लागू औषधः व्यसन, दुर्व्यसन र कानुनको लडाइँ

प्रकाश अधिकारी

लागू पदार्थको व्यसन र दुर्व्यसन केही दशक पहिलेसम्म एक नैतिक समस्या र सामाजिक अनुत्तरदायित्वको लक्षण मानिन्थ्यो । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले खास खास प्रकारका बस्तुलाई लागू औषधको परिभाषाभित्र समेटेर ती बस्तुहरूको खेती, उत्पादन, तयारी, निर्माण, विक्रीवितरण, निकासी वा पैठारी, ओसारपसार र सेवन गर्न निषेध गरी दण्डनीय बनाएपछि यो आपराधिक कार्य भएको छ । लागू पदार्थको व्यसनले व्यक्तिको शारीरिक प्रक्रिया र कार्य (प्रोसेस र फङ्सन)लाई परिवर्तन गरेर अल्पकालीक सुखद मनोदशा उत्पन्न गर्छ । यसको प्रयोग स्वास्थ्य र मनोसामाजिक दृष्टिले घातक भएकोले व्यसनीलाई दण्डित गरेर होइन विशेषज्ञद्वारा उपचारको आवश्यकता हुन्छ । जस्तो, मनोचिकत्सक, डाक्टर र सामाजिक कार्यकर्ताद्वारा व्यसनीको व्यक्तित्वको पुनः संरचनामा सहायता गरिनु पर्छ । सो बाहेकका लागू पदार्थको कारोबार वा तस्करीले आर्थिक उपार्जन गर्ने क्षेत्र मध्ये अवैध हातहतियारको तस्करी पछिको दोश्रो स्थान ओगटेको मानिन्छ । यो विशुद्ध आपराधिक कार्य भएकोले सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्नको लागि कानुन र कानुन कार्यान्वयन गर्ने निकायहरू लागू पदार्थको सेवन र कारोबारलाई निवारण गर्न क्रियाशील रहँदै आएका छन् ।

पश्चिमा देशहरूमा लागू पदार्थ दुरुपयोगलाई लामो समयदेखि महत्वपूर्ण सामाजिक समस्याको रूपमा स्वीकार गरिदै आएको थियो तर नेपालमा विद्यमान कानुनको तुलनामा नरम व्यवस्था थियो । अहिले पनि गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपियाँसम्म जारिबानाको सजाय हुने प्रावधानका बाबजुद महाशिवरात्रीका अवसरमा नागा बाबा वा साधुसन्तहरूलाई गाँजा वितरण गर्ने कानुनी दायराभन्दा बाहिरको स्थापित परम्परागत चलन चलिरहेछ । नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफैँ उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन, सङ्ग्रह, सञ्चय वा खरिद बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यबस्था गर्ने सक्नेछ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै काम गर्दा अपराध गरेको मानिदैन । औषधोपचारको निमित्त स्वीकृत चिकित्सकको सिफारिसमा कुनै व्यक्तिले अनुमतिप्राप्त पसलबाट सिफारिस बमोजिमको मात्रामा लागू औषध खरीद गरी सेवन गर्न पाउँछ । नेपाल सरकारले वा सरकारबाट विशेष अनुमतिपत्रप्राप्त गरी सरकारको पूर्ण निर्देशन र नियन्त्रणमा रही सरकारको तर्फबाट कुनै संस्थाले औषधी वा वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि कुनै लागू औषधको खेती, तयार, उत्पादन, निर्माण वा निकासी पैठारी गर्न वा स्वीकृत चिकित्सकको सिफारिशमा कसैलाई बिक्री गर्नमा कानुनले प्रतिबन्ध लगाएको छैन ।

