चिरञ्जीवी–ईश्वरादेवी अक्षयकोषबाट पत्रकार एकराज गिरी पुरस्कृत

कनकाई । चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट पत्रकारसहित चार जना पुरस्कृत भएका छन् ।झापाको कनकाई–६ स्थित भवानी–हिमादेवी खानेपानी तथा सरसफाइ उपभोक्ता सामुदायिक संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट चार जनालाई जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।

उत्कृष्ट पत्रकारका रुपमा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गरी, उत्कृष्ट विद्यार्थीका रुपमा कनकाई माविका डिल्लीराम आचार्य, उत्कृष्ट कृषकका रुपमा कनकाई–७ का भक्तबहादुर तामाङ र उत्कृष्ट बुहारीका रुपमा कनकाई–७ की शोभा दाहाल पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी, कोषका अध्यक्ष एकराज उप्रेती, खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेती लगायतले सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । ३० लाख रुपैयाँको अक्षयकोषबाट चार वटा विधामा २०७९ सालदेखि उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिँदै आएको छ ।