् । उनीहरूले ग्रामीण अर्थव्यवस्थाको कुरा चल्दा केवल खेत र खेतीको चित्र खडा भएको देख्छन् कि गाउँमा ठूला उद्योगहरूका तुलनामा ज्यादै कम विकल्प र विविधताहरू पनि छन् भनेर सोच्छन् ? युवा पुस्ताको अभिलासा पनि त्यही थियो । स्थानीय सरकारहरूको समन्वयमा विगतमा गरिनुपर्ने कामहरू गर्न–गराउन सकिएन । थातथलो छाडेर कमाउन जानेहरूसँग कस्तो श्रम र सीप छ, त्यसलाई त्यहीँ वरिपरिको क्षेत्रमा कसरी संलग्न गराउन सकिन्छ ? त्यसतर्फ राजनीतिले गम्भीरता देखाएन ।

मञ्चमा उभिएर राष्ट्रवादको नारा घन्काउँदैमा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्दैन । राष्ट्रको चौघेरामा रहेकाहरूले यहीँ रहेर पेट भर्ने अवसर सिर्जना गर्ने मौका निर्माणको आधार खडा गर्न नसक्नेले भाषणवाजी बाहेक के नै गर्न सक्छ ? यस वर्षबाट पाखण्डी राजनीति संस्कारको अन्त्य होस् । श्रमिको रगत चुसेर मोटाउन खोज्ने जुके साहुप्रथा अन्त्य हुँदै श्रम गरेर पेटभरी खान पाउने वातावरण निर्माण होस् नयाँ वर्ष २०८२ को यही शुभकामना ।