लागू औषधको नियन्त्रण वर्तमान विश्वमा चिन्ता, चुनौती र चासो विषय बनेको छ । उर्वर वयका युवाहरूलाई यसले गाँजिरहेकोले सामाजिक आर्थिक विकृतिको एक कारक तत्त्वको स्थान लिइसकेको छ । चिन्ताको कुरा नेपालले लागू औषध नियन्त्रण गर्न कुनै महत्वपूर्ण प्रगति हासिल गर्न सकेको देखिएको छैन । अन्तर्राष्ट्रिय बिमानस्थलमा अन्यत्रबाट ल्याएको र अन्यत्रै लैजान लागिएको अवस्थाका अफिम, कोका वा सोबाट बनेको लागू पदार्थ (नार्कोटिक्स) उल्लेख्य परिमाणमा आक्कलझुक्कल बरामद हुनुले लागू औषधको पारगमन केन्द्रजस्तो देखिए पनि नेपाल मूलतः लागू औषधको गन्तव्य स्थलको रुपमा प्रकट भइरहेको छ । लागू औषध नियन्त्रण सम्बन्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय सभासम्मेलन आयोजना गर्ने, सहभागी हुने र महासन्धिहरूमा हस्ताक्षर गरेर नियन्त्रणको प्रतिबद्धता जनाउनेमा सरकार अग्रगामी देखिन्छ । कानुन कार्यान्वयनद्वारा नियन्त्रण गर्ने र दण्डद्वारा हतोत्साहित पार्नेसम्ममा राज्यको नीति सीमित देखिदा “दिन दुई गुना रात चार गुना” भने जसरी यसको पैठारी, ओसारपसार, बिक्रिवितरण र सेवनमा वृद्धि भइरहेको छ । नेपाल प्रहरी लागू औषध नियन्त्रणको लागि सरकारको “फोकल” र “डेडिकेटेड” एजेन्सी हो जसलाई गृह मन्त्रालयको शाखा महाशाखाले प्रशासनिक सम्पर्क एवं समन्वय गर्छ । सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार जगत तथा अन्य सरोकारवालाको सहकार्यमा लागू पदार्थलाई निषेध र मदिरा बिक्री बितरणलाई व्यवस्थित गरिने र दुर्व्यसनमा परेका व्यक्तिहरूलाई उपचार र पुनर्स्थापना गरी उद्यमशील र आत्मनिर्भर बनाइने महत्वकांक्षी सरकारी नीति, कार्यनीति, रणनीति, कार्ययोजना बनाइ बुद्धिबिलास गर्नमा भने कुनै कञ्जुस्याँइ गरिएको छैन ।

नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ ले कुल प्रयोगकर्ता १,३०,४२४ जना, वार्षिक वृद्धि ५.०६ प्रतिशत र कारागारको कैदिबन्दी संख्याको २१ प्रतिशत व्यसनी खुलाएपनि यो सर्वेक्षण पछि नेपालका नदीमा धेरै पानी बगिसकेको छ । झापा जिल्लामा मात्र २८ हजार लागू औषधका प्रयोगकर्ता रहेको तथ्याङ्क सुरक्षा निकायसँग रहेको छ (पूर्वाञ्चल दैनिक) । सीमावर्ती क्षेत्रमा लागू पदार्थको निर्वाध र सजिलै उपलब्ध हुनु र १६-२५ वर्षका युवाको सेवन र ओसारपासारमा रहेको संलग्नताले नेपालमा यसले व्यावसायिक स्वरुप लिइरहेको छ । न्याय, समानता र स्वतन्त्रताको बिगुल फुक्ने कुनै बेलाको झापा अहिले धरान र काठमाण्डौँमा लागू औषध आपूर्ति गर्ने पारगमन भएर विकसित भईरहेको छ । यही अवस्था विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीजस्ता सीमावर्ती शहरहरूको रहेको छ ।

