हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन

भद्रपुर । झापा भद्रपुरका श्रष्टा हरिप्रसाद न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्य चन्द्रगढीमा विमोचन गरिएको छ ।

लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा शोक काव्यका रूपमा तयार भएको न्यौपानेको छैटौं कृति रमा स्मृतिकाव्यको विमोचन चन्द्रगढीमा गरिएको हो ।

पुस्तकालयकी कार्यवाहक सभापति खगेन्द्रा खुसीको अध्यक्षता तथा प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा विमोचित काव्य १६ वटा लामा कवितामार्फत रमा न्यौपानेको जन्मदेखि मृत्युसम्मका घटनालाई काव्यात्मक भाव बनाइएको छ ।
सरकारी सेवा र सामाजिक गतिविधिमा संलग्न रमा न्यौपानेको गत असार ३१ गते ६४ वर्षको उमेरमा क्यान्सर रोगबाट निधन भएको थियो ।

पति ध्रुवप्रसाद न्यौपानेको पत्नी वियोगलाई काव्यात्मक भाव बनाएर प्रकाशित कृतिमा पारिवारिक नाताले जेठाजु रहेका हरिप्रसादले रमालाई स्मरण गर्दै काव्यका रूपमा तयार पारेका हुन् ।

प्रकाशित कृति बारेमा समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले पत्नी वियोगमा रहेका समग्र विदुर पतिहरूको पीडाका रूपमा काव्य तयार भएको बताए । सहप्राध्यापक वशिष्ठले जन्मिएपछि मृत्यु सत्य भए पनि उर्वर जीनका मरणले धेरैको मनमा वेदनाको चिसो पस्ने भएकोले काव्यमार्फत मन हलुङ्गो भएको अनुभूति पाठकले गर्न सक्ने प्रष्ट पारेका थिए ।

लता खरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत पुस्तकालयका कोषाध्यक्ष गोविन्द कोइरालाले गरेका थिए भने साहित्य सम्बद्ध विभिन्न स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।