लेखनाथ चौकदेखि देउनियाँसम्म धुलोको पिरोलो

भद्रपुर । निर्माणाधीन चन्द्रगढी—विर्तामोडसडक खण्ड अन्र्तगत झापा सदरमुकामको लेखनाथ चौकदेखि देउनियाँ खोलासम्म भइरहेको ग्राभेलिङ तथा माटो फिलिङबाट प्रदुषण बढिरहेको स्थानीयको आरोप छ ।

निर्माण व्यवसायीले सम्झौता अनुसार सो सडकखण्डमा पानी हाल्ने काम नगर्दा धुलो उडेकाले प्रदुषण बढिरहेको स्थानीयले आरोप लगाएका हुन् ।

निर्माण कम्पनीले सडक लथालिङ्ग अवस्थामा काम गरिरहेकाले सवारी साधन आवतजावत गर्दा अन्धकार हुने गरी धुलो धुवाँ उडेका कारण आसपासका क्षेत्रका बासिन्दाको स्वास्थ्यमा समस्या देखिनथालेको गुनासो छ ।

सडक निर्माण सम्पन्न गर्न निकै समय लाग्ने कारण त्यस क्षेत्रमा सडक निर्माण सम्झौता अनुसार नियमित पानी हाल्नु पर्ने माग स्थानीयको भए पनि सुनुवाइ नभएको गुनासो छ ।

सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले वि सं २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको थियो भने ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । त्यस अवधिभित्र करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको सडक भण्डै दुई वर्ष अलपत्र परेपछि यसै आर्थिक वर्षबाट फटाफट काम गर्न थालेको निर्माण कम्पनीले लक्ष्य अनुसार काम गर्न भुक्तानीको अवस्था काम अनुसार नहुँदा समस्या परिरहेको बताउने गरेको छ भने सरकारी पक्ष सडक निर्माणमा काम अनुसार रकम भुक्तानी भइरहेको दाबी गर्ने गरेको छ ।

सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदारले सम्झौता अनुसार समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोरिरहेका छन् भने सडक आसपासका बासिन्दा सुख्खायाममा धुलो र वर्षादमा हिलोको पीडा सहन बाध्य छन् ।

आसपासका बासिन्दाले बाटो निर्माण कम्पनीलाई कम्तिमा दिनमा एक पटक भिज्ने गरी पानी हाल्न अनुरोध गरे पनि सुनुवाइ नभएको पीडित तारा पौडेको गुनासो छ ।