गाँजा, भाङ, धतुरोजस्ता झार, बुट्यान, फल रैथाने जडिबुटी भई औषधिको रूपमा उपयोग गर्ने गरिन्थ्यो । छेराउटी लागेको बिमार पशुको अचुक दबाइ गाँजा हो । गाँजाको खेती, सेवन, व्यापार आदि गर्ने कुरामा कानुनी प्रतिबन्ध लागेपनि नेपाली गाउँबस्तीहरूमा गाँजाको खेती गर्ने गरिएको र प्रहरी तथा गाँजा खेती गर्नेहरू बीच यदाकदा लुकामारी चलिरहेको पाइन्छ । कतिपयको दृष्टिकोणमा गाँजा खेती आय आर्जनको एक उपयोगी माध्यम हो भन्ने पनि रहेको छ । विश्व स्वास्थ्य संगठनले गाँजा र यसबाट निस्कने चोप (रेजिन)मा औषधिजन्य गुण भएको र कम खतरनाक लागू पदार्थ भएको निष्कर्ष निकालेको थियो । यो निष्कर्षको आधारमा संयुक्त राष्ट्र संघमा मतदान गरी ‘सिंगल कन्भेन्सन अन नार्कोटिक्स ड्रग्स, १९६१’ को खतरनाक लागू औषधको अनूसूचीबाट गाँजालाई हटाइएको छ । नेपालले हटाउने पक्षमा मतदान गरेको थियो । हाल ६४ देशहरूले औषधीय प्रयोजनका लागि र करीब आधा दर्जन देशले मनोरञ्जनका लागि गाँजा खुला गरेका छन् ।

लागू पदार्थको सबै प्रकारको कारोबार र सेवन गरी गरिने कसूर नियन्त्रणका अनेक प्रयासहरू भइरहेका छन् । कतिपय लागू पदार्थ कारोबार जोडिएको अपराधमा जन्मकैदसम्म दण्ड हुने प्रावधान छ । विभिन्न सरकारी निकायहरू र गैर सरकारी संस्थाहरूद्वारा लागू पदार्थ नियन्त्रणका लागि कार्यक्रमहरूद्वारा व्यापक रणनीति तयार पारिन्छ । शिक्षा, परामर्श, उपचार एवं पुनःस्थापनाका कार्यक्रमहरू नियन्त्रणका उपायहरू हुन् । लागू औषध (नियन्त्रण) ऐन, २०३३ कार्यान्वयनमा आएको लगभग आधा शताब्दी पूरा भइसकेको छ । कानुन कार्यान्वयन गर्दाका अनुभव उपलब्धिपूर्ण छन् । लागू औषध बिरुद्धको जनमत तयार गर्न ऐनले उल्लेखनीय भूमिका खेलेको छ तथापि गाँजा बाहेकका अन्य लागू औषधको सेवन र कारोबार नियन्त्रण गर्ने चुनौती कायम नै छ ।

लागू औषध सेवन समवयी मित्र, चिने जानेको मानिस वा अन्य व्यक्तिले गरेको आग्रह अनुरोध (पर्सुएसन)मा, अचेतन अनुकरणद्वारा र ध्यान प्रवीण चिन्तन (रिफ्लेक्टिभ थिङ्किङ्) द्वारा सिकेर जानेको व्यवहार हो । सीमा क्षेत्रका युवाहरू व्यसनी हुनुको प्रमुख कारण लागू पदार्थको सर्वसुलभता हो । परिवारमा बाबु वा आमाको अनुपस्थिति तथा दिदी भाइ बहिनी बीचले कसिलो मायाको सम्बन्धको अभाव भएमा किशोरहरूले पहिला विद्यालय छाड्छन्  र त्यसपछि लागू औषधको व्यसन सिक्ने गरेको पाइन्छ । सिकाउनेले पहिला निःशुल्क उपलब्ध गराउँछ र व्यसनी भएपछि निरन्तरता दिन पैसाको अभाव हुन्छ । सीमा पारीबाट लागू औषध पैठारी गरी बिक्री गरी हुने नाफा व्यसनलाई निरन्तरता दिनमा खर्च गर्छन् । नेपालतिर भन्दा सीमा पारी नार्कोटिक्स र मनोद्विपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) निर्वाध रुपले (अघोषित) सहज र सर्वसुलभ मूल्यमा उपलब्ध हुन्छ । अपुष्ट कुरो के सुन्नमा आउँछ भने नेपाली ग्राहकलाई बिक्री वितरण गर्ने कार्य प्रहरी प्रशासनले नदेखेजस्तै गर्छ, कडिकडाउ गरिदैन ।

