किच्चकबधको आठौँ चरणको उत्खनन सम्पन्न
भद्रपुर । महाभारतकालीन इतिहाससित जोडिएको किच्चकबध धार्मिक तथा ऐतिहासिक स्थलको पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन सम्पन्न गरेको छ ।
फागुन २५ बाट थालिएको उत्खनन चैत १७ गतेसम्म गरिएको थियो । उत्खननपछि भेटिएका प्राचीन संरचना र प्राप्त सामग्रीहरूलाई चैत १८ देखि २२ गतेसम्म सोही क्षेत्रमा संरक्षण गर्ने कार्य सकेर चैत २३ गते विभागको टोली काठमाडौं फर्किएको छ । यस पटककोे उत्खननमा एउटा दरवारको अवशेष फेला पार्दै सम्पन्न गरिएको हो ।
विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधमा उत्खनन् गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए । उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले केही सहयोगी कामदार लिएर उत्खखन् उत्खनन तथा संरक्षणको कार्य गरेको थियो ।
विभागका अधिकृत नवराज अधिकारीले किच्चकबधमा वि.सं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन् गरिरहेको बताए । उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका छन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो देखिएको छ ।
“यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ”, पुरातत्वविद् आचार्यले भने, “विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ ।” उनका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरवारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।
आचार्यले उत्खनन गरिएका संरक्षित स्थानमा मान्छेले टेकेर हिँडन नहुने बताए । यस स्थानमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाएएको छ । संरक्षण समितिले सुरक्षित राख्न सक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहने आचार्यको कथन छ ।
दश विगाह क्षेत्रमा फैलिएको किच्चकबधमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम बढेको विज्ञ टोलीको भनाइ छ ।
विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको जनाएको छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भू—सतहका पुरातात्विक महत्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ ।
गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यसपटक उत्खनन् गर्दा प्राचीन दरबारको जग भेटिएको छ । पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताए । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खनन्बाट कुनै लिखित सामग्री भने फेला नपरेको उनले बताए ।
“यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो बास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उनले भने, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।”
किंवदन्ती अनुसार, महाभारतकालीन राजा विराटको ‘किचक’ नामका सालो थिए । जहाँ उनको दरबार थियो । पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले बिराटनगरदेखि लखेटेर किचकलाई यही दरबारमा ल्याएर बध गरेका कारण यस स्थानलाई ‘किचकबध’ भनिन थालेको हो ।
सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन् तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन् र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको गुनासो विज्ञ टोलीको रहने गर्छ ।
सरकारले उत्खननका लागि यसपटक १० लाख बजेट छुट्याएको विभागका अधिकृत अधिकारीले बताए । “बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो”, उनले भने, “तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपाली संरक्षणको काम गरेका छौँ ।”
किच्चकब मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेको भनाइ छ ।