चन्द्रगढी खानेपानीको २२ औं सभा सम्पन्न
भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को २२ औं परिषद भेला तथा साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
संघीय संसदका सभामुख देवराज घिमिरेले परिषद भेलाको उद्घाटन गर्दै खानेपानी मानिसको आधारभूत आवश्यकता भएकोले नेपालको संविधानले खानेपानिलाई मौलिक अधिकार भित्र राखेको बताए ।
उनले शुद्ध खानेपानीमा नागरिकको पहुँच स्थापित गर्न आफूले संसदमा सक्दो भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ४ सय ४० वटा नयाँ धाराहरु जडान गर्दै गत असार मसान्तसम्ममा ४ हजार ४ सय ७ उपभोक्ता संख्या रहेको जानकारी दिए । झापाका खानेपानी उपभोक्ता समितिहरु मध्ये चन्द्रगढीले सबै भन्दा कम मूल्य तथा सहुलियतमा उपभोक्तालाई पिउने पानी उपलब्ध गराइरहेको बताउदै संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले लगायतले शुभकामना मन्तव्य राख्दै झापा सदरमुकाममा रहेर चन्द्रगढी खानेपानी उपभोक्ता समितिले पुर्याएको योगदानको प्रशंसा समेत गरेका थिए ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बाबुराम कार्कीले र स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम पराजुलीले राखेको कार्यक्रममा बर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट नारायण निरौलालाई नगद ११ हजार १ सय ११ सहित प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।