सीमापारीबाट लागू औषध ओसारपसार गर्ने खासगरी युवाहरूले सूक्ष्मतम प्रक्रिया अपनाउने र विशिष्ट योजना बनाउने गरेको पाइन्छ । खैरो हिरोइन प्लास्टिकमा पोको पारेर मलद्वार वा मुखमा राख्नु, बालबालिका र सिकारूलाई प्रयोग गर्नु र परिवर्तन गरिरहनु, सीमापार एउटा समूहले गर्ने, गन्तव्यसम्मा अर्कोले र बिक्रीवितरण अर्को समूहले गर्ने गरी सञ्जाल बनाएर काम गर्नु र एक अर्कासित फोनद्वारा नभएर भाइबर, ह्वाट्सएप, म्यासेन्जरजस्ता अनुसन्धान अधिकृतको पहुँचबाहिरका सञ्चार प्रणालीको प्रयोग गरेर लागू पदार्थको ओसारपसार गर्ने गरेको पाइएको छ । योजनाहरू बढी गोप्य र सतर्कतापूर्वक बनाइन्छ, एक अर्कासित उल्लिखित सञ्चार माध्यमले मात्र सम्पर्क हुन्छ, व्यक्तिगत परिचय भेटघाट भएको हुँदैन । सबैको साथबाट लागू औषध बरामद नहुँदा र सञ्जालभित्र अनुसन्धान अधिकृत प्रवेश गर्न नसक्दा मुख्य मानिस कानुनको घेरा बाहिर रहन्छ र भरियाहरू मात्र पक्राउ परी दण्डका भागी हुने बिडम्बनापूर्ण अवस्था लागू औषध अपराधमा हुने गरेको छ ।

लागू औषधको दुरुपयोग मानवताको प्रति बढिरहेको खतरा भइसकेको छ । यसले कानुन कार्यान्वयन गर्ने एजेन्सीहरूका लागि जटिल समस्या प्रस्तुत गर्छ भने लागू औषधका तस्कर र माफियाहरू गलत तरीकाले आर्जित धनधान्यले लेस भएर देशको सामाजिक तानाबानासँग खेलबाड गरिरहेका छन् । व्यसनी आफ्नो अवसाद, कूण्ठा तथा क्रोधको त्वरित उपचार प्राप्त गर्ने उद्देश्यले लागू औषधको सेवन गर्छन् र शारीरिक, आर्थिक, भावनात्मकका साथ साथै सामाजिक रुपले पनि पीडित हुन्छन् । हाम्रा नीति, रणनीतिहरू लागू पदार्थको सेवन र स्थानीय कारोबारलाई कानुनको माध्यमले दण्डित गरेर नियन्त्रण गर्ने मात्र नभएर सीमा नाकाबाट हुने आपूर्ति कडाइका साथ रोक्ने हुनु पर्छ ।

राष्ट्र संघले राष्ट्रिय सरकारहरूलाई विश्वव्यापी स्तरमा सूचनाहरू प्रभावी ढङ्गबाट आदानप्रदान र प्रतिबद्धता नवीकृत गराएर लागू औषध रोकथामको लागि गरिने प्रयासको अभिन्न अङ्ग बनाउने गरेको छ । हामी पनि छिमेकी मुलुकसँग समझदारी गरी मौजुदा संरचनालाई प्रभावी बनाएर यस्तो प्रयास गर्नसक्छौँ । सीमा नाकामा गाँजा यताबाट उता, उताबाट हेरोइन र मनोद्विपक औषधी यता आपूर्ति हुन्छ । नेपाल प्रहरीले शंकितलाई गोलि प्रहारसमेत गरेर गाँजाको ओसारपसार र निकासी नियन्त्रण गरिरहँदा तदनुरुपको पारस्परिकता हेरोइन र मनोद्विपक औषधीको आपूर्ति रोक्न उतापट्टिबाट भएको देखिन्न । सीमाका कानुन कार्यान्वयन गर्ने निकायहरू बीच नियमित द्विपक्षीय ‘समकक्षी बैठक’ भइरहन्छन् । त्यस्तो बैठकमा उताबाट हुने आपूर्तिलाई रोकथाम गर्न सूचनाको आदान प्रदान गरी शंकितलाई पक्राउ गर्ने सहयोगको समझदारी हुन सकेको छैन ।